बिहिबार, चैत्र १५, २०८०

फूल बेचेरै प्रशस्तै आम्दानी गर्न सकिन्छ

kumar kasaju shrestha

कुमार कसजु श्रेष्ठ
अध्यक्ष
फ्लोरिकल्चर एशोसिएसन नेपाल

० नेपालको पुष्प व्यवसायलाई व्यवसायिक भन्न मिल्ला ?
गतवर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालमा पुष्प व्यवसायमा ५ अर्वको लगानी रहेको छ । भने ७ सय व्यवसायीहरु सक्रिय अवस्थामा रहेका छन् । यसलाई हेर्ने हो भने मुलुकभर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ४० हजारले रोजगारी पाईरहेको छन् । त्यस्तै पुष्प उत्पादको क्षेत्रफल समेत १५० हेक्टर जमीन ओगट्नुका साथै ग्रामिण रोगजारीका लागि पनि महत्वपूर्ण भूमिका खेलेका कारण पुष्प व्यवसाय व्यवसायिक रुपमा अगाडि बढिरहेको छ भन्दा ठिक हुनछ होला । विगतको पुष्प व्यवसाय र पछिल्लो समयलाई हेर्ने हो भने यो व्यवसायले बेग्लै छलाङ्ग मारिरहेको देखिन्छ । त्यत्रिमात्र होइन अहिले पुष्प व्यवसायमा बढी भन्दा बढी युवा पुस्ताहरु नै आकर्षित रहेको देखिन्छ ।
० युवा पुस्ताहरु किन आकर्षित भएका होलान् त ?
प्रविधिको विस्तारसँगै पुष्प व्यवसायमा पनि नयां नयाँ प्रविधिको विकास हुँदै जानु र यो अरु उत्पादन भन्दा उच्च मूल्यका बस्तु भएका कारण कृषि क्षेत्रमा उत्कृष्ट व्यवसाय भएकाले पनि यस्तो भएको छ । त्यस्तै पुष्प व्यवसाय भनेको खुशीको व्यवसाय पनि हो । व्यक्तिहरुलाई आनन्दित तुल्याउने चीज भनेको नै पुष्प हो । यो ग्ल्यामर चीज भएको कारणले गर्दा पनि यो क्षेत्रमा युवा पुस्ताहरुको आकर्षण भएको देखिन्छ ।
० पुष्प व्यवसायको प्रवद्र्धनका लागि सरकारसंग गरिएको साझेदारी कार्यक्रममा बेला बेलामा विवाद आउने गर्दछ किन होला ?
२०४९ सालमा फ्लोरिकल्चर एशोसिएसन नेपाल स्थापना भईसकेपछि पुष्प व्यवसायलाई मर्यादित व्यवसाय बनाउनका लागि जिल्ला कृषि विकास कार्यालय र यसका सरोकार राख्ने निकायहरुसँग सहकार्य गर्दै मेला, प्रर्दशनी गर्दै आईरहेको छ । बस्तुगत रुपमा हेर्ने हो भने २०६२ पछाडि यो व्यवसायलाई पनि सरकारले स्वामित्व ग्रहण गर्नु पर्दछ भन्ने हेतुले पुष्प नीति हामीले ड्राफ्ट गरेका थियौं । जुन २०६९ मा मन्त्रीपरिषद्बाट स्वीकृत भएर आईसकेपछि सरकारी निकाय विशेष गरी कृषि विकास मन्त्रालयसंग कार्यविधि नै बनाएर हामी अगाडि बढेका हौ । अहिलेको पुष्प व्यवसाय प्रर्वद्धनका लागि सरकारले नगरी नहुने विषयमा भनेको प्रविधि हो र प्रविधिमा सरकारले लगानी गर्नु पर्दछ प्रविधिको विकास गर्न सकिएन भने अन्तर्राष्ट्रिय रुपमा हामी पुष्प बजारमा प्रतिष्पर्धी हुन सक्दैनौ भन्ने निचोड पनि आयो । त्यससँगै नेपालको रैथाने फूलहरुको बोट विरुवाको संकलन र प्रवद्र्धन गर्ने र त्यसको व्यवसायिकरण गर्ने भन्ने कुरा भएकै कारण हामीले सरकारसंग लागत साझेदारीमा काम गरिरहेका छौं । विशेष गरी तीनवटा कुरामा साझेदारी कार्यक्रम भएको छ । पहिलो पूर्वाधार विकास दोस्रो अध्ययन र अनुसन्धान र तेस्रो व्ययवाय प्रवद्र्धनका लागि मेला प्रर्दशनी गर्ने भन्ने हो । ती काम गर्दा नेपाल सरकारका पदाधिकारीहरु र फ्लोरिकल्चर एशोसिएसनका पदाधिकारीहरु वीच वैचारिक रुपमा सामजञ्यता नहुँदा खेरी कहिले कांही विवाद हुने कुरा चर्चामा आएका होलान् । बैचारिक रुपमा भएका विवादले अझै परिस्कृत हुन सक्छौं ।
० किन भयो त वैचारिक रुपमा विवाद ?
पुराना पुस्ताहरुले फूलको बारेमा नबुझिरहेको अवस्थाले पनि कहिले कांही विवाद हुन्छ नै । फूलको विषयलाई प्राथमिकतामा नराखेका कारण हाम्रो व्यवसायलाई अपहेलित गरियो हामी अपहेलित भयौं भन्ने हिसावले पनि हुने गर्दछ । पुष्प व्यवसायले अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्नका लागि पनि महत्वपूर्ण छ र स्वरोजगारका कुरा जोडिन्छ भन्दै आईरहेका छौं । पछिल्लो समयमा सरोकारवाला सरकारी निकायमा युवा पुस्ताहरु आईरहेका कारण उहाँहरुले बुझ्दै आईरहनु भएको छ । नेपाल सरकारले नै पुष्प व्यवसायको प्रवद्र्धन गर्नका लागि पुष्प विकास केन्द्र स्थापना गरेको छ । तर जवसम्म पुष्प विज्ञहरु हामीले त्यो ठाउँमा पु¥याउन सक्दैनौं तवसम्म यस्ता कुराहरु पनि चर्चा र बहसका कुरा बन्छन् । जसलाई विवादका रुपमा लिइएको हुन सक्छ ।
० पुष्प व्यवसायीहरुले सरकारी अनुदान लिने तर विदेशबाट आयात गरेर ढांट्ने काम पनि गरिरहेको छ भन्छन् नि सत्य हो ?
कृषि विकास मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट समेत यस्ता कुरा नआएका होइनन् । तर, हरेक तीन तीन महिनामा उहाँहरुले नेपालको पुष्प व्यवसाय गरिरहेका फार्महरु अनुगमन गर्ने र नेपालको पुष्प उत्पादनको अवस्था कस्तो छ ? समस्या के छ भन्ने कुरा बुझिदिनु पर्दछ भन्ने हाम्रो भनाई हो । बजारमा चर्चा भएको कुरालाई होइन भन्न सकिंदैन । खास कुरा के हो भने विशेष पर्वहरुका हामीले पुष्प आयात गर्नु नै पर्दछ । नेपालको उत्पादन भएको पुष्प व्यवसायले धान्न सक्दैन । हामीले विगत १५ वर्षको तथ्यांक हेर्ने हो भने बजारको आवश्यकता अनुसार ८० प्रतिशत फूलहरु आयात गरिन्थ्यो । अहिले हेर्ने हो भने त्यो उल्टो भएको छ । ८० प्रतिशत मुलुकभित्रकै उत्पादनले माग पूर्ति गर्ने गरेका छौं भने २० प्रतिशत आयात भईरहेको छ ।
० २० प्रतिशत आयात के कारणले हुन्छ त ?
नेपालमा जाडो मौसममा हाम्रो विभिन्न चाडपर्वहरु पर्ने गरेका छन् । त्यही बेला नै फूलहरुको माग बढ्दो हुन्छ । तर भौगोलिक र वातावरणीय हिसवाले मंसिरदेखि फागुनसम्म चिसो हुने भएकोले फूलको उत्पादन घट्ने हुनाले केही फूलहरु त्यसबेला आयात हुन्छ । तर फूल बढी आयात हुने भनेर चर्चा भएको कुरालाई हेर्ने हो भने पनि तिहारमा सयपत्री फूलको माला भ्यालेण्टाइन डेको बेलामा रोज फूल बढी आयात हुने गर्दछ । उत्पादनका हिसावले सयपत्री फूलको उर्वर ठाउँमा छौ तर पनि आम किसानहरु अन्य बालीमा बढी आकर्षित भएको र फूल उत्पादन नगर्ने भएकाले पनि सयपत्री बढी आएको हो । फूल बेचेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुरा किसानले विश्वास नै गर्दैनन् । फूल खेतीमा किसानहरु आकर्षित नभएपछि आयात बढ्नु स्वाभाविकै हो ।
० फूल उत्पादन गर्नका लागि किसानहरु किन आकर्षित भएनन् त ?
सवैभन्दा ठूलो कुरा के भयो भने । किसानहरुलाई पूm बेचेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुरा सचेतना कसैले गरिदिएको छैन । एक रोपनी जग्गामा मकै रोप्दा १० हजार आम्दानी गर्न सकिन्छ भने त्यही एक रोपनी जग्गामा फूल रोप्ने हो भने एक लाख कमाउन सकिन्छ । त्यो कुरा किसानलाई बुझाउन हामीले पनि सकेका छैनौं । हामी निजी क्षेत्रले मात्र किसानलाई बुझाउन सम्भव छैन । यसका लागि नेपाल सरकारका सम्वन्धीत निकायले किसानहरुलाई बुझाउने काम गर्नु पर्दछ । उत्पादन नै नहुने भएपनि हामी खाद्यान्नमा जोड दिएका छौं त्यही भएर पनि हामी निर्वाहमुखी कृषि गरिरहेका छौं । कृषि विकास मन्त्रालयको सिंहदरबारदेखि गाउँसम्म सञ्जाल भएका कारणले पनि ती भएका श्रोत र साधनलाई प्रयोग गर्न सकिरहेका छैनौं । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: बिहिबार, जेष्ठ २५, २०७४