शनिबार, बैशाख ८, २०८१

म्याग्दीमा अल्लो व्यवसाय फस्टाउँदै

म्याग्दी, ९ फागुन । जल, जमिन, जंगल र जडीबुटीमा प्रशस्त सम्भावना रहेको जिल्लामा जंगलमा पाइने अल्लो र त्यसबाट निर्माण गरिने सामग्रीको व्यवसाय फस्टाउँदै गएको छ ।
अल्लोबाट निर्माण गरिएका सामग्रीको माग बढ्दै गएको सो व्यवसायसँग सम्बन्धित व्यक्तिले बताएका छन् । हालै सम्पन्न छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ््क्रान्ति मेलाको अवसरमा महिला उद्यमीले अहिलेसम्मकै बढी अल्लो र ढाकाका साम्रगी बिक्री गरेका थिए ।
विगतका महोत्सवमा कक्ष राखे पनि अधिकांश सामग्री घरमै फिर्ता लिएर आउने गरेकी महिला उद्यमी नेकसरा पुनले यस वर्ष करिब रु पाँच लाख बराबरको अल्लोका सामान बिक्री भएको बताए । उनले रु १०० देखि रु सात हजारसम्म पर्ने अल्लोका विभिन्न सामान बिक्री गरेका छन् ।
अल्लो कपडाबाट बनाइएको कोट, जुत्ता, चप्पल, झोला, टोपी, पर्सलगायत सामग्री बिक्री गरेका थिए । उनले काठमाडौँको भृकुटीमण्डपमा आयोजित हस्तकला प्रदर्शनीमा समेत रु तीन लाखको विभिन्न सामग्री बिक्री गरेको बताए । धौलागिरि अल्लो कपडा उत्पादन तथा टे«निङ सेन्टर सञ्चालन गरेर पुनले अल्लोका सामग्री उत्पादन गर्दै आएका छन् ।
“स्वदेशमा भन्दा विदेशमा यसको माग अत्यधिक छ,” उनले भने । पुनले अल्लोका जुत्तादेखि कोट, इष्टकोट, गलबन्दी, रुमाल, टोपीलगायत सामग्री निर्माण गर्नुहुन्छ । जिल्लाभरि व्यावसायिकरूपमा अल्लोका ७० जना तथा ढाकाका ६० उद्यमीले दैनिकरूपमा सामग्री निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, फाल्गुन ९, २०७४