शुक्रबार, चैत्र १६, २०८०

चैत लाग्यो मकै छर्न हतार !

पहाडदेखि तराइसम्मका जमिनमा अब मकै छर्ने बेला भइसकेको छ । माटो तात्दैछ । मकै उर्वर माटो र तातोमा उम्रन्छ । जमीन नतातीbisnu lalकन मकैको चुली आउन सक्दैन । फागुनमै मकै छर्ने काम गरे पनि जमीन तातेर मात्र मकैको चुली आउंछ । त्यसैले चैतमा मात्र मकै छर्ने काम किसानहरुले गर्दछन् । अवसर छोपेर मकै छर्ने काम गरेमा त्यो बेलैमा उम्रन्छ र हलक्क बढ्छ पनि । समय नआउंदै छर्ने काम गरेमा एकातिर किराफट्याङ्ग्रा र चराचुरुङ्गीले खाइदिन्छन् भने अर्कोतिर विनाकाममा घाटा मात्र हुन्छ । त्यसलाई फेरि छर्नु पर्ने हुन्छ । त्यसैले छर्ने समय आएपछि मात्र काम गर्नुपर्छ, वेमौसममा खेती गर्नु हुन्न भन्ने बूढापाकाको भनाइ मनासिव देखिन्छ ।
मकै नेपाली किसानहरुका लागि सवैभन्दा आडिलो र भरपर्दो खाद्यान्नको रुपमा लिइन्छ । के गाउं ? के हिमाल, के तराई ? के पहाड ? अनि के उपत्यका ? सवै ठाउंमा मकै उत्तिकै लोकप्रिय खाद्यान्न र विविध परिकार बन्ने वस्तु बनेको छ । मकै नभइकन घर व्यवहार नै चल्दैन भने पनि हुन्छ । मकैमा जति ताकत छ त्यो अरुमा हुंदैन । त्यसैले पनि हाम्रो नेपालको हावापानीले संभावना भएसम्मका फांट, मैदान र फोगटाहरुमा मकै लगाउने प्रचलन छ । हिमाली भेगहरुमा मकै कमै फस्टाउने गर्दछ ।
त्यहांको हावापानी चिसो भएकै कारणले मकै राम्रो हुन नसकेको हो । पहाडमा राम्रो हुन्छ । पहाडको हावापानी मकै फसलका लागि अनुकुल नै छ । पहाडका प्रत्येक ठाउंहरुमा मकै छर्ने गरिन्छ । तराइमा सबैभन्दा बढी मकै लगाइन्छ । यहांको माटो उर्वर र तातो हुन्छ । त्यसैले किसानहरु मकै खेती लगाउनेतिर आकर्षित भएका हुन् । मकै छर्दा किसानहरुले धेरै कुरामा विचार पु¥याउनुपर्ने हुन्छ । हचुवाका भरमा मकै लगाउंदैमा हुने होइन । मकै छर्नुअघि पुस, माघमै जोत्ने काम गर्नु जरुरी छ । माटो फुक्का राख्नु आवश्यक पनि छ । त्यसमा गाइवस्तुको मल हालिन्छ ।
बाख्राका बिर्कौंला पनि राख्ने गरिन्छ । तर खासगरी गाइवस्तुको मल नै मकैका लागि उत्तम हुन्छ । त्यसबाहेक पात पतिङ्गर, रुखका हांगाविंगा, असुरो, तितेपाती पनि मकै लगाउनु अघि माटो बनाउंदा राख्ने गरिन्छ । यस्तो मल प्रयोग गर्दा मकैका लागि भन्दा पनि पछि अर्को बाली लगाउंदा वा खेतमा हो भने धान रोप्दा बढी मल लाग्ने गर्दछ । मललाई माटोमा सरोबरी गर्नका लागि पटक पटक खनजोत र कोदालोले माटोलाई ओल्टाइपल्टाइ गर्नु जरुरी छ । त्यसो भयो भने मल राम्ररी माटोमा लाग्न पाउँछ र मकै फस्टाउंछ । यस्ता कुराहरु पुराना र पारखी किसानहरुलाई बढी अुनभव छ । एउटै पाखो र फांटमा पनि र उस्तै माटोमा पनि मकै कतै सप्रेको अनि कतै कम सप्रेको हुनुमा यिनै कारणहरु हुन्छन् । त्यसकारण मकै छर्नु अघि माटोलाई राम्रो र मलिलो बनाउनु आवश्यक छ ।
बेलैमा खनजोत गरेर माटो ठिक्क पारेपछि चैतमा मकै छर्ने काम गरिन्छ । हाम्रो पहाडको कुरा गर्ने हो भने गोरुले जोत्दै अर्कोले मकै खसाल्ने प्रचलन छ । हलोले बनाएको एउटा सियोमा छरेको मकै अर्को सियो लगाउंदा ती मकैका बीउलाई छोप्ने गरिन्छ । यसरी छोपिँदा किरा, फट्याङ्ग्रा र चराहरुले खाइदिने डर हुंदैन । मकै छरिसकेपछि माथिबाट माटोलाई हल्का सम्याउने गरिन्छ । यसो गर्दा कतै खाल्डाखुल्डी बनेर पानी जम्ने हुन पाउंदैन । गराको चारैतिर ओरालो भागमा पानी तर्किने गरी कुलेसो बनाइन्छ । पानी प¥यो भने त्यही कुलोबाट पानी बग्ने गर्दछ र मकै छरेका ठाउंमा बिगार गर्न पाउँदैन ।
मकै छर्नुअघि यसलाई मलिलो र उर्वर बनाउनु जरुरी छ । अलिकति खनजोत गर्दैमा र सामान्य किसिमले सम्याउँदैमा माटो राम्रो हुन सक्दैन । यसका लागि अलिक मेहनत गर्नैपर्दछ । माटो राम्रो उर्वरा भएमात्र विजाङ्कुरण पनि राम्रो हुनसक्दछ । पहाडका कतिपय ठाउंमा गोरुले जोत्नका लागि असंभव हुन्छ । सानो फोगटामा मान्छेले नै कोदालो चलाउनुपर्ने हुन्छ । तराइका सम्म मैदानमा भने ट्रेक्टर लगाउने गरिन्छ । ठाउं अनुसार गोरु, ट्रेक्टर र मानिस लगाउनुपर्ने हुन्छ । जेहोस् मकै छर्नका लागि सवैभन्दा विचार पु¥याउनुपर्ने कुरा भनेको माटो उर्वर र मलिलो बनाउनु हो ।
मकैलाई घाम लागेको भन्दा पनि बिहान छर्नु राम्रो हुन्छ भनिन्छ । त्यसैले पहाड होस् या तराइ । मानिसहरु बिहानको समयलाई चयन गर्छन् र मकै छर्दछन् । मकै छर्दा पानी पर्नु पनि हुँदैन । ओसीलो भयो भने उम्रन पनि कठिन हुन्छ । हलो लगाउंदा जमिनमा नअड्किकन सजिलैसंग सियो बन्यो भने त्यो माटो राम्रो बनेको ठहरिन्छ । वर्षापछि आलु लगाएको माटोमा सवैभन्दा राम्रो हुन्छ मकै लगाउन । खुकुलो माटो भएका कारण मकै उम्रिनका लागि सजिलो र चांडै विजाङ्कुरण पनि हुन्छ ।
माटो राम्रो बनाउनका लागि मेहनत भने गर्नै पर्दछ । उति नै माटो मुरी र उस्तै प्रकृतिको जमिनमा कहीं मकै सप्रिने र उब्जनी बढी हुने अनि कहीं टाक्सिएर उत्पादन कम हुने भएको कारण नै माटो राम्रो नहुनु हो । त्यसैले किसानहरुले मकैको उत्पादन बढी लिनका लागि अलिक जाँगर भने चलाउनै पर्दछ । खाद्यान्न बालीमा मकैलाई नगदै बालीकै रुपमा लिने गरिन्छ । त्यसैले यो मौसममा मकै छर्नका लागि यी उपाय अपनाउने र होसियारी गर्ने हो भने मकै उत्पादन राम्रो लिन सकिनेमा शंका रहँदैन । -विष्णुलाल श्रेष्ठ

प्रकाशित मिति: मङ्लबार, चैत्र १, २०७३