गाउँमै राम्रो सम्भावना देखेर बाख्रापालनमा युवा

पर्वत, पुस । प्रायगरी मगर समुदायका युवा लाहुरे हुने सपना बोक्छन् । कतिपय लाहुरे हुनका लागि बेलायती सेना, भारतीय सेना र नसके नेपाली सेनामा नै भएपनि भर्ना हुने कुरालाई आफ्नो सबैभन्दा ठूलो सपना ठान्छन् ।
भर्ती नहुने युवा युरोप, हङकङलाई दोस्रो गन्तव्य बनाउँछन् भने नसके खाडी र मलेसियामा प्रशस्त पैसा कमाइ हुने आशामा विदेशिएको पनि देखिन्छ ।
तर उत्तरी पर्वतको जलजला गाउँपालिका–५ शालिजा गाउँका दुई युवाले सवै कुरा त्यागेर गाउँमै ठूलो लगानीमा बाख्रापालन व्यवसायमा लागेका छन् । रु १५ लाख लगानी गरेर साविक शालिजा गाविस–२ का बलबहादुर पुन र जितमन पुनले गाउँमै बाख्रापालन व्यवसाय शुरु गरेका हुन् ।
विगत चार वर्षदेखि यो व्यवसायमा हात हालेका युवाले ५०० बाख्रा पाल्ने योजना बनाएका छन् । अहिले उनीहरुको फारममा १२० वटा पुगेका छन् भने ५० भन्दा बढी ब्याउने छन् ।
“सबै युवा लाहुरे हुने कुरालाई पहिलो प्राथमिकतामा राख्छन्, हामी गाउँमै राम्रो सम्भावना देखेर बाख्रापालनमा लागेका छौँ” पुनले भने, “५०० बाख्रा पु¥याउने महत्वाकांक्षी योजनासहित यो पेशामा हामफालेका हौँ ।”
गाउँमा एक दुई वटामात्रै बाख्रापाल्ने तर व्यावसायिक बन्न नसकेकाले व्यावसायिक रुपमा बाख्रापालनबाट आम्दानी हुने देखेपछि बाख्रापालनमा लागेको पुनले बताए । “यो गाउँ सुहाउँदो व्यवसाय भएकाले भविश्यमा राम्रै आम्दानी हुन्छ भन्ने विश्वास लागेको छ”, उनले भने ।
अहिले बाख्रा बिक्रीभन्दा बथान बढाउने काममा लागिपरेको युवा बताउँछन् । “पाँचसय बाख्रा पुगेपछि मासिकरुपमा दुई लाखसम्म खुद नाफा कमाउने लक्ष्य हाम्रो हो”, अर्का युवा कृषक जितमन पुनले बताए ।
बाख्रापालनका लागि उनीहरुले शुरुमा रु १५ लाख लगानी गरेका थिए । बाख्रा हेर्नका लागि चारजनालाई रोजगारी पनि दिएका छन् । उनीहरुले खरी जातको बाख्रा पाल्दै आएका छन् ।
बाख्राका लागि चरन नभएकाले सामुदायिक वनलाई मासिक रु १० हजार भाडा तिरेर बाख्रा चराउँदै पनि आएका छन् । “चरनका लागि अन्य क्षेत्र नभएकाले सामुदायिक वनलाई भाडा तिरेका छौँ” जितमन पुनले भने । अहिलेसम्म निर्वाहमुखी रुपमा बाख्रा पाल्दै आएको गाउँमा यो व्यवसाय नमूना बन्दै गएको छ ।
बाख्रापालनसँगै उनीहरुले आलुखेती पनि थालेका छन् । बाख्राको जुतो प्रयोग गर्नका लागि साविक लेकफाँट गाविसको डाँँडाकटेरीमा जग्गा भाडामा लिएर आलुखेती गर्ने योजना रहेको जितमनले बताए । लेकफाँटको लोप्रे आलुका लागि प्रशिद्ध ठाउँ हो ।
“दोहोरो व्यवसायबाट राम्रो आम्दानी हुन्छ”, उनले भने “धन कमाउन भनेर विदेशमा जानुनै पर्दैन ।” बाख्रापालनमा लागेका यी युवालाई कुनै सरकारी निकायले सहयोग गरेका छैनन् ।
विकट गाउँमा ठूलो लगानी गरेर सञ्चालन गरेको यो व्यवसाय जिल्लाकै नमूना व्यवसायको रुपमा हेरिएको छ । अन्य क्षेत्रका युवा पछिल्लो समयमा विदेशबाट फर्केर कृषि तथा पशुपालन व्यवसायमा लागेपछि गाउँकै युवाले आफ्नै लगानी गरेर सञ्चालन गरेको व्यावसायिक फार्म भएकाले राज्यले पनि उनीहरुलाई विशेष प्राथमिकता दिनुपर्ने उनीहरुको भनाइ छ ।