दानामा आधारित पशुपालनबाट फाइदा हुँदैन

dr bamsi

डा. वंशी शर्मा
कार्यक्रम निर्देशक
पशु उत्पादन निर्देशनालय

० पशु उत्पादन निर्देशनालयको प्रमुख भएर आउनु भएको छ के नयाँ योजना ?
हामीले हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग लक्षित गरी दूध उत्पादन गर्नका लागि नयाँ १२ वटा जिल्ला र विगतमा सञ्चालन भईरहेका १८ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका छौं । साथ साथै बंगुरमा हामी आत्मनिर्भर भईरहेको परिप्रेक्ष्यमा यसलाई विदेशमा पनि निकासी गर्न सम्भाव्यता पहिचान गरी पिग एण्ड पोर्क पार्क निर्माण कास्कीमा शुरु नै गरिसकेका छौं । यसमा बंगुरका पाठापाठीहरु यस आर्थिक वर्षभित्र नै राख्ने किसिमले दू्रत रुपमा कार्यक्रम सञ्चालन गरिरहेका छौं । साथ साथै गाईमा कृत्रिम गर्भाधान भैसीमा कृत्रिम गर्भाधान ४५ जिल्लामा सघन रुपमा वर्ष भरी नै हामीले सञ्चालन गरिरहेका छौं । यसमा राष्ट्रिय चरनको फोरेज मिसन कार्यक्रम पनि सञ्चालन भईरहेको छ ।
0 पोर्क पार्कको कुरा गर्नु भो र निर्यातको कुरा पनि छ तर गुणस्तरको कुरा उठिरहेको छ नि ?
त्यही चर्चाकै आधारमा हामीले स्वच्छ, स्वस्थ र राम्रो पोर्क पार्क भनेर हामीले पाँच हजार जतिको बंगुरको पाठापाठी हुर्काएर एकै ठाउँमा स्थापना गरेर त्यसमा गुणस्तरीयता बढाएर त्यसलाई विदेशमा निकासी गर्ने भन्ने सोचले नै हामीले यो पार्क बनाएका हौं ।
0 तर पार्क बनाउने कुरा एउटा होला तर विदेशमा निर्यात गर्नका लागि गुणस्तरीय मासु उत्पादनका आधार के हो त ?
गुणस्तरीय बंगुरको मासु उत्पादन गर्ने, मूल्य श्रृखलामा नै आवद्ध भएर पिग एण्ड पोर्क पार्क योजना ल्याइएको हो । यसमा नै मासुका लागि कसरी पाल्ने भन्ने कार्यविधि सहित ल्याएका छौं । त्यसले गर्दा पर्यटकीय क्षेत्र र विदेशी पर्यटकलाई लक्षित गर्दै निर्यात गर्न यो पार्क नै कोशे ढुङ्गा सावित हुन्छ ।
0 उत्पादन निर्देशनालयको कार्यक्रम धेरै छ नेपालमा दूध आत्मनिर्भरतातिर अगाडि बढिरहेको छ यहाँहरुले हरेक वर्ष नयाँ कार्यक्रम पनि ल्याउनु हुन्छ अव दूधमा मुलुक आत्मनिर्भर हुन कति समय लाग्ला ?
हामी दुई वर्ष भित्रमा दूधमा आत्मनिर्भर हुन्छौं । यो आर्थिक वर्षमा मासुमा आत्मनिर्भर बन्छौं । अहिले हाम्रो मागको २० प्रतिशत दूध मात्र बजारमा आईरहेको छ । त्यसकारण दूधलाई एकीकृत गरेर बजार व्यवथापन राम्रो बनायो भने दूधमा आत्मनिर्भर हुन टेवा पुग्छ ।
0 तर हामीले जति नै कुरा गरे पनि दूध उत्पादनको लागत बढेका कारण किसान निराश छन् भन्छन् नि ?
घाँसमा आधारित भएर पशुपालन र दूध उत्पादन गर्नु पर्दछ । हिउँदे बर्षे घाँस उत्पादन नगरी हुँदैन । दानामा आधारित पशुपालनबाट फाइदा हुँदैन । उन्नत नश्लका राम्रो दूध दिने गाईलाई पनि सोही अनुरुप आहार दिनु पर्ने भएकाले हामीले त्यस तर्फ पनि कदम चालिरहेका छौं ।
0 घाँसमा आधारित रहेर पशुपालन गर्दा लागत मूल्य घट्छ तर किसानहरुलाई त चरन कै अभाव छ ?
वास्तवमा भन्ने हो भने क्षेत्रको समस्या होइन । हाम्रो देशमा धेरै जग्गा बाँझो छन् । तर समय सापेक्ष गर्न सकेनौ कि भन्ने हो । हामीले सघन रुपमा स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने हो भने टेवा मिल्छ हामी त्यही दिशातिर उन्मूख भईरहेका छौं ।
0 त्यसो भए चरन विकास वा घाँसमा आधारित पशुपालनका लागि प्रविधि विकास गर्नु भएको छ त ?
उच्च पहाडमा चरन तथा खर्क विकासका कार्यक्रम पनि छन् । मध्यपहाड र तराईमा सघन रुपले जुन पशुहरुले बढी उत्पादन दिन्छ त्यसलाई प्राथमिकता दिएर हिउँदे घाँसमा हामीले जोड दिनु पर्दछ । र बर्षे घाँस बढी हुन्छ त्यो घाँसलाई साईलेज बनाएर हिउँदमा ख्वाउने वा जुन बेला घाँस अभाव हुन्छ त्यही बेला प्रयोग गर्ने प्रविधि हामीसँग छ । यस्ताप्रविधि बढी भन्दा बढी किसानसम्म पु¥याउने कार्यक्रम पनि हामीले राखेका छौं ।
0 विगतमा भन्दा युवा लक्षित कार्यक्रम पनि यियो पशुपालनमा युवाहरु आकर्षित थिए । अहिले स्थानीय तहमा बजेट गएका कारणले कार्यक्रम असहज भएको छ भन्छन् नि के हो ?
युवा लक्षित कार्यक्रम पनि स्थानीय तहमा तोकिएर नै गएको छ । त्यसकारण ती कार्यक्रमहरु हुन्छन् भन्ने हाम्रो ठम्याई छ । अरु पनि विविध कार्यक्रमहरु हामीले केन्द्रीय स्तरबाट सहयोग गरिरहेका छौं र सहकार्यमा गर्ने कार्यक्रम पनि भएकाले त्यत्ति असहज भएको छ जस्तो लाग्दैन । त्यसकारण आगामी वर्षका लागि सशर्त रुपमा गयो भने काम गर्न असहज हुँदैन ।
0 स्थानीय तहमा बजेट गएकै कारण केही जिल्लामा पशुमा रोगको प्रकोप हुँदा पनि उपचार गर्न सकिएन भन्ने छ त यसले त असहज बनाउला होला नि त ?
स्थानीय तहलाई पनि नयाँ नयाँ भएकोले कतिपय जानकारी पनि भएको हुन सक्छ नत्र भने खोरेत भएपछि सामान्य भ्याक्सिन किनेर, वरिपरि खोप लगाउनका लागि हामीले निश्चय पनि गाउँपालिका वा नगरपालिकामा रामैैै्र पैसा गएको छ । त्यसले पुग्छ अझ प्रकोप न्यूनिकरण गर्न सहज हुन्छ भन्ने हो । मलाई लाग्छ त्यस्ता साँधुरा अप्ठेराहरु भएमा हामी केन्द्रबाट पनि समस्या समाधान गर्दछौं । त्यसलाई हामी सहजी करण गर्दछौं ।