बिहिबार, चैत्र १५, २०८०

फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी

लमजुङ, कार्तिक । ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन । बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लागेकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झरेकी हुमा शुरुमा एउटा निजी विद्यालयमा पढाउँथिन् । केही वर्ष पढाएर गुरुङले एउटा गैरसरकारी सस्थामा काम गरिन् । त्यहाँको जागिर पनि छोडेर गुरुङले तीन वर्षअघिबाट पुष्प व्यावसाय शुरु गरेकी हुन् ।
पुष्प व्यवसाय शुरु गरेकी गुरुङ जिल्लामै एक्लो हो । उनले यसलाई सम्भावनाको पेशाका रूपमा चिनाएकी छिन् । शुरुमा फूल व्यवसाय पनि हुन्छ र ? भनेर गुरुङको खिल्ली उडाउनेहरू अहिले उनकै नर्सरीमा फूल किन्न पुग्ने गर्दछन् । “फूलको पनि खेती हुन्छ र भन्नेहरू अहिले सबैभन्दा महँगो फूल किन्न आउने गरेका छन्,” गुरुङ भन्छिन् ।
पुष्प व्यवसायबाट नैै मासिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्न सकेको उनले बताइन् । फूल, बिरुवा, दुवो र बगैँचा सजावटबाट नै मनग्य आम्दानी हुने गरेको गुरुङको भनाइ छ । “एकै दिनमा डेढलाख रुपैयाँसम्मको फूल बिक्री गरेकी छु”, उनले भनिन्, “अरु बेला सामान्यतया दैनिक रु पाँच हजारदेखि रु दश हजारसम्म बिक्री हुन्छ ।”
करिब आठ रोपनी जमिनमा उनले मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गर्दै आएकी छिन् ।उनले पछिल्लो समय दुवोको समेत व्यवसाय शुरु गरेकी छिन् । तिहार लक्षित गरेर गुरुङले तीन रोपनी जग्गामा सयपत्री जातको फूल खेती गरेकी थिइन् । तर तिहार अगावै सबै फूल बिक्री भयो । सो बाहेक धूपी, अशोका, क्रिसमस ट्री, सप्लेरिया लगायतका आकर्षक बिरुवा नर्सरीमा राखेकी छिन् । उनले आफ्नो नर्सरीबाट फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी पूmलका बिरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका बिरुवा बिक्री गर्दै आएकी छिन् ।
फूलको प्रजाति, विशेषता आदिका बारेमा प्रशिक्षण लिँदै अर्को मौसमका लागि बिरुवा उमार्ने तयारीमा गुरुङ रहेकी छिन् । फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि उनले झण्डै रु ५० लाख लगानी गरिसकेको बताउँछिन् । – ¬सन्देश पौडेल

प्रकाशित मिति: मङ्लबार, कार्तिक २८, २०७४