राज्य किसान मैत्री हुन सकेको छैन


शशी पौडेल
प्रवन्ध निर्देशक
लुम्विनी एग्रो एण्ड रिर्सच सेण्टर

पशुपालन क्षेत्रमा क्रियाशील रहेर व्यवसायिक रुपमा पशुपालन व्यवसायलाई स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका किसान हुन् शशी पौडेल । एक दशक अगाडि देखि रुपन्देहीमा लुम्विनी एग्रो एण्ड रिर्सर्च मार्फत गाईपालन गर्दै नेपालको सवैभन्दा ठूलो गाई फार्म सञ्चालकका रुपमा परिचित भएका यस वर्षमात्र जनसेवा श्री पुरस्कारबाट विभुषित पौडेलसँग कृषि अनलाईनले गरेको कुराकानीको अंश :
० नेपालमा व्यवसायिक गाईपालनमा आकर्षण बढिरहेको छ भनिन्छ । वास्तविक रुपमा गाई पालन व्यवसाय फस्टाए को हो ?
गाई पालन फस्टाएको भन्ने कुरा गलत छ । भाषण गर्नेहरुका लागि फस्टाएको होला तर वास्तवमा त्यो छैन । पछिल्ला केही दुइ चार वर्षमा गाईपालन व्यवसायतिर जसरी आकर्षण बढिरहेको थियो त्यो आकर्षण अहिले आएर विस्तारै घट्दै गइरहेको अवस्था छ । धमाधम गाई विक्री गर्दै फार्म वन्द भईरहेको देखिन्छन् ।
० यति छिट्टै आकर्षण घट्नुको कारण के हुन सक्छ ?
गाई पालन व्यवसाय अरु व्यवसाय जस्तो आजको भोली नै फाइदा दिने व्यवसाय होइन । यो धेरै जटिल कार्य हो । गाईवस्तुपाल्नु यसलाई जोगाउनु दुध दुनु र बेच्नु त्यसको बजारीकरण गर्नु भनेको एकदमै जटिल काम हो । विहान उठेदेखि बेलुका नसुतेसम्म गोठमै समय विताउनु पर्ने अवस्था छ । उत्पादन भएका दूधले बजार पाउँदैनन् । यो पनि एउटा कारण हो ।
० राज्यले गाईपालनतर्फ युवाहरुलाई आकर्षण गर्ने कार्य गरिरहेको भन्छन् नि त ?
आकर्षण गर्नु ठूलो कुरा होइन । त्यसलाई टिकाउनु ठूलो कुरा हो । पशुपालन व्यवसयामा अहिले बुढा, युवा र केटाकेटी भनेर कृषिमा जुन विभेद गरिएको छ त्यसले कृषि वा गाईपालन व्यवसाय अगाडि बढ्दैन । जुन प्रकारमा युवाको ठूलो संख्या विदेशिएका छन् यस्तो अवस्थामा नेपालमा गाई पालन व्यवसाय फस्टाउला जस्तो लाग्दैन । राज्यले युवालाइ बेरोगार बनाएर झन बिगार्न खोजिरहेको छ । युवाहरुलाई बिगार्नको लागि नै राज्यले युवा स्वरोजगार कोष र युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । युवा स्वरोजगारबाट कति युवाहरुले रोजगार पाए र कतिले रोजगारी सृजना गरे ? खोज्ने काम तपाई मिडिया कै हो ।
० पछिल्लो समयमा हरेक राजनीतिक नेतृत्वले कृषि विकासका कुरा गर्दछन् किन ?
कुरा मात्र गर्दछन् काम गर्दैनन् । हाम्रा राजनीतिक दलहरुका नेतृत्वहरु शब्दमा राम्रा कुरा गर्ने, अर्काले लेखिदिएका राम्रा किताबहरु पढ्ने र त्यही पढेका राम्रा कुराहरु भाषण गर्ने र व्याख्या गर्ने गर्छन । तर, व्यवहारमा उनीहरुले के गरे त्यो हेर्नु जरुरी छ । २०४६ देखि अहिलेसम्म राज्यका लागि एउटा स्थिर कार्यक्रम कुन राजनीति दलले ल्याउन सकेको छ ? २०४६ साल यता कुनैपनि दलहरुमा राजनेतामा हुनु पर्ने क्षमता र खुबी भएको जस्तो मलाइ लाग्दैन । तपाइँ नेपालमा स्वतन्त्र नेपाली कोही पनि देख्न सक्नु हुन्न । यहाँ त काँग्रस, नेकपा, मधेसी, राप्रपा मात्रै छन् स्वतन्त्र नेपाली कोही पनि छैन । जबरजस्ती कुनै न कुनै दलको सदस्य बनाइन्छ र कुनै न कुनै दलको पछाडि लगाएकै हुन्छ । त्यसका लागि पनि कृषि विकासका कुराहरु मात्र हुन् । विकास भएको छैन ।
० सहुलयत ब्याजदरमा किसानलाइ ऋण दिने कार्यक्रम त छ नि त ?
हो त्यो राज्यले किसानलाई ल्याएको नीतिनै विवादास्पद छ । एकातिर कृषिलाई व्यवसायीकरण गर्नुपर्छ भन्छ अर्कातिर लगानीको कुरा राख्दछ । एक करोडसम्मकोलाई ५ प्रतिशतले ऋण दिने भनेको छ । यदि कृषिलाई व्यवसायिकरण नै गर्ने हो भने एक करोडले के हुन्छ ? काम गर्ने किसानलाई आवश्यकता अनुसारको ऋण प्रवाह गर्नु पर्दछ । उसले त्यसरी लिएको ऋणलाई दुरुपयोग गरेको छ भने कार्वाही गर्ने व्यवस्था राज्य गर्नु पर्दछ । राज्य अझै पनि कृषि मैत्री हुन सकेको छैन ।
० नेताहरुले कृषि प्रधान देश भनेर कृषि क्रान्तिका कुरा गरिरहेका हुन्छन् त ?
नेपालबाट खुसार्नी, चामल र गहुँ लगायत पहिला निर्यात हुन्थ्यो भने अहिले लसुन, प्याज र आलु समेत हामीले बाहिरबाट आयात गर्नु पर्ने अवस्था छ । के आधारले कृषि प्रधान देश भनेर भाषण गर्दछन् ? कुन चिजले हाम्रो राष्ट्र आत्मनिर्भर छ हामीले नेपाल कृषि प्रधान देश भनेर भन्ने अवस्था छैन । नेताहरुले पुराना किताव बढेका कारण त्यही भाषण गरिरहेका छन् । आयात निर्यातमा परिवर्तन भईसकेको छ । कृषि आयात प्रधान देश भन्दा हुने भएको छ ।
० पाँच सयको हाराहारीमा गाई फार्ममा छन् तर अझै व्यवसायिक भएन की भन्ने संकेत गर्नु भो नि त ?
सामान्यतया व्यवसाय भनेपछि मुनाफामा जानु पर्छ । तर सबै व्यवसायहरु मुनाफामा जानु पर्छ भन्ने छैन । मेरो गाई फार्म मात्रै होइन कतिपय ठूला–ठूला व्यवसाय पनि मुनाफा भन्दा भन्दै टाट पल्टेका छन् । राज्यले सञ्चालन गरेका कतिपय व्यवसाय टाट पल्टेर निजिकरण समेत गर्नुपरेको हामीलाइ थाहा भएकै कुरा हो । तर मेरो हकमा भन्नु पर्दा मैले कृषिमा व्यवसायिकरण हुनै पर्छ र सुरुवात पनि म बाटै हुनुपर्छ भनेर मेरो बलबुता क्षमताले भ्याएसम्म मैले यस क्षेत्रमा लागे र व्यवसाय सुरु गरिरहेको छु । विगतमा घाटा सहेर पनि व्यवसायलाई निरन्तरता दिएकै कारण अहिलकेही नाफा हुन शुरु भएको छ ।
० चीनबाट गाई ल्याउने कुरा छ नि के भन्नु हुन्छ ?
गाई ल्याउनुमात्र ठूलो कुरा होइन । त्यसलाई व्यवस्थापन गर्नु ठूलो कुरा हो । व्यवस्थापन राम्रोसँग गर्न सकिन्छ भने गाई ल्याउनु उचित हो नत्र भविष्यमा त्यसले पशुपालन किसानहरुलाई नकारात्मक सन्देश जान सक्छ । अहिले नेपालको भौतिक हावापानी, आहार तथा पोषणका कारण पनि सफल हुने सम्भावन पनि देख्दिन । केही व्यक्तिका निहित स्वार्थका लागि ल्याउने प्रयास हो । त्यसमा राज्यले बेलै होस पु¥याउने पर्दछ । गाईभन्दा पनि उन्नत नश्ल ल्याउनु आवश्यक छ ।
० दश वर्षको गाईपालन व्यवसायबाट सन्तुष्ट हुुनुहुन्छ ?
म आप्mनो कार्यप्रति सन्तुष्ट नै छु । यदि यसैलाई पेशासँग तपाइले जोडेर हेर्नु हुन्छ भने असन्तुष्ट हुन सक्छ । असन्तोष भनेको संसारमा पैसा, पद र प्रेम मात्रै हो । यी ती चीजले कसैलाई पनि सन्तुष्ट तुल्याउने सक्ने विषय होइन । मेरो व्यवसायमा म सन्तुष्टिछु । मैले यसलाई पैसासँग भन्दा सेवासँग जोडेर अगाडि बढिहरेका छु ।
० त्यसो भए गाईपालन व्यवसायका लागि राज्यले केही गरेको छैन ?
राज्यलाई शतप्रतिशत निरिह बनाइएको छ । राज्य सञ्चालकहरुको यस तर्फ ध्यान पुग्न सकेको पनि छैन । राज्य सञ्चालकहरु आफ्नो सेवा सुविधा बढाउनमा नै व्यस्त देखिएको जस्तो अनुभूति भईरहेको छ । हाम्रो फार्म देखेर उत्साहजनक रुपमा फार्म सञ्चालन गर्नेहरु अहिले धमाधम बन्द गर्ने अवस्थामा पुगेका छन् । कारण किसानहरुको लागत अनुरुप मूल्य पाउन सकिरहेको अवस्था छैन । भने थोरै मूल्यमा दूध विक्री गर्न नपाउँदा पनि मिल्क होलिडेको अवस्था भोग्नु परेको छ ।वैकुण्ठ भण्डारी