शुक्रबार, चैत्र १६, २०८०

कृषि सेवा केन्द्र स्थानीय तहमा

नुवाकोट, २३ माघ । जिल्ला कृषि विकास कार्यालय मातहत रहेका कृषि सेवा सेवा केन्द्र स्थानीय तहमा समायोजन गरिएको छ ।
छ स्थानमा रहेका सेवा केन्द्रले प्रवाह गर्दै आएको सेवा स्थानीय तह मातहत सञ्चालन हुने कानुनी प्रावधान भएकाले हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए । केन्द्रमा रहेका कर्मचारी गत भदौदेखि नै स्थानीय तहमार्फत हाजिरी प्रमाणीकरण गर्दै आएकामा औपचारिक रूपमा कर्मचारीसहित भौतिक संरचना (भवन), कार्यालयका कागजात, उपकरण, फर्निचरलगायत सामग्री स्थानीय तहअन्तर्गत नगर तथा गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको हो ।
जिल्लाका विदुर नगरपालिकाको देवीघाट, लिखु गाउँपालिकाको चौघडा, शिवपुरीको थानापति, मेघाङको देउराली, ककनीको रानीपौवा र तादीको खरानीटारमा सेवा केन्द्र सञ्चालनमा छन् ।
सेवाकेन्द्रबाट प्रवाह हुने कार्यक्रम यसअघि जिल्ला कृषि विकास कार्यालयअन्तर्गतका कार्यक्रम सञ्चालन हुँदै आएकामा अब भने स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएका छन् । डा गैरेका अनुसार सेवा केन्द्रको हस्तान्तरणसँगै जिल्ला कृषि विकास कार्यालय पनि हस्तान्तरणका लागि लगत संकलन शुरु भएको छ ।

प्रकाशित मिति: मङ्लबार, माघ २३, २०७४