शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्रीको सम्वोधनमा कृषि प्राथमिकतामा तर कार्यान्वयन होला ?

काठमाडौं, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै लकडाउनका समयमा पनि कृषि उत्पादनका लागि सहज व्यवस्था गर्ने बताएका छन् । कोरोना संक्रमणका कारण सरकारले लगाएको लकडाउनको समयमा अहिले कृषि खेती गर्ने समय भएकाले सामाजिक दुरी कायम गर्दै आधुनिक प्रविधिको प्रयोग गर्दै खेती गर्नका लागि आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्रीले ओलीले भने जस्तै अहिले किसानहरुले उत्पादन गरेका कृषि उपजहरु बजारीकरण हुन सकिरहेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय किसानका उत्पादनहरुको बजार व्यवस्थापन गर्न नसक्दा करोडौंको तरकारीहरु नोक्सान भईरहेको छ ।

यो अवस्थामा प्रधानमन्त्रीले जुन किसिमले कृषि उत्पादनका लागि आफ्नो सम्वोधनमा जोड दिएका छन् सो अनुरुप सहज हुन भने निकै नै कष्ट देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका कार्यालयहरुले किसान लक्षित कार्यक्रम कार्यान्वयन गर्न नसकेको वर्तमान समयमा प्रधानमन्त्रीको सम्वोधन कार्यान्वयन हुनेमा किसान आफैले जसो तसो गर्लान् तर राज्यका पक्षबाट किसानका हितका काम हुने संकेत देखिएको भने छैन ।

प्रधानमन्त्री ओलीले सम्वोधन कृषि क्षेत्रलाई यसरी जोड दिए
सरकारको नीति तथा कार्यक्रममा जोड दिइएअनुरुप खेतीपातीको याम खेर जान नदिन, सामाजिक दुरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अघि बढाइनेछ । समुदायमा संक्रमण फैलिन नदिन, मानिसको आवागमनलाई आवश्यक मात्रामा सीमित गर्नेगरी प्रशासनिक कडाइलाई भने कायमै राखिनेछ ।

कोरोना महामारीका कारण थपिन सक्ने गरिबी र बेरोजगारीलाई समाधान गर्न कृषि क्षेत्रको अहं‌ भूमिका हुने कुराप्रति सरकार सचेत छ । ठूलो मात्रामा आधुनिक यन्त्र र प्रविधिको प्रयोग गरी व्यावसायिक कृषि उत्पादनको कार्य अपेक्षित मात्रामा हुन नसक्नु, मेहनत तथा लगानी गर्ने उत्पादक र मूल्य तिरेर खरिद गर्ने उपभोक्ताको अहित हुने तर किसान र उपभोक्ताको बीचमा रहने बिचौलियाले भने अनुचित फाइदा उठाउनेजस्ता समस्या कृषि क्षेत्रमा रहेको आजको गम्भीर समस्या हो । यस समस्यालाई सम्बोधन गर्न आवश्यक ‘खाद्य वस्तुहरूको आयातलाई घटाउने, कृषिमा आत्मनिर्भर हुने, क्रमशः कृषि उत्पादनको निर्यात तीव्र पार्ने र कृषि क्षेत्रमा ठूलो मात्रामा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने’ कार्यक्रम हालै संसदबाट नीति तथा कार्यक्रमका रुपमा पारित गरिसकिएको छ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १२, २०७७