शुक्रबार, चैत्र १६, २०८०

पहिलो पुस्ताको आलुको बीउ उत्पादनबाट मनग्य आम्दानी

कञ्चनपुर, ३ पुस । शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् । कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहमा आबद्ध भएका यहाँका ८५ कृषकले आलुको टिपिएस (खास बीउ) बीउ उत्पादन गर्दै आएका हुन् । यसरी उत्पादन गरिएको बीउ मात्रै बिक्री गरी प्रतिकिसानले रु तीन लाखदेखि रु पाँच लाखसम्म वार्षिक आम्दानी लिँदै आएका हुन् ।
आलुको दानाबाट लाग्ने रोगले उत्पादनमा क्रमिक रूपमा ह्रास ल्याउने भएकाले बियाँबाट तयार पारिएको आलुको बीउले उत्पादन वृद्धि हुने, रोगप्रतिरोात्मक क्षमता बढ्ने र आलु बालीमा लाग्ने प्रमुख डढुवा रोग सहन सक्ने क्षमता हुने भएकाले खास बीउ उत्पादनमा लागेको सीताराम चौधरीले बताए।
बीउमा उम्रने शक्ति बढी हुने, आलुमा लाग्ने रोग नगन्य मात्रामा हुने भएकाले यहाँ उत्पादन भएको पहिलो पुस्ताको आलुको बीउ कृषक माझ निकै लोकप्रिय बनेको हो । बीउ आलुभन्दा बियाँबाट आलुखेती गर्दा बढी उत्पादन दिने, स्वादिलो हुने भएकाले आलुखेती विस्तारका लागि बियाँ बीउ एक विकल्पका रूपमा प्रयोग गर्न सकिने कृषक पुरन चौधरीले बताए ।
राष्ट्रिय आलुबाली विकास कार्यक्रमबाट उपलब्ध गराइएको स्रोत बियाँको बीउ प्रयोग गरी बीउ उत्पादन गर्दै आएको उनले उल्लेख गरे । “घाम लाग्ने सिँचाइ र निकासको राम्रो व्यवस्था भएको जग्गा छनोट गर्ने र नर्सरी राखी जैविक वा रासायनिक मल र बियाँ ब्याडमा राखेर बोट उत्पादन गर्दै आएका छौँ”, उनले भने, “बिरुवा उम्रेको २५ दिनपछि खेतीका लागि खेतमा आलुका बोट रोपिन्छ ।”
टिपिएस प्रविधिबाट कार्डिनल, जनकदेव र खुमलटार (रातो) जातका आलुका बिरुवा उत्पादन गरी आलुखेती यहाँका कृषकले गर्दै आएका छन् । जोनापुरका ४५ र पिपलाडीका ४० परिवार कृषि विकास कार्यालयबाट तालीम लिई एक दशकदेखि आलुको बीउ उत्पादनमा उनीहरू लागेका हुन् ।
विसं २०५७ देखि आलुको बीउ उत्पादनमा लागेका यहाँका कृषकले बार्षिक रूपमा ८० मेट्रिक टन बीउको आलु उत्पादन गर्दै आएको स्थानीय कृषक लक्ष्मण चौधरीले बताए । दश कट्ठादेखि एक बिगाहा जग्गामा यहाँका कृषकले आलुखेतीलाई निरन्तरता दिँदै आएका छन् । कूल २० हेक्टर क्षेत्रफलमा यहाँका कृषकले आलुको बीउ उत्पादन गर्दै आएको कृषि सेवा केन्द्र झलारीका प्राविधिक वीरबहादुर कुँवरले बताए ।
यहाँ उत्पादित आलुको बीउ कञ्चनपुरका भीमदत्तनगरपालिका, झलारी, देखतभूली, दैजी, कैलाली, दार्चुला र डोटीसम्म आपूर्ति हुने गरेको छ । व्यापारीले कृषकको घरमै पुगेर आलु खरिद गरेर लैजाने गरेकाले बजारको अभाव नरहेको वसन्ती चौधरीले बताए । बीउको आलुसँगै खाने आलु ४० मेट्रिक टन प्रतिवर्ष यहाँ उत्पादन हुँदै आएको छ ।
यसरी सिडलिङ्ग प्रविधिबाट उत्पादन गरिएको आलुको दाना पूर्णरूपमा निरोगी हुने भएकाले प्रतिहेक्टर १३ मेट्रिक टनसम्म उत्पादन हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।
रोग नियन्त्रणका लागि तालीम र शीतभण्डारको व्यवस्था नहुँदा उत्पादित आलुको बीउ भण्डार गर्न यहाँका कृषकलाई समस्या छ ।

प्रकाशित मिति: सोमवार, पुस ३, २०७४