शुक्रबार, चैत्र १६, २०८०

रासायनिक मलको विकल्पमा रुपमा ढैंचा मलको प्रयोग उपयुक्त

कृषि उत्पादकत्व बृद्धि गर्नका लागि हामीले प्रयोग गर्दै आईरहेको रासायनिक मलका कारण किसानहरुको खेतबारीको माटोमा अम्लियपन बढ्दै गईरहेको मात्रा होइन त्यसले उर्वराशक्तिमा समेत ह्रास ल्याएको छ ।

परम्पराग रुपमा प्रयोग गरिने गोवर मलले जति उत्पादन दिने गर्दथ्यो त्यो भन्दा बढी उत्पादकत्व बृद्धि गर्ने नाममा नेपालमा पनि रासायनिक मलको अत्यधिक प्रयोग बढ्न थाल्यो । जसका कारण हाम्रा खेतबारीमा विस्तारै रोग कीरा बढ्ने र त्यसका विरुद्ध विषादी प्रयोग पनि बढाउन थालेको छौं ।

यस्तो परिस्थितिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउँदै प्रांगारिक कृषिमा जोड दिनु पर्ने बेला आएको छ । अवको प्रांगारिक खेतीका लागि ढैंचा मलको प्रयोग गर्ने हो भने कृषि उत्पादनका क्षेत्रमा निकैै परिवर्तन गर्न सकिन्छ । अहिले धान उत्पादनका लागि तयारीकाे बेला छ । याे अवस्थामा धान लगाउने जमिनमा रासायनिक मलको आवश्यक मात्रा कटौती गर्न र माटोको उर्बराशक्ति बढाउदै धानको समेत उत्पादन बढाउन अहिले समय छदै ढैंचाको प्रयोग गरौँ । 

ढैंचा र यसको प्रयोग विधि निम्नानुसार रहेका छन् ।

के हो ढैंचा?

ढैंचा एउटा यस्तो बिरुवा हो जसमा हरियो पदार्थको परिमाण धेरै हुने भएकोले हरियो मलको रुपमा सजिलै प्रयोग गर्न सकिन्छ । यो कोशेबाली अन्तर्गत पर्ने भएकाले यसको जराले नाईट्रोजनयुक्त तत्व सञ्चय गर्दछ । जसले गर्दा त्यसपछि लगाउने बालीलाई लाभदायक हुने गर्दछ । ढैंचाका करिब ५० देखि ६० प्रकारका विभिन्न प्रजाति मध्ये सेस्बानिया क्यानाबिना र सेस्बानिया रोस्ट्रटा हरियो मलका रुपमा बढी प्रचलित छन् ।
ढैंचाको जरामा गिर्खा हुने भएकाले नेपालमा यसलाई “गिर्खे ढैंचा” पनि भनेर चिन्ने गर्दछन् । तर सेस्बानिया रोस्ट्रटाको जरा तथा हांगाबिंगाहरुमा समेत गिर्खाहरु हुने भएकाले अरु ढैंचाको तुलनामा यो किसिमको ढैंचाको प्रयोग दिन प्रतिदिन बढ्दैछ ।

ढैंचाको प्रयोगले युरिया मलको मात्रालाई आधा घटाई धानको उत्पादन करिब २० देखी २५५ सम्म बढाउन मद्धत गर्दछ्र । ढैंचाको डांठ र हांगाहरु नरम हुन्छन । ढैंचालाई हरियो अबस्थामा माटोमा पल्टाई थोरै चिस्यान दिएमा सजिलै कुहिने र मलको काम गर्ने भएकाले हरियो मल भनिएको हो ।

ढैंचाको प्रयोग किन गर्ने ?
सेस्बानिया रोस्ट्रटा ढैंचाका गुणहरुः

(क) डांठ र हांगाहरुमा वायुमण्डलिय नाईट्रोजन स्थिरीकरण गर्न सक्ने राईजोविएम व्याक्टेरियाहरु भएका गिर्खाहरु पाईन्छन् ।
(ख) यो जातको ढैंचा सबै प्रकारको माटोमा लगाउन सकिन्छ ।
(ग) यस जातको ढैंचाले जमेको पानी र खडेरी दुबै वातावरण सजिलै खप्न सक्दछ ।
(घ) यसमा विभिन्न किसिमको पोषक तत्वहरु पाइन्छन (नाईट्रोजन ३.५५, फस्फोरस ०.६५ र पोटास १.२५) ।
(ङ) विभिन्न अनुसन्धानबाट ढैंचाले करिब ५० किलोग्राम नाईट्रोजनको बचत गराउन सक्छ भन्ने प्रमाणित भइसकेको छ ।
(च) यस जातको ढैंचा खेतबारीमा लगाउदा कुनै प्रकारको मल नराखे पनि प्रति रोपनी वायुमण्डलिय नाईट्रोजन स्थिरीकरण गरी १३ किलो नाईट्रोजन (३० किलो युरिया बराबर) उपलव्ध गराउन सक्दछ ।
(छ) बीउ उत्पादन गर्न छुट्टै जग्गा नभए पनि खेतको डिलमा समेत लगाउँदा हुने र अरु जातको ढैंचा भन्दा दुई गुणा बढी बीउ उत्पादन हुन सक्दछ ।
(ज) बीउ राखेका बिरुवाहरुको डांठ आगो बाल्न, बारबन्देज गर्न, डोरी बनाउनको साथै यसका पातहरु गाईबस्तुको घाँसको लागि पनि उपयोगी हुन्छ ।

कहिले र कसरी प्रयोग गर्ने?

ढैंचा धान लगाउने खेतमा चैत्र महिनाको शुरुवात देखि जेठ महिनाको अन्त सम्ममा लगाउन सकिन्छ । विशेष गरी गहुं बाली काटी सकेपछि र बर्षे धान रोपाई गर्ने बिचको खाली समय अबधिमा ढैंचा लगाई हरियो मलको रुपमा प्रयोग गर्न सकिन्छ ।

गहुँ काटी सकेपछि खेतलाई एकपटक जोतेर हल्का चिस्यान गराई प्रति कट्ठा एक केजीका दरले छर्नु पर्दछ । यसरी छरेको ढैंचालाई ५ देखि ६ हप्ता पछाडी अथवा फूल फुल्न भन्दा अगाडी यसको कलिलो बिरुवालाई खेतमा छिप्छिपे पानी सहित पल्टाई जोतेर माटोमा मिलाई दिनु पर्दछ ।
जसले गर्दा उक्त ढैंचा चांडै सढेर धानलाई हरियो मलको काम गर्दछ।यसरी जोतेर सढेको हरियो मलमा एक हप्ता पछाडी धान रोप्न सकिन्छ । ढैंचामा अरु तत्वको तुलनामा नाईट्रोजनको मात्रा बढी हुने भएकाले बिरुवालाई छिटो बढ्न मद्धत पुर्याउदछ ।

मानो रोपेर मुरी फलाउने अर्थात धान लगाउने समय नजिकिदैछ । हामीसंग भएको धान लगाउने जमिन बाँझो नराखौ । बरु अहिले नै समय छदै हरियो मलको रुपमा ढैंचाको प्रयोग गरी रासायनिक मलको आवश्यक मात्रा घटाई माटोको उर्बराशक्ति बढाउदै धानको समेत उत्पादन बढाऔं । शोभा खड्का :लेखिका खडका कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवनमा माटो विज्ञानमा स्नातकोत्तर अध्ययनरत छिन्

प्रकाशित मिति: आइतवार, जेष्ठ ४, २०७७