शनिबार, बैशाख ८, २०८१

मत्स्यपालन र पशुपालन क्षेत्रलाई एउटै संरचनामा

हाल मुलुक एकात्मक राज्यप्रणालीबाट संघीय प्रणालीको रुपान्तरणको क्रममा छ । संविधानको भावना अनुरुप सरकारका कामकारवाहीलाई व्यवस्थित गर्न प्रशासनिक पुर्नसरचना भईरहेको छ । यस क्रममै कृषि क्षेत्रको पनि पुनर्सचना भइरहदा विगतमा यस क्षेत्रको विकासका लागि स्थापित संरचनहरुको पनि संघीय प्रणाली र आवश्यकताका आधारमा परिमार्जन हुनु अत्यन्त जरुरी छ । कृषि क्षेत्रका राज्यबाट स्थापित संरचनाहरुको पुनरावलोकनका लागि यो महत्वपूर्ण घडि पनि हो । त्यसकारण कृषक, कृषि व्यवसाय र राज्यलाई केन्द्रविन्दुमा राखि कृषि र पशुपालन क्षेत्रको पुनर्सरचना गर्ने उत्तम अवसरका रुपमा लिइनुपर्ने जरुरी छ ।

यस क्षेत्रका थुप्रै त्रुटिहरु मध्ये पशुपालन र मत्स्यपालनलाई एकै ठाउमा नराखिनु पनि एक महत्वपूर्ण त्रुटि हो । पशुपालन संगै आउने मत्स्यपालनलाई केहि व्यक्ति, समूहहरुको निहित स्वार्थका कारण नेपालमा बाली, वागवानी, फलफुल सम्बन्धी नीति निर्माण, कार्यक्रम तर्जुमा , कार्यक्रम सञ्चालन गर्ने कृषि विभाग अन्तरगत राखिएको छ । विश्वमा यस सम्बन्धी भएको अभ्यासलाई हेर्ने हो भने मत्स्यपालन क्षेत्रको सम्भावना र योगदानलाई हेरि या छुट्टै संरचनाको व्यवस्था गरिएको हुन्छ भने या पशुपालन संगै एउटै संरचनामा राखिएको हुन्छ । हाम्रो नेपालमा विश्वमै स्थापित मूल्यमान्यता विपरित मत्स्यपालन क्षेत्रलाई कृषि विभाग अन्तरगत राखिएको छ । यसका कारण मत्स्य क्षेत्रले सोचे जस्तो उपलब्धी हाषिल गरेको छैन । नेपालजस्तो मुलुकका लागि मत्स्यपालन व्यवसाय थुप्रै सम्भावना भएको क्षेत्र हो । यस लेखमा मत्स्यपालन र पशुपालनलाई एउटै संरचनामा राखिनु पर्ने राष्ट्रिय, अन्र्तराष्ट्रिय अभ्यास र वैज्ञानिक आधारहरुका सम्बन्धमा बुदागत रुपमा छलफल गर्ने प्रयास गरिएको छ ।

१) विश्व पशु स्वास्थ्य संगठनले गरेको व्यवस्था : पशु, पन्छी तथा मत्स्य स्वास्थ्यको मापदण्ड निर्धारण, कार्यान्वयन, व्यापार प्रवद्र्धन लगायतका विविध विषयमा समन्वय गर्न अन्तर्राष्ट्रिय स्तरमा विश्व पशु स्वास्थ्य संगठनको स्थापना भएको छ । नेपाल समेत पक्ष राष्ट्र रहेको विश्व पशु स्वास्थ्य संगठनले आत्मसाथ गरेका वैज्ञानिक मुल्य मान्यता नेपालका लागि समेत बाध्यकारी हुने गर्दछन । नेपालमा पशु सेवा विभाग यस विश्व पशु स्वास्थ्य संगठनको फोकल कार्यालयको रुपमा ताकिएको छ । यस परिप्रेक्ष्यमा मत्स्यपालन क्षेत्रलाई कृषि विभाग अन्तरगत राखिदा राष्ट्रिय अन्र्तराष्ट्रिय समन्वय र नियमित रुपमा विश्व पशु स्वास्थ्य संगठनलाई मत्स्यपालनसंग सम्बन्धीत विषयमा गर्नुपर्ने रिपोर्टिङ गर्न समेत कठिनाई हुने गरेको छ ।

२) अन्तर्राष्ट्रिय अभ्यास : विश्वका प्राय सबै मुलुकले मत्स्यपालनलाई मुलुकको अर्थतन्त्रमा गरेको योगदान र सम्भावनालाई हेरि या छुट्टै संरचनामा राख्ने गरेको छ भने या पशुपालन संगै एउटै संरचना भित्र राख्ने गरेको छ । भारतको कुरा गर्ने हो भने त्याहाँ Department of Animal Husbandry, Dairying and  fisheriesरहेको छ भने कृषिका लागि छुट्टै विभागको स्थापन गरेको छ । त्यस्तै बंगलादेशमा भने पशु र मत्स्य सम्बन्धि छुट्टै Ministry of Fisheries and livestock रहेको छ भने अर्को तर्फ कृषि क्षेत्रलाई हेर्न Ministry of Agricultureको व्यवस्था गरेको छ । त्यस्तै भुटान र अन्य प्राय मुलुकमा यस्तै किसिमको संरचना पाइन्छ ।

३) राष्ट्रिय विद्यमान कानून : नेपालको सम्मानित व्यवस्थापिकाबाट पारित भई कार्यान्वयनमा रहेको पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ ले पशु शब्दलाई परिभाषित गर्दै उक्त शब्दले माछा समेतलाई जनाउने कानूनी प्रावधान गरेको छ । माछाको क्वारेन्टाइन जाँच, माछाको भुरा उत्पादन गर्ने ह्याचरी स्थापनाका लागि सिफारिस लिने, माछाका भुरा वा माछा दानाको निकासी वा पैठारी गर्ने , माछाको भुरा बिक्रि वितरण गर्न अनुमति लिनुपर्ने जस्ता विषय पशु सेवा विभागको कार्यक्षेत्र भित्र पर्ने कानूनी प्रावधान रहेको छ । हाल मत्स्यपालनका विविध पक्षहरुमा कानूनी क्षेत्राधिकार पशु सेवा विभागमा रहेको तर संरचना कृषि विभाग अन्तरगत रहदा पशुपालन क्षेत्रको नीति निर्धारण, कार्यक्रम तर्जुमा, कार्यान्वयन , आवश्यक समन्वय गर्न निकै कठिन भएको छ ।

४) नेपालका विश्वविद्यालय, शिक्षण संस्था र अनुसन्धान परिषदले गरेको व्यवस्था : नेपालको एक मात्र यस क्षेत्रकै लागि उच्च जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित स्थापित कृषि तथा वन विश्वविद्यालय अन्तरगत भेटेरिनरी, पशु विज्ञान र मत्स्य विज्ञानलाई Faculty of veterinary science, animal science and fisheries अन्तरगत राखेको छ भने कृषिका लागि छुट्टै Faculty of Agriculture को व्यवस्था गरेको छ । त्यस्तै नेपाल कृषि अनुसन्धान परिषदले पनि पशुपालन र मत्स्य पालनलाई राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान अन्तरगत राखेको छ भने कृषि क्षेत्रका लागि छुट्टै राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानको व्यवस्था गरेको छ ।

५) जीवविज्ञानको वैज्ञानिक वर्गिकरणलाई आधार मानेर हेर्दा : जिव जगतलाई मुख्यतया प्राणी जथत र वनश्पती जगतमा वर्गिकरण गरेको छ । पशु, पन्छी र माछा जिव जगत अन्तरगत पर्दछन भने अर्को तिर बाली, फलफुल, तरकारी लगायत वनश्पती वनश्पती जगत भित्र पर्दछन ।

६) अन्य विविध आधारहरु : मत्स्यपालनका व्यवस्थापकिय पक्षहरु (उत्पादनका लागि आवश्यक पर्ने ), नश्ल, आहारा, स्वास्थ्य, बजारीकरण समेतका हरेक कृयाकलापहरु पशुपंछीपालनसंग मिल्ने हुन्छ । उदाहरणका लागि तरकारी बिक्रि पसलमा कहिले पनि माछा बिक्रि गरेर राखिदैन बरु माछा मासु संगै राख्न सकिन्छ । बाली, तरकारी, फलफुल र माछाको ढुवानी र भण्डारण संगै हुनै सक्दैन तर माछा मासुको ढुवानी र भण्डारणका सम्बन्धमा धेरथोर समानता पाइन्छ । पशुपन्छी र माछामा हुने रोग र रोगका उपचार, निदान पद्धतीमा समेत सारभुत रुपमा समानता रहेको छ । त्यस्तै माछा र पशुपन्छीका लागि प्रयोग गरिने दाना, आहारा एउटै हुन्छ, यसमा केवल क्रुड प्रोटिन र अन्य पौष्टिक तत्वको मात्रामा मात्र भिन्नता पाइन्छ । अर्को तर्फ बालिनालीका लागि आहाराका रुपमा माटोमा नाइट्रोजन, पोटासियम, फस्फोरस लगायतका अन्य आवश्यक तत्वहरु आवश्यक पर्दछ ।

माथी उल्लेखित अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय अभ्यास , राष्ट्रिय कानून र अभ्यास, वैज्ञानिक आधार र अन्य तथ्यहरुबाट मत्स्यपालन र पशुपालनलाई एउटै संरचना भित्र राख्नु पर्ने कुराको पुष्टी गर्दछ । त्यसकारण हाल भैरहेको कृषि तथा पशुपालन क्षेत्रको पनर्सरचनामा पशुपालन र मत्स्यपालनलाई एउटै संरचना भित्र राख्नु पर्दछ ।

नेपाली जनताले अब यो मुलुकमा विकास र संमृद्धि चाहेका छन । हामी यति खेर संघीय प्रणाली अनुकुल संरचनाको निर्माण गरिरहेको सन्दर्भमा विगतका कमिकमजोरीलाई हटाउदै व्यक्तिगत र सानो समूहको स्वार्थमा नलागि खुला हृदयले मुलुकलाई केन्द्रमा राख्न अत्यन्त जरुरी भएको छ । – डा नरेश प्रसाद जोशी (सदस्य, नेपाल पशु चिकित्सा परिषद)

प्रकाशित मिति: आइतवार, पुस २, २०७४