किसानलाई सहज भएको छ रासायनिक मल

Jul 12 • Wide News A, अन्तरवार्ता

brajes kumar jha final
विभागिय प्रवन्ध – ब्रजेश कुमार झा
साल्ट ट्रडिङ्ग कर्पोरेशन

० धान रोप्ने बेला सँधै किसानहरुले मलको अभाव देखाउने गरेका छन्, निजी क्षेत्र (साल्ट ट्रडिङ्ग) ले पनि रासायनिक मल ल्याईरहेको छ के छ अवस्था ?
नेपालको प्रमुख कृषि बाली धान बाली हो । धान बाली उत्पादन बृद्धि गर्नका लागि रासायनिक मल प्रयोग विगतदेखि नै बढ्दै गईरहेको छ । अहिले पनि धान बालीका लागि रासायनिक मलको माग अत्यधिक देखिन्छ । पहिले सरकारी संस्थाले मात्र मल आयात गर्दा कतिपय ठाउँमा मल अभाव भएका समाचारहरु पनि प्रशस्तै आए । पछि सरकारले निजी क्षेत्रलाई मल आयात गर्न स्वीकृत दिएपछि मल आयात गर्ने निजी संस्थामा चुनियौं । सरकारले हामीलाई ५० हजार मेट्रिक टन रासायनिक मल (डिएपी र युरिया) ल्याउनका अनुमति दिए बमोजिम ४० हजार मेट्रिक टन ल्याईसकेका छौ । १० मेट्रिक टन भन्सारमा आईसकेको छ । यसले गर्दा यो वर्ष हाम्रो उपस्थितिले किसानलाई मलका लागि सहज भएको छ ।
० तर केही जिल्लामा अझैपनि मलको अभाव छ भन्ने सुनिन्छ नि त ?
नेपालका युरिया विज्ञहरुले दिएको प्रतिवेदन अनुसार नेपालमा वार्षिक ७ लाख मेट्रिक टन युरिया आवश्यक पर्दछ । तर नेपाल सरकारले अनुदानमा मल उपलब्ध गराउने युरिया, पोटास, डिएपीहरु दुई तीन लाख मेट्रिकटन भन्दा बढी हुँदैन । त्यसकारण किसानहरुले जति माग गर्नु भएको छ त्यति मल हामीसंग छैन । निजी क्षेत्रले मल सिंधै ल्याउर बेच्ने हो भने पनि मलमा अनुदान भएन भने किसानहरुले प्रयोग गर्न सक्दैनन् । जति सरकारले ल्याउँछ त्यति नै बाँडेर दिने हो । त्यसकारण किसानहरुका लागि मल सहज होस् भन्ने किसिमले अर्को विकल्प के हुन सक्छ भन्ने विज्ञहरुको छलफल पश्चात हामीले अहिले कै युरियाको मूल्यमा पाइने गरी नेपाल सरकारको स्वीकृतिमा छिमेकी देशहरुमा परीक्षण भईरहेको एमोनियम सल्फेट र सिंगल सुपर फस्फेट ल्याएका छौं । जसको विक्री मूल्य नेपाल सरकारले अनुदानबाट दिएको मलको मूल्यको हाराहारीमा नै छ । यो मल विभिन्न बालीहरुको साथै स्थानीय जिल्लाको माटोको उर्वराशक्तिलाई समेत दृष्टिगत गरी बजारमा ल्याएका छौ ।
० त्यसो भए किसानहरुले युरिया मलको विकल्पमा रुपमा प्रयोग गर्ने यो मलको माग देखिन्छ कि युरियाको ?
मग अहिले दुवै मलको छ । युरिया के हो भन्ने कुरा किसानहरुले बुझिसक्नु भएको छ । तर यो मलको बारेमा किसानहरुलाई जानकारी त गराउनु प¥यो नि । यो मल विर्तामोड, लाहान, विराटनगर, राजविराज, नुवाकोट काठमाडौं जिल्लामा हामीले पु¥याईसकेका छौं । अहिले युरियासँगै यही मल विक्री भईरहेको छ । १८ टन विक्री भईसकेको छ । मूल्यका हिसावले पनि यो मल अनुदान प्राप्त मलकै हाराहारीमा छ महंगो छैन । यो मल नेपाली माटाको लागि पनि अति आवश्यक मानिन्छ । त्यसकारण आम नेपाली किसानहरुले युरिया वा डिएपी पाईन भनेर चिन्ता लिने अवस्था छैन । विकल्पका रुपमा हामीले मल आयात गरि विक्री वितरण गरिरहेको छौं ।
० नेपाल सरकारले रासायनिक मलसंगै प्रांगारिक मललाई प्राथमिकता दिईरहेको छ । साल्ट टे«डिङ्गले प्रांगारिक मल विक्री वितरण गर्ने योजना बनाएको छ ?
संस्थागत रुपमा भन्ने हो भने हामीले प्रांगारिक मलतिर ध्यान दिएका छैनौं । तर, नेपाल सरकारले प्राथमिकतामा राखेको मल भएका कारण कुनै दिन नेपाल सरकारले प्रांगारिक मल विक्री वितरण गर्नका लागि निर्देशन दियो भने पक्कै पनि हामी प्रांगारिक मल विक्री गर्नेछौं ।
० अहिले ल्याईएको सिंगल सुपर फस्फेट मल अहिले हामीले प्रयोग गरेको युरिया वा डिएपी भन्दा के फरक छ त ?
सिंगल सुपर फस्फेटमा १६ प्रतिशत फस्फोर हुन्छ । यसमा फस्फोरस बाहेक क्याल्सियम र सल्फल पनि हुने हुँदा यसले अन्य सुक्ष्म तत्व जुन माटोमा रहेको छ । त्यसलाई परिपूर्ति गर्नका लागि मद्दत पुग्छ । मुख्य गरी जिङ्क निर्माण गर्न पनि सहयोग दिन्छ । सिंगल सुपर फस्फेट मलमा रहेको जिङ्कले माटोमा हुने अत्यधिकत अम्लियपन नियन्त्रण गर्ने काम गर्दछ । नेपालको माटोमा विभिन्न कारणले गर्दा अम्लियपन बढ्दै गईरहेको छ । जिङ्कको परिमाण कम भएको कारणले गर्दा धान गहुँ बालीहरुको उत्पादनमा कमी आएको छ । यो मल धान गहुँमा समुचित प्रयोग गर्न सके उत्पादन बृद्धि गराउन सकिन्छ ।
० त्यसो भए विगतमा प्रयोग गरिएका युरियाकै काम गर्ने मल सिंगल सुपर फस्फेट हो ?
डिएपी, एमोनियम, फस्फेटको ठाउँमा हामीले सिंगल सुपर फस्फेट प्रयोग गर्नु पर्दछ । अम्लियपन नियन्त्रण गर्नका लागि यसमा बोरण जिङ्क जस्ता तत्व समावेश गरिएको हुन्छ । यसले माटोमा अन्य तत्वहरु पनि आपूर्ति गर्दछ । युरियाको सट्टा एमोनियम सल्फेट प्रयोग गर्ने हो । युरियामा ४६ प्रतिशत नाइट्रोजन हुन्छ भने एमोनिमय सल्फेटमा २१ प्रतिशत हुन्छ । यसमा २० देखि २५ प्रतिशत सल्फर हुन्छ । सल्फर मुख्य गरी तेलहनबालीमा बढी आवश्यक पर्दछ ।
० युरिया मल नपाएका बसेका किसानहरुलाई सरकारले के गरिंदिदा ठिक हुन्छ त ?
हाम्रो सल्लाह भनेको वैकल्पिक रुपमा सिंगल सुपर फस्फेट मल प्रयोग गर्नुहोस् भन्ने हो । तर यसका लागि माटोको विज्ञहरुबाट, सन्वन्धित जिल्ला कृषि विकास कार्यालयका विज्ञहरुले सो क्षेत्रमा कति आवश्यक छ त्यही अनुरुप माग गर्ने हो भने हामी सम्वन्धित जिल्लामा पु¥याईदिन्छौं । विकल्पका रुपमा मल आईसकेको कुरा हामीले मात्र किसानसम्म जानकारी पु¥याउन पनि गाह्रो छ । कृषि विकास मन्त्रालयको सञ्जाल ठूलो भएका कारणले मन्त्रालयका प्राविधिक कर्मचारीहरुले किसानलाई युरियाको विकल्पमा सिंगल सुपर फस्फेट मल विक्री वितरण भईसकेको सूचना वा जानकारी दिने हो भने अव नेपालमा मलको अभाव हुंदैन ।
० विगतका वर्षहरुलाई हेर्ने हो भने निजी क्षेत्रबाट युरियामल विक्री गर्न कति सहज छ ?
२०५७–५८ सालतिर सरकारले निजी क्षेत्रलाई मल आयात गर्न खुल्ला गरेका बेला हामीले धेरै नै कारोबार गरेका थियौं । पछि सरकारले विस्तारै नियन्त्रण गरेपछि खुल्ला बजारबाट खरिद गरेर ल्याएको मल विक्रीमा धरेै नै समस्या देखियो । खुल्ला बजारबाट किनेर ल्याएर विक्री गर्दा विक्री शुन्य जस्तै देखियो । पछि सरकारले नीतिगत तहबाट नै उत्पादन बृद्धि गर्नका लागि युरिया सप्लाई बढाउने निर्णय गरेपछि रासायनिक मल हामीले विक्री वितरण गर्ने जिम्मा लियौं । शुरुवातमा अलि समस्या भएपनि अहिले त्यस्तो कुनै अवरोध पनि छैन । मल सहज रुपमा विक्री वितरण भईरहेको छ । अहिले हामीले हामीले विक्री वितरण गरेको सिंगल सुपर फस्फेट र अनुदानको मलको मूल्य उस्तै भएकाले पनि मल विक्री सहज वातावरणमा नै भईरहेको छ । – वैकुण्ठ भण्डारी

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »