शुक्रबार, चैत्र १६, २०८०

मकैखेतीप्रति कृषकको आकर्षण बढ्दो

विराटनगर, चैत । मकैको उच्च मूल्य पाएपछि यतिखेर मोरङका किसान खुसी छन् । किसानको घरदैलोमै आएर व्यापारीले उच्च मूल्यमा मकै खरिद गर्न थालेपछि यहाँका किसान खुसी भएका हुन् ।
आम्दानीको राम्रो स्रोतका रूपमा मकै हुन थालेपछि मोरङका किसान वर्णशंकर (हाइब्रिड) जातको मकैखेती प्रति आर्कषित हुुन थालेका छन् । परम्परागत अन्नबाली भन्दा राम्रो आम्दानी हुुन थालेपछि यस क्षेत्रका किसानले व्यावसायिक रूपमा वर्णशंकर जातको मकैखेती गर्न थालेका हुुन ।
चार पाँचवर्ष अघि करेसाबारीमा सामान्य खान तथा खाजाको लागि मात्र लगाइने मकै अहिले जग्गा भाडामा लिएर भएपनि व्यावसायिक रूपमा यसको खेतीगर्न थालेका छन् । जहदा गाउँपालिका –७ का किसान रामकुमार यादवले गतवर्ष मकैखेतीबाट रु दुई लाख ७५ हजार आम्दानी गर्न सफल भएको छ ।
घोेगा र छोड्याएको मकै खरिद गर्न व्यापारी घरखेतमै आउन थालेपछि यस पटक थप अर्को जग्गामा उखुुखेती छाडेर मकैखेती लगाएको किसान यादवको भनाइ छ । एक बिघा जग्गामा मकै लगाउँदा सबै खर्च कटाएर रु एक लाख भन्दा बढी मुनाफा हुने गरेको उनले बताए । मोरङमा हिउँदे र बर्खे मौसममा मकै लगाए पनि हिउँदमा लगाइने मकैबाट किसानले बढी आम्दानी लिइने गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत्र २४, २०७४