मङ्लबार, बैशाख ४, २०८१

महंगो चामलको भन्सार १० प्रतिशत बढाउन प्रस्ताव

काठमाडौं,जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चामलमा भन्सार महसुल वृद्धि गर्न सिफारिस गरेको छ । चामलको आयात अत्यधिक बढ्न थालेपछि त्यसमा अंकुश लगाउन सरकारले भन्सार महसुल बढाउने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले चामलमा भन्सार महसुल १० प्रतिशत बढाउने प्रस्ताव अर्थ मन्त्रालय पठाइएको जानकारी दिएको हो।

हाल चामलमा ५ प्रतिशत भन्सार रहेको र कृषि सुधार शुल्क अन्तर्गत उक्त कर असुल गरिँदै आएको छ ।मन्त्रालयले सात मिलिमिटरभन्दा लामो, मिठो, मसिनो र बास्नादार चामलमा भन्सार बढाउने प्रस्ताव गरेको हो । यी चामलको बजार मूल्य तुलनात्मक रुपमा बढी पनि छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत यसको सम्बोधन हुने विश्वास मन्त्रालयको छ । भन्सार बढाउन प्रस्ताव गरेको चामल तुलनात्मक रुपमा महंगो चामल रहेको र जुन आमजनताले भन्दा पनि उच्च आयस्रोत भएकाले उपभोग गर्दे आएका छन् । चामलमा भन्सार वृद्धि गर्दा त्यसको आयात न्यूनीकरण हुने तथा स्वदेशी किसान र उद्योगलाई पनि प्रवर्द्धन गर्न सहयोग मिल्ने विश्वास मन्त्रालयको छ । यसैगरी कृषि सुधार शुल्कअन्तर्गत धानमा लाग्दै आएको ८ प्रतिशत भन्सारलाई न्यूनतम ३ प्रतिशतसम्म झार्नुपर्ने प्रस्ताव समेत मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५