बिहिबार, बैशाख ६, २०८१

नियम विपरित मासु पसलहरु

ललितपुर, २२ फागुन । जिल्ला पशु सेवा कार्यालय ललितपुर र सरोकारवाला निकायका प्रतिनिधिहरुले गरेको संयुक्त अनुगमनका क्रममा मासु पसलहरु अत्यन्तै फोहोर रहेको पाइएको छ ।
बधस्थल र मासु पसल फरक–फरक ठाउँमा हुनुपर्ने व्यवस्था भए पनि धेरै सञ्चालकले एकै ठाउँमा राखेको पाइएको कार्यालयका प्रमुख मोगल साहले बताए । एउटै पसलमा एउटाभन्दा बढी किसिमका मासु बेच्दा फरक ठाउँमा राख्नुपर्ने नियम छ । कतिपय मासु पसलले एउटै टेबुलमा राख्ने गरेको पाइएको छ ।
मोगलका अनुसार “कतिपय मासु पसलले जानकारी नभएर र कतिले भएर पनि नियम पालना गरेका छैनन् ।”
जाली र सिसा राख्नुपर्ने व्यवस्था भए पनि कतिपय मासु पसलले त्यसको पालना गरेका छैनन् । मेलम्ची खानेपानीका लागि सडक खन्दा सडक धुलाम्मे छन् । अनुगमनका क्रममा अधिकांश मासु पसल सडक छेउमा र कतिपय चोकमा पाइएको साहले बताए ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २२, २०७४