नेपालमा रेशम खेती कसरी शुरु भयो ?

किम्बु बोटबाट आहार विकास गरी रेशम कीरापालनबाट प्राप्त कोया प्रशोधन गरी रेशम धागो उत्पादन गर्ने कार्यको एकीकृत रुपलाई नै रेशम खेती भनिन्छ । त्यसैले रेशम खेतीको छुट्टा छुट्टै तीन पक्षहरु छन् । किम्वु खेती (आहार विकास) कीरापालन तथा कोया उत्पादन र कोया प्रशोधन (रिलिङ्ग) रेशम जसलाई रेशाको रानी भनिन्छ । यो अति नै सुन्दर, मुलायम, चम्किलो र बलियो हुन्छ । रेशमको यिनै नै भौतिक एवं प्राकृतिक गुणहरुको कारणबाट यसको तुलनामा कुनै पनि कृत्रिम रेशाहरु ऋाउन सकेका छैनन् । एक पटक मानिसले रेशमको वस्त्र लगाईसके पछि यो वस्त्र लगाउँदाको आनन्द कहिल्यै भुल्न सक्दैनन् । यसैकारणले विश्वका विकसित देशहरुमा रेशमको माग बढि छ । अन्तर्राष्टिय बजारमा मागको तुलनामा रेशमको आपूर्ति ज्यादै न्यून रहेको छ ।
हाल प्रचलनमा आएका रेशम चार प्रकारका छन ः
मलवेरी सिल्क ः मलबेरी खाएर बनेको सिल्क ।्
टसर सिल्क ः टसर खाए बनेको सिल्क
एरी सिल्क ः एरी खाएर बनेको सिल्क
मुगा सिल्क ः मुगाबाट निर्मित सिल्क ।
रेशम खेतीको इतिहास विश्वमा पाँच हजार वर्षभन्दा पुरानो भएतापनि नेपालमो यसको इतिहास पचास वर्षभन्दा बढी छैन । संसारमा यो खेती पूर्ण रुपमा मौलाई रहेको समयमा नेपालमा यसको शुरुवात नै भएको थिएन । रेशम खेतीको पहिलो प्रयास स्वरुप सन् १९११ तिर राणा प्रधानमन्त्री चन्द्र शम्शेरले भारतबाट रेशम खेतीको प्रयास भएकोमा रेशम कीराको फुल र प्राविधिक जनशक्तिको प्रवन्ध सुचारु रुपमा उपलब्ध हुन नसकेकोले छिट्टै बन्द भयो ।
दोस्रो प्रयास स्वरुप राणा प्रधानमन्त्री जुद्ध शम्शेरको शासनकाल सन् १९४० मा भारतबाट दक्ष व्यक्तिहरु झिकाएर काठमाडौंमा रेशम कीरापालन तथा धागो कात्ने प्रदर्शनीहरु गराइएको थियो र झापाबाट आदिवासी थारु र राजवंशीलाई झिकाएर अण्डि रेशम कीराको प्रर्दशन गरिएको थियो ।
त्यसै गरी रेशम खेतीको तेस्रो प्रयास रुवरुप सन् १९५० मा गोदावरी क्षेत्रमा किम्वु विरुवा रोप्ने काम भयो तर निरन्तरता पाउन सकेन । नेपालमा चौथो प्रयासमा सन १९५३ मा घरेलु उद्योग विभाग त्रिपुरेश्वरले आफनै कार्यालय परिसरमा किम्वु विरुवा रोपी रेशक कीराको फुल भारतबाट झिकाई रेशम कीरापालन शुरु गरेको थियो । रेशम फुलको आपूर्तिमा एकरुपता नभएका, दक्ष प्राविधिकहरुको अभाव र रोगको प्रकोप आदिले गर्दा उक्त प्रयास पनि असफल भयो ।
नेपालमा रेशम खेतीका लागि पटक पटक प्रयास भएर सोही अनुरुप पाँचौ तथा अन्तिम प्रयास स्वरुप सन् १९६७ मा तात्कालिन कृषि शिक्षा तथा अनुसन्धान विभागले केही दुई पुस्ते रेशम कीराको फुल भारतबाट झिकाई राणाहरुको दरबारमा रहेका किम्वु विरुवा प्रयोग गरी सम्भाव्यता अध्ययन गरेकोबाट राम्रो नतिजा प्राप्त भएकोले सन् १९७१मा १० वर्षे कृषि आयोजना लागू भएको समयमा व्यवसायिक महत्वका कीराहरुको विकास गर्ने उदेश्यले विस २०३२ सालतिर व्यवसायिक कीट विज्ञान आयोजनाको नाममले मौरी सहित रेशम खेती केन्द्रको स्थापना भयो । विस २०४२ मा स्वर्गिय पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहबाट खोपासी केन्द्रको निरिक्षण पछि मौरीपालनलाई खोपासीबाट ललितपुरको गोदावरीमा सारियो । विस २०४३ सालदेखि खोपासीले रेशमखेती कार्यक्रम मात्र सम्हाल्दै आएको छ । भने आव २०५२÷५३ देखि कृषि विभागको सांगठनिक ढाँचामा भएको परिवर्तन पश्चात यसको नाम रेशम खेती विकास शाखा खोपासी कायम भई कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
नेपालमा विद्यमान विविध हावापानी सुहाउँदो रेशम खेती प्रविधि विकास गर्न, रेशम कृषकहरुलाई सल्लाह सुझाव दिन, रेखदेख गर्न, कृषकहरुको माग अनुसार किम्वु विरुवा उत्पादन र आपूर्ति गर्न, साना रेशम कीरापालन र वितरण गर्न, कृषकहरुलाई रेशमखेती सम्वन्धी तालिम प्रदान गर्न र कृषकहरुबाट उत्पादित रेशम कोयाको बजार व्यवस्था गर्न खोपासीको अलावा आठ वटा रेशम फार्महरु देशका विभिन्न स्थानहरुमा स्थापना गरिए ।
सन् १०७७ मा पहिलो पटक दक्षिण कोरियाबाट इचिनोसे जातका केही किम्वु विरुवा झिकाई रेशम खेती विकास शाखा खोपासीमा रोपिएको थियो । त्यसपछि भारतबाट मैसुर, लोकल, कान्भा २, देहरादुन १, एस ३६, एस ५४, के २२, विसी ५९ जातका किम्वु विरुवा कृषकस्तरमा वितरण गरियो ।
सन् १९९६ मा जापानी विशेषज्ञ श्री मासारु चुजुकले उच्च पहाडमा उपयुक्त हुने किम्वुका जातहरु ज्स्त गारियु, खुवाई चिंगो, केन्मोचि, युकी मासारी, मिचुसिगेर आदि जापानबाट सौजन्य स्वरुप लिई आउनु भएको थियो । नेपाल रेशम संघले चीनबाट चाइनिज हाइव्रिड र भारतबाट भिक्टोरी १ झिकाई वितरण गरेको देखिन्छ । त्यस्तै ग्रामिण विकासको लागि रेशम खेती नामको संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमले सञ्चालन गरेको परियोजनाका तत्कालिन रेशम खेती सल्लाहकार एलेन देरेले फ्रान्सबाट कोकुसो २० लगायतका चार जातका किम्वु सौजन्य स्वरुप नेपाल ल्याउनु भएको थियो । यसरी प्राप्त हुन आएका किम्वुका जातहरु रेशम खेती विकास शाखा र अन्य रेशम खेती फार्म केन्द्रहरुमा किम्वु मातृश्रोत संरक्षण र सम्वद्र्धन हुँदै आएको छ ।
२०३५ सालमा कृषकहरुलाई रेशम कीराको फुल उपलब्ध गराई कृषकस्तरबाट कोया उत्पादन प्रारम्भ भयो । त्यसपछि केही जिल्लाहरुका कृषकहरुको माग अनुरुप किम्वु विरुवाको आपूर्ति गरी किम्वु विरुवाको क्षेत्र विस्तार गर्ने कामको शुरुवात भएको पाईन्छ । हाल खोपासीमा २३ जातका किम्वु विरुवाको मातृश्रोत संरक्षण गरिएको छ भने किम्वु नर्सरी व्यवस्थापन केन्द्र भण्डारामा ४२ जात संरक्षण गरिएकोमा संयुक्त सुरक्षा वेस क्याम्पको विस्तारले गर्दा मातृश्रोत संरक्षण प्लन नयाँ सृजना गरी संरक्षण कार्य जारी रहेको छ । – गणेश ढकाल