मङ्लबार, बैशाख ११, २०८१

मुख्य सोच नै कृषिमा नयाँ प्रविधि भित्र्याउँदै जाने हो

rajes bhakta
राजेशभक्त श्रेष्ठ
प्रवन्ध निर्देशक
ग्रीनलाइफ एग्रोटेक

० कृषि क्षेत्रमा निजी क्षेत्र आकर्षित भईरहेका छन् के देखेर लाग्नु भएको हो ?
कृषि क्षेत्रमा निजी क्षेत्र आकर्षित हुन स्वभाविक नै हो । तर हामी अहिले कृषि क्षेत्रमा लागेका हैनौं । ४० वर्ष अगाडिदेखि हामी पुष्प व्यवसायबाट कृषिमा संलग्न रहँदै आएका छांै भने विगत १५ वर्षदेखि कृषि यन्त्र आयात गरी विक्री वितरण गर्ने काममा सक्रिय छौं । कृषि उत्पादनको लागत मूल्य घटाउनका लागि कृषि यन्त्रको प्रयोेग अनिवार्य नै थियो । त्यस बेला यहाँ भनेको जस्तो कृषि यन्त्र नपाउने भएका कारण हामीले आफ्ना लागि कृषि यन्त्र आफ्नो लागि त ल्यायौं नै त्यसपछि आयात गरी विक्री वितरण नै गर्न थालेका हौं । नेपालका कृषिको नयाँ प्रविधि भित्र्याउने पर्दछ भन्ने मध्ये हामी पनि एक हौं । हाम्रो मुख्य सोच नै कृषि नयाँ नयाँ प्रविधि भित्र्याउँदै जाने र प्रयोग गर्दै जाने र कम क्षेत्रफलमा धेरै उत्पादन कसरी लिन सकिन्छ भन्ने नै हो ।
० त्यसो भए नेपाली कृषि क्षेत्रलाई आधुनिकीकरण गराउने उदेश्यले कृषिमा लागिरहनु भएको छ ?
कृषि क्षेत्रलाई व्यवसायिकरण गर्ने कुरा जति नै गरिएको भएपनि आधुनिकीकरण गर्ने काममा नेपाल सरकार पछाडि नै छ । त्यसमा निजी क्षेत्र धेरै नै अगाडि छ । हामीले आफ्ना लागि यान्त्रिकरणमा जोड दिएको भएपनि पछि किसानका लागि पनि शुरुवात गरेका हौं । कृषिको उत्पादकत्व बढाउनका लागि विदेशमा गरिएका यन्त्रउपकरण प्रयोग र अभ्यासलाई हेरर हामीले भित्र्याउन खोजेका छौं । यसका लागि हामीले मात्र गरेर भएन भन्ने सोचेर आफूले प्रयोग पनि गर्ने, अरु किसानहरुलाई पनि सिकाउँदै र वितरणको काम पनि गर्दै आएका हौं ।
० नेपालमा कृषि प्रविधि भित्र्याउन जसरी अभ्यास गरिएको छ तर किसानसम्म पुगेन भन्ने सुनिन्छ नि किन होला ?
सवैभन्दा महत्वपूर्ण कुरा भनेको नयाँ प्रविधि र प्रयोग बढाउने काम सरकारले नै गर्नु पर्दछ । निजी क्षेत्र भनेको जहाँ फाइदा हुन्छ त्यही सक्रिय हुन्छ । घाटा खाएर कुनै पनि व्यवसायीले व्यापार गर्दैन । व्यवसायीलाई कहाँ जादा फाइदा हुन्छ कहाँ जादा पायक पर्दछ भन्ने कुरा हेर्ने हो । प्रविधि विस्तार गर्ने नै हो भने सरकारले आफ्नो उपस्थिति देखाउनु पर्दछ । त्यसका लागि निजी क्षेत्रको सहकार्य अति नै जरुरी छ । पहिलाको तुलनामा विगत एक दशकभन्दा अगाडि हेर्ने हो भने निजी क्षेत्रसँगको सहकार्य सरकारले गर्न थालेपछि थोरै भएपनि किसानसम्म पुगेको छ । तर सरकारले सहकार्य नगर्ने हो र निजी क्षेत्रले मात्र यसलाई ध्यान दिने, प्रविधि प्रसार गर्दछु भन्न थाल्यो भने त्यो तल्लोतहका किसानसम्म पुग्न गाह्रो हुन्छ । पुग्दै पुग्दै भन्दा पनि फरक पर्दैन ।
० तर कृषि विकास मन्त्रालयले उत्पादकत्व बृद्धि गर्नका लागि ल्याएका धेरै कार्यक्रम किन असफल हुन्छ ?
सरकारले उत्पादकत्व बृद्धि गर्ने भन्ने नाममा विभिन्न खाले कार्यक्रम ल्याएपनि निजी क्षेत्रसँग सहज रुपमा सहकार्य नगरेका कारण त्यस्तो भएको होला । अर्को कुरा उत्पादकत्व बृद्धि गर्ने काममा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्न नै चाहँदैनन् । किन भने सरकारी काम गर्नका लागि प्रक्रियाहरु निकै नै झण्झटिला भएका कारण यस्तो हुने गरेको छ । काम भन्दा पनि बढी प्रक्रियामा बढी समय विताउनु पर्ने भएका कारण पनि त्यसो भएको होला । हुन त अहिले अनुदानका कुराहरु पनि आईरहेका छन् । तर पनि अनुदान लिने कुरामा पनि विभिन्न खाले मापदण्ड र प्रक्रियाका कारण पनि यस्तो भईरहेको होला । उत्पादकत्व बृद्धि गर्ने कुरामा धेरै प्रयास गरेको भएपनि किसानमैत्री नभएका कारण पनि त्यस्ता कार्यक्रम असफल भएका होलान् भन्ने लाग्छ ।
० कृषि यान्त्रिकरणका लागि रहनु भएको छ, कस्ता खालका कृषि यन्त्र किसानसम्म पु¥याईरहनु भएको छ ।
अहिले हामीले गरिरहेको भनेको ग्रिन हाउस, थोंपा सिंचाई, अर्गानिक मल तथा विषादीहरुमा पनि काम गरिरहेको छौं । त्योसँगै ग्रिन हाउसका लागि चाहिने सम्पूर्ण आवश्यक सामाग्रीहरु हामीले किसान माझ पु¥याईरहेका छौं भने । कोकोपिट, बेना राख्नका लागि चाहिने ट्रेहरु, ह्याण्ड स्प्रे पम्पहरु लगायत कृषिका लागि चाहिने सम्पूर्ण सामग्रीहरु हामीले हाम्रा नेटवर्क भएका ठाउँमा विक्री वितरण गर्ने र प्रयोग विधिहरु समेत सिकाउँदै आईरहेका छौं ।
० किसानहरुले कत्तिको प्रयोग गर्न थालेका छन् कृषि यान्त्रिकरण ?
विगतका वर्षहरुमा हेर्ने हो भने पछिल्ला वर्षहरुमा कृषि यन्त्र प्रयोग गर्ने किसानहरुको संख्या बढेको छ । चेतना अभिबृद्धि हुँदै गईरहेका कारण पनि किसानहरुले कृषि यन्त्र प्रयोग बढाउँदै गएको देख्न सकिन्छ । सरकारले यान्त्रिकीकरणमा जोड दिएको भए पनि व्यवस्थापन गर्न सकिरहेको छैन । सरकारले थोंपा सिंचाईलाई नै पढावा दिन खोजिरहेको छ । तर त्यो सिंचाईका लागि मात्र हो त ? होइन त्यसकारण सरकारले किसानको आवश्यकता अनुसारको कृषि यन्त्र ल्याउनु पर्दछ ।
० त्यसो भए सरकारले के गर्नु प¥यो ?
सरकारले किसानहरुलाई ल्याएको कार्यक्रम हचुवाका भरमा ल्याइएको छ । यान्त्रिकीकरणलाई जोड दिने नाममा अनुदानमा भुल्याउने काम भएको छ । अनुदान दिनु पर्दछ तर विशेष योजना बनाएर अगाडि बढ्नु पर्दछ । नेपालमा कृषि यन्त्र प्रयोग गर्दै आधुनिकीकरण गर्ने नाम जे मन लाग्यो त्यही कार्यक्रम ल्याउने गरिएको देखिन्छ । नेपालमा कृषि यन्त्र उपकरण खरिद गर्नका लागि नेपाल सरकारले दिंदै आएको अनुदानमा छिमेकी मुलुकहरुले दिने अनुदान प्रक्रियालाई समेत अध्ययन गरेर लैजानु पर्दछ । त्यसकारण अनुदान लिने र दिने दुवै पक्ष संवेदनशील भएर लाग्नु पर्दछ । सरकारले किसानहरुलाई आधुनिकीकरण यस प्रकारले जानु पर्दछ भन्ने किसिमले प्रशिक्षण दिनु आवश्यक छ । सरकार आफूले दिएको अनुदान पारदर्शि ढंगले अगाडि बढाउनु आवश्यक छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, कार्तिक २७, २०७४