कृषि पेशामा लगानीको धेरै जोखिम छ

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको घोषणा केवल नारामा मात्र सिमित हुने हो कि भन्ने आशंका पछिल्लो कृषि उत्पादनको तथ्यांकले देखाएको छ । आयात बढ्दै जानु र खेती गर्ने जनशक्ति दिनप्रतिदिन पलायन हुदै जानुले पनि त्यसलाई अझ पुष्टि गर्दै गईरहेको छ ।
नेपालमा कृषिमा संलग्न किसानहरुलाई आफ्नो पेशामा रहिरहने वातावरण सरकारले तय गर्न सकेको देखिँदैन भने किसानले उत्पादन लागत मूल्य घटाउन पनि सकेको देखिँदैन । जनशक्तिको अभावका कारण चर्को मूल्यमा कृषि श्रमिक लगाउनु पर्ने वाध्यता छ । भने जनशक्तिको अभाव परिपूर्ति गर्नका लागि पछिल्लो समय कृषि यन्त्रको प्रयोगको संख्या पनि बढ्दै गईरहेको छ । यसै सन्दर्भमा नेपालका कृषि यन्त्रको प्रयोग र अवस्थाका बारेमा श्रेष्ठ एग्रि इन्पुटका निर्देशक गौरव श्रेष्ठसँग वैकुण्ठ भण्डारीले गर्नु भएको कुराकानीको अंश ः
० नेपालमा अहिले कृषि यन्त्रहरुको प्रयोगको अवस्था के छ ?
विगतको अवस्था हेर्ने हो भने नेपालका कृषि यन्त्रको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको छ । कुनै बेला कृषि खेती गर्नका लागि यन्त्र प्रयोग गर्न हिचकिचाउने किसानहरु अहिले यन्त्रको खोजी गर्न थाल्नु भएको छ । यसले नेपालमा कृषि यन्त्रको प्रयोग बढ्दै छ भन्ने कुराका दुईमत नहोला ।
० विगत पाँच वर्षको अवधि हेर्ने हो कस्ता खालका कृषि यन्त्र प्रयोग गर्ने किसानहरुको संख्या छ ?
नेपालमा अहिलेको अवस्थालाई मुल्यांकन गरी हेर्ने हो भने किसानहरुको प्रविधि मैत्री कृषि व्यवसाय गर्ने अवस्था बढ्दै गईरहेको छ । अर्को तर्फ परम्परागत रुपमा खेती गर्दै आफ्नो खेतबारी बाँझो राख्न नसक्ने भएकाले पनि साना किसानहरु कृषि यन्त्रको प्रयोग बढाउँदै हुनुहुन्छ भने व्यवसायिक किसानहरु पनि आफ्नो खेती अनुसार आवश्यक पर्ने यन्त्रउपकरण प्रयोग बढाउन थाल्नु भएको छ । पछिल्लो पाँच वषर््ाको तथ्यांक हेर्ने हो भने मिनी टिलर, चाफकटर, इन्कुबेटर, रोटाभेटर, थ्रेसर आदीको माग धेरै भएको छ र यसले लागत नियन्त्रणमा धेरै योगदान दिएको छ ।

० के कारणले गर्दा नेपाली किसानहरुले कृषि यन्त्रको प्रयोग बढाउन थालेका होलान् ?
मूलरुपमा भन्ने हो भने कृषिका काम गर्ने जनशक्तिको अभाव छ नेपालमा । दिनप्रतिदिन कृषिमा काम गर्ने मजदुरहरु पलायन भईरहेको अवस्था छ । जसका कारण कृषि उपज उत्पादन लागत बढ्दै गईरहेको छ । बढ्दो लागत, गोरु भन्दा कृषि औजारको लागत कम र उत्पादकत्व बढी हुनु, कृषकहरुको शिक्षा स्तरको वृद्घी हुनु, सरकारी अनुदान जिल्लादेखि स्थानीय तहसम्म पुग्नु र निजी व्यवसायी साथीहरुको स्थानिय तह सम्म तालिम र बिक्री पछिका सेवामा लगानी वृद्घी हुनुका कारणहरुले कृषकहरु यस प्रति आकर्षित भएका हुन् ।
० तर सरकारले अनुदान दिने भएकाले मात्र किसानहरु कृषि यान्त्रिकीकरणका कुरा गरेका छन् भन्छन् नि ?
सरकारी अनुदानले विगत ५ /६ वर्ष देखि कृषकहरुमा कृषिमा यान्त्रिकरण आवश्यक छ भन्ने चेतना बढाएको हो तर अनुदान बाहेक कुरै नहुनु होइन । विश्व बजारलाई नै दृष्टान्त मान्ने हो भने पनि सबै विकसित र विकासशील मुलुकहरुले आज सम्म पनि अनुदानलाई निरन्तरता दिइरहेका छन् । कृषि पेशामा लगानीको धेरै जोखिम छ । अन्य व्यापारिक क्षेत्र भन्दा नाफा कम हुने भएकाले पनि सबै देशहरुले कृषिमा अनुदान मार्पmत लागानी गरिरहेका छन् । आजको दिनमा किसानलाई मात्र दिने अनुदानको कुरा गरिन्छ तर कृषिसंग सम्बन्धित अन्य उद्योगमा निजी लगानी बढ्दै गइरहेको अवस्था छ ।
० तर सरकारले बाँड्ने अनुदान वास्तविक किसानसम्म पुगेन भन्ने गर्दछन् हो ?
कृषिको अनुदान वास्तविक कृषककोमा नपुगेको भन्ने कुराको अनेक व्याख्या गर्न सकिन्छ । किसान को हो ? अनुदान कसलाई दिने ? खेतमा उत्पादन गर्ने व्यक्ति वा फार्म मात्र कृषक हो वा उनीहरुबाट उत्पादित उपजलाई विभिन्न रुपमा उपभोक्ताहरु सम्म पुराउने उद्यमी पनि कृषक हुन् ? पहिले त यो केलाउनु जरुरी छ ।अनुदानमा सबैले आफुलाई आवश्यक पर्ने यन्त्र उपकरण माग गर्ने हो र सरकारले माग जायज भए नभएको जाँच गरेर मात्र वितरण गर्नु पर्दछ । किसानहरुले माग गरे बमोजिम अनुदान नपाएका वा आफूले नपाएका कारण पनि आरोप लागेको हुन सक्छ । तर सबै कृषकहरुले माग गरे बमोजिम अनुदान नपाएको अवश्य हो किनभने माग निकै ठूलो छ, सरकारी निकायले पनि विभिन्न किसिमका छनौटको मापदण्ड बनाएका होलान् । त्यही मापदण्ड अनुरुप नै अनुदान दिने परिपाटी छ । सरकारी नीति जस्तो बनाइएका छ सोही अनुरुप नै अनुदान वितरण हुने भएकाले पनि अवका दिनमा नीतिगत रुपमा नै केही सुधार पो गर्नु पर्ने हो कि ? तर अहिले कृषि यन्त्र माग गर्ने किसानहरु असंख्य नै देखिनुहुन्छ ।
० सरकारले कृषि उत्पादकत्व दोव्वर बनाउने भनिरहेको छ यो अवस्थामा जनशक्ति अभावलाई परिपूर्ति गर्नका लागि कृषि यन्त्र प्रयोग बढाउनका लागि सरकारले के गर्नु पर्ला ?
सरकारले आफूले लिएको उदेश्य पूरा गर्ने र कृषिमा साँच्चै नै परिवर्तन गर्ने हो भने सवैभन्दा पहिले कृषि योग्य जमिन निर्धारण हुनुपर्नेछ र ठाउँ अनुसारको बालीको वर्गीकरण हुनुपर्दछ । दोस्रो कुरा के हो भने वर्गीकरण गरिएको बाली र स्थान अनुसारको उपकरणको सूची निर्धारण गर्ने र सो अनुसारको खेती गर्न दर्ता भएका कृषक, समूह, सहकारी र फार्महरुलाई अनिवार्य तालिमको व्यवस्था आवश्यक छ । त्यसै गरी तालिम प्राप्त योग्य व्यक्ति र फार्महरुलाई मात्र कृषि यन्त्र अनुदानमा दिनुपर्छ वा कष्टम हायरिङ सेन्टर । सर्भिस प्रोभाइडर भइ काम गर्न इच्छुकलाई सो अनुदान प्रवाह गर्नुपर्दछ ।
यसरी मेसिन वितरण भएमा अनुदानमा पुगेको मेसिनले उच्च प्रतिफल दिनुका साथै मेसिन संचालक जस्तो रोजगार सिर्जना हुने, मर्मत सम्भारको लागत घट्ने र समयमै बाली लगाउने कार्य हुनेछ र नेपाल सरकारको अनुदानले केही वर्षमै कृषि उत्पादनमा सकारात्मक प्रभाव अवश्य देखाउने छ ।
० नेपाली किसानहरु कृषि यन्त्र प्रयोग गर्नका लागि कति उत्सुक देखिनु हुन्छ कारण सहित बताएदिनुस् त ?
विषेशगरी हाते ट्रेक्टर, थोपा सिँचाई , प्लास्टिक घर, थ्रेसर, चाफकटर, रोटाभेटर लगायतका उपकरण र प्रविधि आत्मसात गर्न हाम्रा कृषकहरु निकै उत्साहित छन् । अनुदानमा माग गर्नेको संख्या पनि अधिक रहेको कृषि सम्बधि अध्ययनहरुले देखाएको छ । महँगो ज्याला, न्यून आम्दानी, समयको बचत, उत्पादनमा हुने वृद्घि लगायतका कारणहरुले अहिले कृषि यन्त्रहरुको माग उच्च रहेको छ ।
० नेपालमा कृषि यन्त्र प्रयोगको भविष्य छ ?
कृषि यन्त्रहको भविष्य नेपालमा उज्वल छ । आयात, उत्पादन, अनुदानको प्रक्रिया, वितरण र बिक्री पछिको सेवालाई अझ व्यवस्थित गर्न सके नेपाल कृषिमा आत्मनिर्भर मात्र नभइ निर्यात सम्म गर्न सक्ने अवस्थामा पुग्न लामो समय लाग्ने छैन । विषेशगरी खनजोत र उत्पादन सम्बन्धि उपकरणहरुको माग बढी छ । त्यसपछी, हार्भेष्टिङ, पोष्ट हार्भेष्ट लगायतका मेसिनहरुको माग पनि रहेको छ । मत्स्यपालन, पशुपालन र दाना उद्योग सम्बन्धि उपकरणहरुको माग पनि बढ्दै गइरहेको अवस्था छ ।