शनिबार, बैशाख ८, २०८१

रुपन्देहीमा मत्स्य पर्यटनको योजना

भैरहवा,  पुस । माछापालनको नमुना क्षेत्र’ का रूपमा विकास हुँदै गरेको रूपन्देहीको छपियामा मत्स्य पर्यटक भित्र्याउने योजना थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरणअन्तर्गत छपियालाई केन्द्र भागमा राखेर ‘मत्स्य जोन’कार्यक्रम सञ्चालनमा छ । मत्स्य जोनसँगै पयर्टकलाई छपिया भित्र्याउने गरी काम भइरहेको छ, मत्स्य व्यवसायी सङ्घका अध्यक्ष पुण्यप्रसाद चौधरीले भने । छपियामा झन्डै चार दशक अघिदेखि नै व्यवसायिक माछापालन हुँदै आएकाले यो पर्यटनको सम्भावित क्षेत्र रहेको उनले बताए ।
सियारी गाउँपालिकास्थित छपियाका हरेक सर्वसाधारणले व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन् । यस क्षेत्रबाट मात्रै दैनिक १५ क्वीन्टल माछा उत्पादन हुँदै आएको छ । कृषि विकास कार्यालय र माछा व्यवसायीहरूले छपियामा कृषि पर्यटक भित्र्याउने योजनासहित भौतिक संरचना निर्माण गरेका छन् । निजी लगानीमा रिसोर्टहरू खुलेका छन् भने सरकारले किसानलाई अनुदान दिँदै आएको छ ।
सियारी गाउँपालिका–५ दयानगरस्थित बनघुसडीमा व्यवसायी टङ्कप्रसाद ज्ञवालीले विश्वास मत्स्यपालन तथा गाई फार्मसँगै पर्यटकलाई लक्ष्य गरी सेडहरू निर्माण गरेका छन् । छपिया क्षेत्रमा ११ वटाभन्दा बढी माछा फर्म सेड निर्माण भएका छन् । पानीमाथि बनाइएको सेडमा बसेर माछा मार्दै माछाका परिकारको स्वाद लिन पाइने व्यवस्था गरिएको छ । पर्यटकलाई आकर्षित गर्ने योजनासहित पोखरीमाथि सेड बनाइएको हो, ज्ञवालीले भने।
रूपन्देहीमा झन्डै एक हजार ५० हेक्टर क्षेत्रफलमा माछा उत्पादन हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमपछि पाँच सय हेक्टर क्षेत्रफल बढ्नेछ । छपिया क्षेत्रमा चार दशकअघिदेखि माछा पालिए पनि सात वर्षअघिदेखि अभियानमुखी माछा उत्पादन थालिएको हो । यहाँको १६७ हेक्टर क्षेत्रफलको एक हजार दुई सय पोखरीमा माछापालन भएको छ । पाँच सय ५० व्यावसायिक किसानले वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन गर्छन् । यसबाट वार्षिक २५ करोड रुपियाँभन्दा बढीको कारोबार हुने गरेको छ । कम मिहिनेत र कम समयमा नगद आम्दानी हुने भएकाले किसान व्यावसायिक माछापालनमा आकर्षित छन् ।

प्रकाशित मिति: बुधबार, पुस ५, २०७४