शुक्रबार, चैत्र १६, २०८०

फूलखेतीबाट मनग्य आम्दानी

काभ्रे, कार्तिक । गाउँका युवा पैसा कामाउनकै लागि विदेश जाने लहर चलिरहेको बेला काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ नाला चुनातालका दुर्गानाथ दाहालले भने फूलखेती गरेरै महिनामा लाखौँं रुपैयाँ आम्दानी गरिरहेका छन् ।
दाहालले चुनातालमा रहेको आफ्नै बारीमा सयपत्री फूलखेती गरेर आम्दानीको स्रोत पहिल्याएका हुन् । उनले दुई रोपनी जग्गामा सयपत्री फूलको खेती गरेका छन् । तीन महिनमा नै फूल्ने उक्त फूलको बीउ थाइल्याण्डबाट मगाएर खेती थालनी गरेको उनले बताए ।
“पहिला पहिला घरवरीपरी बारीको कान्लातिर मात्रै रोप्ने गरेको थिए, अहिले व्यावसायिक रुपमा नै खेती गर्न थालेको छु,” दाहालले भने । शुरुवातमा २० ग्राम बीउबाट फूलखेती गरेका दाहाल यस खालको सयपत्री जात नेपालमा नपाइने भएकाले थाइल्याण्डबाट मगाएको बताउँछन् । “बीउ महंगो भए पनि राम्रोसँग फूल्ने भएकाले खेती गर्न जाँगर चलेको छ,” उनले बताए ।
नर्सरीमा एउटा बिरुवाको २० रुपैयाँ पर्छ । उनले एक हजार बोट लगाएका छन् । एउटा बोटबाट रु दुईसय देखि रु तीन सयसम्म कमाइ हुने दाहाल बताउँछन् । दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट तीन महिनामा रु दुई लाखदेखि रु तीन लाखसम्म कमाइ हुने अनुमान छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक ५, २०७४