बिहिबार, बैशाख ६, २०८१

गुणस्तरीय अलैचीका विरुवा उत्पादनमा सक्रिय छन् गोविन्द

काभ्रे, चैत्र । १७ वर्ष साउदी अवरमा काम गरेर फर्केका गोविन्द तिमल्सिनालाई नेपालमा कृषिमा नै केही गर्नु पर्दछ भन्ने सोच पलायो । कृषि उत्पादनमा पनि अलैचीको नर्सरी स्थापना गरी विरुवा उत्पादन गर्ने मोह उनमा आयो । जसले गर्दा उनले विगत ३ वर्षदेखि काभ्रै जिल्लाको ¥यालेमा विन्दवासिनी अलैची नर्सरी फार्म सञ्चालन गरेर बसेका छन् । नेपालमा बाँझो अवस्थामा रहेका खेतबारीमात्र होइन खोल्साखाल्सीमा पनि विरुवा रोपेर प्रशस्त आम्दानी गर्न सकिने अलैंचीको विरुवा उत्पादन गर्ने सोच उनीमा आयो । धेरै किसानहरुले बाहिरबाट आयात गरिएका अलैचीका विरुवा रोपेर फल नदिएपछि गुणस्तरीय अलैचीका विरुवा किसानलाई उपलब्ध गराउने सोच आएपछि उनले नर्सरी फार्म स्थापना गरेको बताउँछन् ।
अलैचीको विरुवा पाउन निकै गाह्रो भईरहेको अवस्थमा कति विदेशीको भर पर्ने नेपालमा नै गुणस्तरीय अलैचीका विरुवा उत्पादन गर्न सकिन्छ भन्ने प्रमाणित गरेर देखाएका छन् गोविन्द तिमल्सिनाले ।
चर्को मूल्यमा होइन किसानलाई सरल मूल्यमा विरुवा उपलब्ध गराउनु पर्दछ भन्ने उनको उदेश्यले गर्दा विन्दवासिनी अलैची नर्सरी फार्मले अहिले गुणस्तरीय विरुवा उत्पादनमा सक्रिय रहेको छ ।
विभिन्न ठाउँबाट अलैचीको विरुवा किन्न उनको नर्सरीमा किसानहरु आउने गरेका छन् । तर अलैचीको विरुवाको पनि बजार व्यवस्थित हुनु पर्दछ भन्ने गोविन्दको चाहना छ । कृषि विकास मन्त्रालयले उत्पादन गर्न प्रोत्साहित गरेर मात्र भएन नर्सरीमा उत्पादन भएका विरुवा गुणस्तरीय छ कि छैन चेकजाँच गरिदिएर किसानलाई गुणस्तरीय विरुवा उपलब्ध हुने गरी बजार व्यवस्थापन गरिदिनु पर्ने बताउँछन् ।
अलैची उत्पादन भएर पनि विक्रीका लागि बजार अभाव भएकोले किसानहरु विदेश पलायन हुन खोजिरहेका छन् त्यसतर्फ सरकारले ध्यान दिनु पर्ने बताउँदै विरुवा उत्पादन गर्ने नर्सरी र किसानवीचका विचौलियाको खेल वन्द गर्नका लागि किसानले उत्पादन गरेको कुनै पनि कृषि उपजको बजार व्यवस्थापन गरिदिनुपर्ने माग राख्छन् गोविन्द तिमल्सिना ।

प्रकाशित मिति: शनिबार, चैत्र १०, २०७४