शुक्रबार, चैत्र १६, २०८०

दाङमा तोरीको उत्पादन घट्दो

दाङ, १ फागुन । कुनै समय तोरी बालीको लागि प्रख्यात दाङमा पछिल्लो समयमा उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरेका थिए । यहाँको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो । दाङको तोरीको तेल नेपालमै प्रचलित थियो । पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर भएको कृषि विकास कार्यालयले जनाएको छ ।
पहिले तोरीको तेल कपालमा लगाउने चलन थियो । यहाँको तोरीको तेल विदेशमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समयमा स्थानीयवासीले तरकारीमा प्रयोग गर्ने तोरीको तेलको साटो सूर्यमुखी र स्वयाविनको प्रयोग गर्न थालेको स्थानीयवासी यज्ञबहादुर थापा बताउँछन् ।
राधा कृष्ण तेलमिल सञ्चालन गर्दै आउनुभएका केशव सापकोटाले तोरी उत्पादन घट्दै गएको बताए । उनले हाल प्रतिलिटर तोरीको तेलको मूल्य रु २०० भएको बताए । स्थानीयवासीले सस्तो मूल्य खोज्ने भएका कारणले भारतको तेल बढी मात्रामा प्रयोग हुने गरेको छ । मिलमा तोरी पेल्न र तेल किन्न आउनेको संख्या घट्दै गएको उनको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १, २०७४