शुक्रबार, बैशाख ७, २०८१

पशु औषधी व्यवसायी संघका अध्यक्ष नै गैरकानूनी काममा

काठमाडौं, माघ । नेपाल पशुपन्छी औषधी व्यवसायी संघ, नेपालका नवनिर्वाचित अध्यक्षबाट नै गैरकानूनी किमिसले पशु औषधीको कारोवार गर्दै आएको भेटिएको छ । कुखुराका लागि आवश्यक पर्ने एमिकोल नामक औषधी उनले गैरकानूनी तवरले ल्याएको बताइएको छ ।
पशु सेवा विभागबाट फिडसप्लिमेन्टको सिफारिस गराएर औषधी व्यवस्था विभागका उच्च कर्मचारीहरुसँगको मिलेमतो उनले सो औषधी भित्र्याएर विक्री वितरण गर्दै आईरहेका छन् । नेपालमा बजार व्यवस्था हेर्ने आधिकाकि नवरत्न मेडिकामेन्ट प्रालि उल्लेख गरिएको सो एमिकोल नामक पशु औषधीमा न त मूल्य उल्लेख गरिएको छ । न त उत्पादन मिति नै छ । त्यतिमात्र नभई औषधीको गुज्रने म्याद समेत उल्लेख गरिएको छैन ।
औषधीको मूल्य तथा म्याद सकिने अवधि समेत नभएको उक्त पशु औषधी अहिले बजारमा खुल्लम खुल्ला विक्री वितरण भईरहेको देखिन्छ ।
पशु औषधी व्यवसाय गर्नेहरुको संस्थाका आधिकारीक अध्यक्षले नै यस्ता हर्कत गर्न थालेपछि पशु औषधी आयात तथा विक्री वितरण गर्ने अरुले के गरेका होलान् । पशु औषधी आयात तथा विक्री वितरण एवं अनुगमन गर्ने निकाय औषधी व्यवस्था विभागका महानिर्देशकले एमिकोल ल्याउनका लागि सहयोग गरेको औषधी व्यवस्था विभाग श्रोतले बताएको छ । श्रोतका अनुसार पशु औषधीमा व्यवसायीहरुले फिड सप्लिमेन्टक नाममा औषधी नै ल्याउने र व्रम्हलुट गरिरहेने परिपाटी बनिसकेको देखिन्छ ।
औषधी व्यवस्था विभागमा पशु चिकित्सक नभएका कारण कुन औषधी हो कुन फिड सप्लिमेन्ट हो जानकारी नहुने र आर्थिक प्रलोभनमा औषधी व्यवस्था विभागका उच्च अधिकारी पर्ने गरेका कारण यो अवस्था आएको समेत बताइएको छ ।
औषधी व्यवस्था विभागका एक उच्च अधिकारीका अनुसार अहिले काठमाडौं उपत्यकामा रहेको अधिकांश वितरकहरु नै मापदण्ड विपरित र आयात रोक लगाइएका पशु औषधी विक्री वितरण गरिरहेका छन् । त्यसैक्रममा नवरत्नले आयात गरेको एमिकोल भएको उनले प्रष्ट पारे ।
एमिकोल कसरी भित्रियो भन्ने विषयमा नवरत्नका सञ्चालक एवं पशुपन्छी औषधी व्यवसायी संघका अध्यक्ष चित्रबहादुर गुरुङ्गले, ‘के अव व्यवसाय नै छाडौं त ?’ भन्ने जवाफ दिएका थिए । उनले आफूले ६ महिना अगाडि औषधी भित्र्याएको दावी समेत गरे । तर औषधीको गुज्रने म्यादको विषयमा, ‘म आफैले हाल्ने हो र’ भन्ने जवाफ दिएका थिए । के अध्यक्ष भन्दैमा मूल्य उल्लेख नगरिएको, उत्पादन एवं गुज्रने म्याद नभएको पशु औषधी वितरण गर्न पाइन्छ ? सो विषयमा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालसँग सम्पर्क हुन सकेको छैन ।
पशुपन्छी आयात तथा विक्री वितरणमा लामो समयदेखि हुनेगरको यस्ता प्रबृत्तिको अन्त्य गर्नका लागि सम्वन्धित निकायको ध्यान जानु आवश्यक छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०७४