बिहिबार, बैशाख १३, २०८१

जिल्ला कृषि हटाएर बनाएको ज्ञान केन्द्र कि ध्यान केन्द ?

काठमाडौं, साउन । मुलुक संघीय संरचनामा गईसकेपछि कृषि क्षेत्रलाई पनि संघीय संरचनाको मोडेल राख्ने सोच अनुरुप कर्मचारी संरचनालाई स्थानीय तहमा समाहित गर्ने काम गरिएको छ । कृषि क्षेत्रलाई स्थानीय तहको संरचनामा राख्ने त भनियो तर ठिङ्ग एक जना कर्मचारी पठाएर कृषि क्षेत्रको आमूल परिवर्तन गर्न सकिन्छ भन्ने सोच बनाउनु भनेको कृषि क्षेत्रलाई तहस नहस गर्नु नै हो ।
जिल्लामा रहेको संरचनालाई ध्वस्त बनाईएको छ । जसलाई अहिले ज्ञान केन्द्रका रुपमा विकास त गर्ने प्रयास गरियो तर सवै जिल्ला बढ्ने ज्ञान केन्द्रको संख्या घटाईनुले सरसकार कृषि क्षेत्रको वास्तविक विकास गर्ने पक्षमा देखिएको छैन भन्ने कुरालाई पुष्टि गर्दछ ।
संघीय सरकारले कृषि विकास मन्त्रालयको पुर्नसंरचनामा गर्नु आवश्यक थियो तर मन्त्रालयको गाभ्ने र विभाजन गरेर राजनीतिक दलहरुको भागबण्डामा नै रमाईरहेको देखिन्छ । केही महिना अघि कृषि, पशुपन्छी, भूमिव्यवस्था र सहकारी मन्त्रालयलाई एकै ठाउँमा गाभेर बनाईएको सिङ्गो मन्त्रालयलाई फेरि विभाजन गर्ने काम भएको छ । यसले पनि संघ सरकारको लक्ष्य के हो भन्ने कुराको पुष्टि गर्न सकिन्छ ।
हुन त यतिखेर कृषि र पशुपन्छी सेवालाई मात्र समेटेर मन्त्रालय बनाइनु उचित नै देखिन्छ । तर कृषि क्षेत्रको वास्तविक रुपमा नै विकास गर्ने हो भने र सरकारले चालेको पाँच वर्ष भित्र कृषि उत्पादन दोव्वर बनाउने सोच यदि हो भने सिँचाई मन्त्रालयलाई पनि कृषिसँग जोडिनु आवश्यक थियो । त्यो हुन सकेन ।
जिल्लामा रहेको कृषि विकास कार्यालयहरुलाई स्थानीयमा गाभेर ज्ञान केन्द्र स्थापित गर्नु भन्दा सोही कार्यालयलाई स्थानीय तहको मातहतमा रहने गरी बनाईएको भए उचित हुने थियो । करीव ५१ वटा कृषि ज्ञान केन्द्रको रुप केवल कर्मचारीको ध्यान केन्द्रका रुपमा विकसित हुने बाहेक अरु केही पनि देखिएको छैन । ज्ञान केन्द्र नै कृषि विभागको मातहतमा रहने संगठन संरचना यदि हो भने संघीय संरचनाका कृषि क्षेत्र गयो भन्नु पनि वेकार हुने छ ।
अर्को महत्वपूर्ण कुरा के हो भने जिल्लामा विस्थापित गरिएका कार्यालय र अहिले स्थापित ज्ञान केन्द्रले कसका लागि कस्तो किसिमको ज्ञान प्रवाह गर्ने ? के किसानमा समस्या समाधान गर्नका लागि, उत्पादकत्व बृद्धि गर्नका लागि नयाँ प्रविधि, आधुनिकीकरण बारे जानकारी दिने सहजीकरण गर्ने हो ? कि कृषि पाठशालाका रुपमा विकसित हुने हो ? यदि यी कुनै पनि होइनन् भने ज्ञान केन्द्र कर्मचारीलाई जागिर खुवाउने ध्यान केन्द्र मात्र हो ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०७५