बिहिबार, बैशाख १३, २०८१

भक्तपुर जु जु धौ खान अयोग्य

भक्तपुर,पुस । सूर्यविनायक नगरपालिकाले सूर्यविनायक र जगाते क्षेत्रमा सञ्चालित दूध तथा दूधजन्य पदार्थ उत्पादन एवं बिक्री गर्ने डेरीहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सूर्यविनायक नगरपालिका ८ सूर्यविनायकमा मनोज श्रेष्ठले सञ्चालन गरेको रानीकोट दूध डेरी अत्यन्तै फोहोर र दर्ता विना नै सञ्चालन भएको पाइएको छ ।

उक्त डेरी नगरपालिकामा दर्ता नै नगरी सञ्चालन भएको, दूधमा फोहोर भेटिएको, ढुसी आएको पनिर र नौनी बिक्री गरिरहेको, दही ढुसी आएको र दूध तताउने एवं दही बनाउने ठाउँ समेत अत्यन्तै फोहोर भएको भेटिएको छ ।

बोर्ड र मूल्य सूची समेत नराखी दूर्घन्धित रुपमा सञ्चालित उक्त डेरीको ढुसी आएको सामाग्री नष्ट गर्दै एकसाता भित्र दर्ता गरि सुधार गर्न निर्देशन दिएको छ ।

त्यसैगरि नगरपालिकाका अधिकृत अनिरुद्र नेपालको नेतृत्वमा नगरपालिकाका पूर्णचन्द्र शर्मा, विश्वराम नगरकोटी, बसन्त चापागाई, शोभा घिमिरे, सुमित्रा थापा, कर्णाश्वर आचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, रामचन्द्र सापकोटा लगायत सञ्चारकर्मी सहितको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनमा सूर्यविनायक नपा ८ जगातीमा सञ्चालित पुरानो भक्तपुर जु जु धौ सेन्टरमा ढुसी आएको १४ लिटर दही नष्ट गरेको छ । दूध तताउने ठाउँमा फोहोर तथा कुखुरापालन गरेको, ढुसी आएको दही तथा पनिर बिक्रीमा राखेको, फोहोर ठाउँमा दही जमाएको, दर्ता एवं नविकरण नगरेको पाई पछि दही नष्ठ गर्नुका साथै एकसाता भित्र सबै सुधार गर्न निर्देशन दिएको छ ।

त्यस्तै भक्तपुर जुजु धौ सेन्टर दर्ता एवं नविकरण नभएको र घ्यूमा लेवल समेत नभएको र सूर्यविनायक नगरपालिका ६ मा सञ्चालित जय श्रीकृष्ण डेरीले दर्ता नविकरण नगरेको तर सफा रुपमा संचालन गरेको पाईएको थियो ।

नगरपालिकाले अनियमित रुपमा सञ्चालित र अखाद्य बस्तु मिसावट गरिएको डेरीहरुलाई कारबाही गर्नेगरी नीति लिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो । नगरपालिकाले हरेक क्षेत्रको अनुगमनलाई निरन्तरता दिने बताउदै नियमसंगत रुपमा सञ्चालन गर्न सबै व्यवसायीलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: सोमवार, पुस २३, २०७५