बिहिबार, चैत्र १५, २०८०

महिला समूहलाई बाखा्र प्रदान

भक्तपुर, ९ पुस । महिलालाई आर्थिक रुपमा सशक्तिकरण गर्ने उद्देश्यले भक्तपुरका विभिन्न महिला समूहलाई तीन बोका, ३० बाख्रा प्रदान गरिएको छ । मानवीय आस्था नेपाल नामक संस्थाले सूर्यविनायक नगरपालिका दधिकोटस्थित चरखण्डी महिला समूहलाई एक बोका र १० बाख्रा, वनकाली बाख्रापालन महिला समूहलाई एक बोका र १० बाख्रा तथा चित्तपोलको मंगल बाख्रापालन महिला समूहलाई एक बोका र १० बाख्रा प्रदान गरेको हो ।
उन्नत जात मानिने खरि जातको प्रतिबाख्रा रु १० हजार र प्रतिबोका रु २२ हजारका दरले खरिद गरी ती महिला समूहलाई वितरण गरिएको मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जीतले जानकारी दिए । प्रदान गरिएका बोका र बाख्रालाई आवश्यकपर्ने दाना, औषधि उपचार र स्वास्थ्य परीक्षण नियमित रुपमा संस्थाले नै गराउने पनि उनले जानकारी दिए ।
संस्थाका संरक्षक, प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले संस्थाद्वारा आयोजित एक कार्यक्रममा ती महिला समूहलाई बोका, बाख्रा, एवं सिलाई मेशिन प्रदान गरेका हुन् । सोहि अवसरमा उनले नैचाल महिला समूह र पकण्डोल महिला समूहलाई पनि तीन÷तीन वटा सिलाई मेशिन प्रदान गर्नुका साथै नौ वटा महिला समूहलाई रु तीन लाख मूल्य बराबरका बीउबिजनसमेत प्रदान गरे ।
सो अवसरमा संस्थाका संरक्षक बस्नेतले व्यक्तिगतभन्दा पनि समूहगतरुपमा काम गर्दा महिलाको आर्थिक अवस्था उकास्न सहज हुने, पुँजीको संरक्षण हुने र बचत हुने भएकाले महिला एवं बेरोजगारको आर्थिक अवस्था उकास्न आर्थिक उपार्जनका कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।

प्रकाशित मिति: आइतवार, पुस ९, २०७४