मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

Dec 17 • Wide News B, कृषि उद्यम

तेह्रथुम,  पुस । जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस गए । पण्डित बन्ने सोचमा रहेका उनले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाए । त्यहाँको जनजीवन र जीवनशैली पनि देखे तर उनलाई आफूले पढेको विद्या र जजमानी पेसाभन्दा त्यहाँको व्यावसायिक खेती र जीवनशैलीले प्रभावित पा¥यो ।
दार्जिलिङवासीले गरेको व्यावसायिक खेती देखेपछि भट्टराईले गाउँ फर्किएर आव २०४२÷४३ बाटै गाउँमा अदुवा खेती अभियान चलाए । शुरुमा उनी आफैँले र सँगसँगै छिमेकीलाई पनि अदुवाको व्यावसायिक खेतीमा लाग्न सुझाए ।
विसं २०५१ तिर गाउँका धेरैले अदुवा रोपिसकेका थिए । जान्ने बुझ्नेले व्यावसायिक रूपमै अदुवाखेती लगाउन थालेका थिए । परम्परागत बालीभन्दा बढी आम्दानी दिने भएपछि भट्टराईले अदुवा खेतीलाई व्यावसायिक बनाए । २०५२ सालमै रु ९० हजारको अदुवा बेचेको उनी बताउँछन् ।
विसं २०५४ सालपछि अदुवाको बजार झण्डै एक दशकसम्म निरन्तर ओरालो लाग्यो । त्यतिबेला अदुवा तीन÷चार रुपैयाँ प्रति केजीले कारोबार भएको भट्टराईको गुनासो छ । “मैले अदुवाखेती गरेको एतिका वर्षमा उही अदुवा प्रति केजी रु तीनले पनि बेचेको छु ।’’ उनले भने “अनि कुनै वर्ष प्रति केजी ११० रुपैयाँले पनि कारोबार गरेको छु ।” बजारमा ह्वात्तै गिरेको अदुवाको शाख २०६१ सालपछि फेरि उदायो ।
विसं २०६१ मा आफूले अदुवा रु ११० प्रति केजीले बेचेकोे वर्ष रु एक लाख आम्दानी भएको थियो । त्यसयता उनले हरेकवर्ष कम्तीमा ३०÷४० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । गाउँ–गाउँमा अधिक मात्रामा अदुवा उत्पादन हुन थालेपछि विसं २०७० पछि फेरि अदुवाले बजार पाउन छाडेको उल्लेख गर्दै भट्टराईले २०७१ सालमा अदुवाको मूल्य प्रतिकिलो पुनः ३–४ रुपैयाँमा झरेको बताए। सो वर्ष धेरैले अदुवाबारीमै राख्दा–राख्दै कुहिएको पनि थियो । त्यसयता भट्टराईले अदुवाको बजार पर्खिएर सोहीअनुसार खेती लगाउँदै आएका छन् ।
यो वर्ष भट्टराईले बीउका लागि मात्रै अदुवा रोपेका छन् । यो वर्ष आफूले दुई क्वीन्टल मात्रै रोपेको र त्यसबाट करिब १५ क्वीन्टल उत्पादन हुने उनको अनुमान छ । त्यसले आफूसहित माग गर्ने अरू कसैलाई समेत बीउको रूपमा काम गर्ने उनले बताए ।
“गतवर्ष पनि खासै भाउ थिएन, योवर्ष पनि अदुवाको सिजन शुरु हुँदै निकासीमा समस्या छ, खासै भाउ नपाउला, त्यही भएर मैले बीउका लागि मात्र खेती गरेको हुँ,” भट्टराईले भने । विसं २०५१ सालयता अहिलेसम्म निरन्तर अदुवाखेती लगाउँदै आउनुभएका उनले गाउँमा अदुवा विशेषज्ञ जस्तै भएकाले उनलाई अदुवाखेतीका अभियन्ताको रूपमा चिनिन्छ । जलजले गाउँका झण्डै पाँच सय बढी घरधुरीले अहिले अदुवाखेती लगाएका छन् । भट्टराईलाई गतवर्ष जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मान गरेको थियो ।
केही वर्षयता अदुवामा रोगको संक्रमण बढेकाले नेपाली अदुवाको गुणस्तर घटेको भट्टराईले बताए । गुणस्तर घटेपछि अन्तर्राष्ट्रिय बजारमा अदुवाको माग घटेको उनको बुझाइछ । त्यसकारण अदुवाको मूल्य घटेकाले अदुवाको व्यावसायिक खेती संकटमा परेको भट्टराईले जानकारी दिए ।
गाउँमा अदुवासहित कृषि कर्ममै लागौँ भनेर ‘रुखो, पाखो बचाऔँ, एक पटक श्रम देऊ, फि¥यो भने लिन जाऊ’ भन्दै अभियान थालेका भट्टराईको गाउँ अहिले हरियाली भएको छ । उनले भने, ‘पहिले हाम्रो मेहेरबुङ गाउँको नाम सुन्दै कहालिलाग्दो अवस्था थियो, न पानी थियो, न हरियाली, रुख बुट्टा नै ।’ गाउँका अधिकांशले पाखो बारी खनजोत गरेर बाली लगाएपनि उत्पादन भने हुँदैनथ्यो । उनले त्यही उत्पादन नहुने जमिन बाँझो जमिनलाई विकास गर्न भने, अनि त्यो बाँझो पाखामा अम्रिसोलगायत नगदेबाली लगाउन सुझाए पनि । अहिले मेहरबुङमा खानेपानीका मुहान रसाएर स्थानीयवासीलाई पानी पुग्दो भएको भट्टराईले बताए । – प्रकाश धौलाकोटी

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »

सूचना विभाग दर्ता नं : २६९/०७३–७४
प्रकाशक : हब ब्रोडकास्टिङ्ग प्रालि, अनामनगर काठमाडौं
सञ्चालक : हिमा पौडेल
सम्पादक : वैकुण्ठ भण्डारी
सर्वाधिकार : हब ब्रोडकास्टिङ्ग प्राालि