शनिबार, बैशाख ८, २०८१

बाह्य पदार्थको प्रयोगमा आधारित बनाउदा किसान झन् गरिव

अहिले विश्वमा मुख्यत दुई किसिमको उत्पादन प्रणाली छ । एकथरी उत्पादन पूँजिवादी निगमीय नवउदारवादी मान्यतामा आधारित छ जुन विश्वमा अहिले हावी मानिन्छ । यि व्यक्ति र संस्था उत्पादन बढाउन बाह्य रसायनिक मल, विषादी, आनुवांशिक विउ र यन्त्रको प्रयोग गर्नेमा जोड दिन्छन् । कृषिको औद्योगीकरण, व्यापारीकरण र निगमीयकरणको कुरा गर्दछन् । तर अर्कोथरी यस्तो उत्पादन प्रणालीको विरोध गर्दछन् । त्यस्तो कृषिले वातावरण, माटो, मानव स्वास्थ्य विगारेको मात्र होइन यसले केही धनी किसान र कम्पनीलाई मात्र फाइदा पुगेको यिनीहरुको तर्क छ । न त यस्तो कृषिले दिगो रुपमा उत्पादन बढाएको न त विश्वका बहुसंख्यक साना किसानको हित गरेको उनीहरुको निष्कर्र्ष छ । यसैको विकल्प खोज्ने क्रममा पर्यावरणीय कृषिको जन्म भएको हो । प्राकृतिक, जैविक र किसानकेन्द्रित तवरले पनि उत्पादन बढाउन सकिन्छ । खाद्यान्न माथिको नाफा र राजनीतिको विरोधबाट जन्म भएको यस अवधारणाको प्रगतिशील र वर्गीय पक्षधरहरुले वकालत गर्दछन् । कृषिलाई बाह्य पदार्थको प्रयोगमा आधारीत बनाउदा किसान झन् गरिव बन्छन् र कृषिलाई नाफामुखी होइन आत्मनिर्भर बनाउनुपर्छ भन्ने पर्यावरणीय कृषिको मान्यता रहेको छ ।
पर्यावरणीय कृषि अहिले तातो विषय बनेको छ । अरु भन्दा पनि केहि समय अघि व्यापारिक कृषिको कुरा गर्नेहरु, हरित क्रान्ति र आनुवांशिक क्रान्तिका पक्षधरहरु, बहुराष्ट्रिय निगमका मालिकहरु, रसायनिक खेतीको वकालत गर्नेहरुले समेत अहिले कृषि पर्यावरणका कुरा गर्दा अचम्म पनि लाग्दछ । तर यसका विविध कारण र आयाम छन् । यसको प्रमुख कारण रसायनिक खेती, औद्योगिक कृषि तथा हरितक्रान्तिका छरपष्ट नकारात्मक प्रभावका कारण दिगो कृषिको मुद्दा प्रमुख बन्नु हो । अझ महत्वपूर्ण कारण गरिवी निवारण, उत्पादकत्व बृद्धि र स्वच्छता स्वस्थताको लागि साना किसानको हित अनुकुलको कृषिका सवालहरुको मुल प्रवाहीकरण तथा केन्द्रीकरण हुनु नै हो । खाद्य सम्प्रभुताको मुलप्रवाहीकरणसँगै कृषि पर्यावरणको मुद्दाले महत्व पाँउदा अहिले जताततै यसको चर्चा छ । तर कतिपयले कृषि पर्यावरणको परिभाषा आफ्नो अनुकुल पनि बनाउन लागि परेका छन् भने कतिपय कसरी फेरी नयाँ बहानामा व्यापार बढाउन, नाफा कमाउन तथा विश्वका साना किसान तथा ग्रामीण क्षेत्रका जनताको शोषण गर्न सकिन्छ भन्ने हिसावले पनि कृषि पर्यावरणको कुरा गर्दै छन् । त्यसैले पनि विभिन्न व्यक्ति र समुह पर्यावरणीय कृषिको आफ्नो अनुकुल ब्याख्या गर्दछन् ।
के हो त पर्यावरणीय कृषि ?
वेब्स्टर शव्दकोषले पर्यावरणीय विज्ञानका अवधारणा र सिद्धान्त अनुरुप दिगो कृषि प्रणालीको अभ्यास, विकास र व्यवस्थापन गरिने कृषि पर्यावरणीय कृषि हो भनी परिभाषित गर्दछ । यसको अर्थ पर्यावरणीय कृषिले उत्पादनमा मात्र नभइ वातावरणीय दिगोपन र सामाजिक संवेदनशीलतामा पक्षलाई समेत ओगटेको हुन्छ भन्ने हो । पर्यावरणीय कृषिको प्रमुख अभियन्ता विश्वव्यापी किसान संजाल लाभिया क्याम्पेशिनाका अनुसार यो पृथ्वी वा धर्तीमाताको सम्मान र सन्तुलनमा गरिने कृषि हो जस्ले किसान हीत तथा प्राकृतिक स्रोतको दिगो र न्यायोचित प्रयोगलाई जोड दिन्छ ।
पर्यावरणीय कृषि, कृषि प्रणालीको त्यो सिद्धान्त हो जसले औद्योगिक निगमीय कृषि, प्राकृतिक स्रोतको नीजिकरण, हानिकारक बाह्य लागत, खाद्यान्नको व्यापारीकरण, स्थानीय विउविजनको नाश, भुमि तथा अन्य उत्पादनका साधनबाट किसानको बेदखल लगायत जलवायु परिवर्तनको कारणका बहुआयामिक पक्षलाई समेटेको हुन्छ । त्यसैले यो बहुआयामिक, समग्र तथा राजनितिक अवधारणा हो । यसले साना किसान तथा विश्वका सर्वाहारा सिमान्तीकृत वर्गको प्रतिनिधित्व गर्दछ । यो पूजिवादी नाफामुखि कृषि प्रणालीको विरुद्धको आत्मनिर्भर कृषिमा जोड दिने अभ्यास पनि हो । यसलाई स्थानीय संज्ञान र सांस्कृतिक अभ्यासको जगमा तथा निगमीय रसायनिक खेतिको विपक्षको संघर्षमा गरिने साना किसान केन्द्रित दिगो र आत्मनिर्भर कृषि भनी बुझ्न सकिन्छ । यो जनस्तरबाट विकसीत तथा विश्वभर अभ्यासमा रहेको हुनाले यसका स्वरुपहरु अनेक हुनु तथा यसलाई स्थानीय किसानले फरक फरक रुपमा बुभ्ने तथा अभ्यास गर्ने गर्दछन् जुन यसको व्यापकता हो ।
कसै कसैले कृषि पर्यावरणलाई लामो समयदेखि परम्परागत रुपमा गर्दै आएको खेतीको रुपमा पनि परिभाषित गर्दछन् । यो बुझाइ अपूर्ण छ र कतिपयले यसरी कृषि पर्यावरणको महत्वलाई नजरअन्दाज गर्ने पनि गर्दछन् । पर्यावरणीय खेति र प्राङारिक खेतीमा पनि फरक छ । पर्यावरणीय खेती र परम्परागत खेतीमा पनि भिन्नता छ ।
यो कुरा साँचो हो कि पर्यावरणीय कृषि कुनै आविष्कार होइन । नयाँ अभ्यास होइन । यो हामीले १०००० वर्ष भन्दा बढी कृषिको अभ्यास गर्दा संकलित ज्ञानको प्रयोग, प्रकृतिको सम्मान तथा आजको उत्पादन र मानवीय आवश्यकता परिपूर्तिको समग्र पक्ष समेटि गरिने खेती हो । यो जैविकीय, दिगो, परम्परागत कृषि पनि हो तर यसले आजको विज्ञानको पनि महत्वपूर्ण पक्ष समेटेको छ । मात्र रसायनिक पदार्थको प्रयोग नगर्ने कृषि होइन । यसका विविध तत्व र पक्ष छन् । कृषि पर्यावरण दिगो खेतिको अभ्यास हो । तर यो फेरी यहाँ बुझ्नुपर्ने कुरा यो विधि मात्र होइन । यो कृषि प्रणालीमा किसानको आत्मनिर्णय र किसान कल्याण हुनुपर्छ भन्ने राजनीतिक संघर्ष पनि हो । यो खाद्य सम्प्रभुता प्राप्तिको लागि स्थानीय स्तरमा जनताद्वारा गरिएको संघर्षको एक स्वरुप हो । यो कृषि विकास र सर्वाहाराको कल्याण आन्दोलन वा साना किसानको आफ्नो सम्प्रभुताको संघर्ष पनि हो र यसले कृषिलाई किसान अधिकारबादी दृष्टिले हेर्दछ । अझ यसलाई हरित क्रान्ति र आनुवांशिक खेतीको विरुद्धको संघर्ष भन्न सकिन्छ । यो किसान मैत्रि तवरले पनि उत्पादन बढाउन सकिन्छ भन्ने मान्यतामा आधारित छ । ब्राजिलका किसानहरु सयौं बर्षदेखि बहुवाली कृषि बन अभ्यासबाट उत्पादन बढाउने तथा बाह्य लागत शुन्य बनाउने गर्दै आएका छन् । भारत लगायत दक्षिण एशियाली क्षेत्रमा अहिले सुवास पालेकरको जिरो बजेट प्राकृतिक खेतीको रुपमा पनि यो परिचित छ । क्युवाका किसानहरुले यसलाई आत्मनिर्भर कृषिको रुपमा अपनाएका छन् । नेपालमा हामी यसलाई कृषि पशुपालनमा आधारित मिश्रीत वा बशुवाली प्रणालीको माध्यमबाट बाह्य रयासनको प्रयोग विना नै खेती गर्दै आएका छौं । यो तिनै जनस्तरबाट विकसित उत्पादन बढाउने तथा प्रकृतिको सामिप्यमा गरिने खेतीका अभ्यास हो । – प्रमेश पोख्रेल

प्रकाशित मिति: आइतवार, बैशाख २, २०७५