शुक्रबार, चैत्र १६, २०८०

बगैँचामै स्याउ बेच्न भ्याई नभ्याई

मान्म, भाद्र । कालिकोटको स्याउले मूल्य पाउन थालेपछि स्याउ किसान खुसी भएका छन् । आफूले लगाएको बारीमा नै स्याउको राम्रो मूल्य पाएपछि उनीहरू उत्साहित भएका हुन् । कालिकोटमा पाइने अर्गानिक स्याउ अहिले बोटमै ६० रुपियाँ केजीमा बिक्री भएपछि स्याउले राम्रो मूल्य पाएको भन्दै किसान खुसी भएका हुन् । पहिले गाउँबाट कर्णाली राजमार्गसम्म र राजमार्गदेखि सदरमुकाम मान्म बजारसम्म ल्याउँदा २५ देखि ३० रुपियाँँमा बिक्री गर्न बाध्य स्याउ किसान अहिले बोटमै ६० रुपियाँ प्रतिकेजीमा बिक्री गर्न थालेका हुन् ।
अहिले जिल्लादेखि जिल्ला बाहिरका स्याउ व्यापारीले किसानको बगँैचामै गएर स्याउ किन्ने गरेका छन् । यो पटक फल्ने स्याउको क्षेत्रफल र स्याउ उत्पादनका हिसाबले बढेको छ । अहिले किसानले स्याउ बेच्नकै लागि बजार धाउनु परेको छैन । यो समयमा कर्णाली राजमार्ग र मान्म बजारमा स्याउ बेच्नेको घुइँचो लाग्ने गरे पनि यो वर्ष भने घुइँचो कम छ । अहिले स्याउले बारीमा नै मूल्य पाएपछि स्याउ किसानलाई बगैँचामै स्याउ बेच्न भ्याई नभ्याई छ ।
बोटमै भनेबमोजिमको मूल्यमा स्याउ बेच्न पाएपछि दुःख गरेर बजारसम्म पु¥याउनुपर्ने बाध्यता हटेको छ । आजभोलि व्यापारीहरू किसानको बारीमा नै पुगेर स्याउ किन्ने गरेको र स्याउबाली राम्रो भएका कारणले स्याउँबाट किसानले राम्रो आम्दानी लिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । किसानले स्याउँ बेच्नकै लागि बजार जानु परेको छैन । उनले भने, व्यापारीहरू स्याउ किन्नका लागि किसानहरूकै घरमा आउन थालेका छन् । विगतका दिनमा स्याउ बिक्री गर्नका लागि राजमार्गमा स्याउँ पु¥याउनुपर्ने आफूले भनेको मूल्य नपाउने गरेकोमा यो वर्ष भने स्याउ बारीमा नै व्यापारी स्याउ किन्न थालेको तिलागुफा नगरपालिका–४ फोइमहादेवका किसान नरपति कटुवालले बताए । स्याउ बारीमा नै व्यापारीहरू स्याउ किन्न आउने गरेका छन् । स्याउको मूल्य पनि राम्रो दिएका छन् । उनले भने, अहिले बारीमा नै व्यापारीहरूले ६० रुपियाँ प्रतिकेजी दिने गरेका छन् । कसैले नगद दिएर स्याउ स्टोरमा राखिदिनु भन्छन् त कसैले बगैँचामै पुगेर स्याउ उठाएर लैजान्छन् कटुवालले भने ।
स्याउ किसानले राम्रो मूल्यमा स्याउ बिक्री हुन थालेपछि किसानको आम्दानी वृद्धि भएको र किसानलाई सहुलियतमा स्याउ बिरुवा वितरण गर्न थालिएको तिलागुफा नगरपालिका प्रमुख शाहीले बताए । कालिकोटको आम्दानीको स्रोत नै स्याउ बाली हो, उनले भने, हामीले स्याउका बिरुवामा अनुदानसमेत दिएका छौँ ।
गत वर्षको तुलनामा अहिले तिलागुफा नगरपालिकामा दस हजार मेट्रिक टन र अन्य ठाउँमा दुई हजार मेट्रिक टन स्याउ फलेको साविकको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । तिलागुफा नगरपालिकामा यस आर्थिक वर्षमा स्याउ बाली लगाएको क्षेत्रमा ८० प्रतिशत स्याउ फलेको र दस हजार मेट्रिक टन स्याउ उत्पादन भएको तिलागुफा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद देवकोटाले बताए । स्याउ बाली लगाएको क्षेत्रमा ८० प्रतिशत स्याउका बिरुवाले दाना दिएको छ । उनले भने, हाम्रो नगरपालिकामा दस हजार मेट्रिक टन स्याउ फलेको अनुमान गरेका छौँ ।
जिल्लाका अन्य स्थानीय तहहरूमध्ये खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका क्षेत्रमा करिब दुई हजार मेट्रिक टन स्याउ फलेको साविकको जिल्ला कृषि विकास कार्यालय कालिकोटका बागवानी अधिकृत भक्तिराम शर्माले बताए । सबैभन्दा बढी तिलागुफा नगरपालिकामा स्याउ फलेको छ । उनले भने, त्योभन्दा अन्य क्षेत्रमा कमै स्याउ फलेको छ । कालिकोटको इतिहासमै बोटमा ६० रुपियाँ केजीमा स्याउ किसानले बेचेको यो पहिलोपटक हो । गत वर्ष प्रतिकेजी २५ देखि ३० रुपियाँ स्याउको किनबेच भइरहेको थियो ।

प्रकाशित मिति: बिहिबार, भदौ २१, २०७५