बिहिबार, बैशाख ६, २०८१

बासमती धानको बीउ पनि मासियो

उदयपुर, ७ पुस । बोटमै मगमग बासना आउने स्वादिलो चामलका रूपमा लिइने कालो बास्मती धानको खेती हुन छाडेपछि उदयपुरका गाउँघरबाट यो धान प्रायः लोप नै हुन पुगेको छ । तराई र भित्री मधेसमा यसको छुट्टै पहिचान भए पनि बढी मेहेनत र अन्य जातको धानको तुलनामा कम उत्पादन हुने भएकाले किसानले कालो बास्मती धानको खेती गर्न छोडेको गाउँघरका किसान बताउँछन् ।
युरियालगायतका कम्पोष्ट मलको बढ्दो प्रयोगका कारण बास्मती धानको बास्ना आउन नै छोडिसकेको छ । त्यसमा पनि कालो बास्मती त कृषकले लगाउनै छोडिसकेकाले उदयपुर जिल्लाबाट यो धान पूरै लोप भइसकेको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रामसेवक ठाकुरका अनुसार जिल्लाका अधिकांश कृषकले कम लगानीमा बढी उत्पादन हुने मन्सुलीलगायतका हाइब्रिड धानको खेती गर्ने गरेको कालो बास्मतीलगायतका स्थानीय प्रजातिका अन्य धानहरू लोप हुँदै गएको हो ।
बजारमा अन्य जातको धानको चामलभन्दा कालो बास्मती धानको चामलको मूल्य तीन गुणा बढी भए पनि मेहेनत र लगानीको अनुपातमा कम उत्पादन हुने हुँदा यो धानको खेती नगन्य मात्रामा हुने गरेको चौदण्डीगढी नगरपालिका १० हडिया का कृषक तनुकलाल चौधरीले बताए । उदयपुरका अधिकांश धान फल्ने खेतमा सिँचाइको सुविधा नभएको र कालो धान ढिलो पाक्ने भएकाले यसका लागि सिँचाइको व्यवस्था भएको जमिन चाहिने हुँदा आकाशेपानीको भरमा यसको उत्पादन नहुने भएकैले कृषकहरूले यसको खेती गर्न छोडेको त्रियुगा नगरपालिका–२ जोगीदहका कृषक रविलाल चौधरी बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४