शुक्रबार, चैत्र १६, २०८०

कृषि विभागको महानिर्देशकमा जुनियरलाई प्राथमिकता

काठमाडौ, असार । निजामति सेवा प्रवेश गर्ने जो सुकैले पनि रोलक्रम अनुसार प्रमोशनको आशा गरेको हुन्छ र त्यही नै हुने गरेको छ अपवाद बाहेक । खरिदारबाट सरकारी सेवा शुरु गरेकाहरु पनि मुख्य सचिवसम्म भएका पनि रोलक्रम अनुसार नै बढुवा भएर ।
तर कृषि विकास मन्त्रालयमा अहिले रोल क्रम मिच्ने कार्य थपिएको छ । कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्मालाई हटाएपछि उनको ठाउँमा सोही विभागका उपमहानिर्देशक सूर्य पौडेललाई ल्याइएको छ । विभाग मातहतमा रहेको १२ वटा निर्देशनालय र विभागका उपमहानिर्देशक सहितका सहसचिवहरु मध्ये वरियताका आधारमा सिनियरलाई महानिर्देशक बनाउनु प्रचलनलाई वर्तमान कृषि मन्त्रीले लत्याईदिएका छन् ।
सूर्य पौडेल भन्दा सिनियर रहेकी कृषि प्रसार निर्देशालयका कार्यक्रम निर्देशक सहसचिव निरु दाहाल पाण्डेलाई पाखा लगाउँदै पौडेललाई महानिर्देशक बनाइएको छ । सहसचिव मध्ये सिनियरलाई महानिर्देशक बनाउने हो भने हाल व्यवसायिक कृषि तथा व्यापार आयोजनामा रहेको आयोजना प्रमुख गोविन्दप्रसाद शर्मा सवैभन्दा सिनियर सहसचिव पर्दछ ।
कृषि विकास मन्त्रालय भित्रका सहसचिवहरु मध्ये शक्तिका आडमा आफ्ना सहकर्मीहरुलाई ‘साईज’ तोक्ने नाममा मनपरी तन्त्र गर्दा कृषि क्षेत्र नै ध्वस्त बन्दै गईरहेको छ । विगतलाई हेर्ने हो भने वर्तमान कृषि सचिव डा. युवकध्वज जीसी पनि ७ जना सिनियरलाई पालो मिच्दै तात्कालिन कृषि मन्त्री हरिप्रसाद पराजुलीको पालामा महानिर्देशक भएका थिए । त्यसबेला पनि सिनियर सहसचिवका रुपमा रहेका डा सुरोज पोख्रेललाई भद्रसहमति अनुरुप नै वातावरण विभागको महानिर्देशक बनाईएको थियो ।
कृषि विकास मन्त्रालयमा विशेष गरी महानिर्देशक पदका लागि पछिल्लो समयमा भएको सरुवा र नियुक्तिले भावी पुस्तामा महानिर्देशक हुने लाईनमा रहेका कर्मचारीहरु कृषि क्षेत्रको विकास भन्दा पनि राजनीतिक आस्था र ‘गणेश प्रबृत्ति’ प्रति हावी हुने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०७५