बिहिबार, अशोज ८, २०७७

कृषिमा युवा वर्गः चुनौती, अवसर तथा व्यवस्थापन

मनिता थापा,

विश्वभर फैलिएको कोभिड १९ ले मानबीय तथा आर्थिक संकट सिर्जना गरेको छ जसबाट नेपाल पनि अछुत रहन सकेन। पछिल्लो समयमा विश्वभरका विभिन्न राष्ट्रहरुसँगै नेपालमा समेत यो भाइरस तिब्र गतिमा फैलिरहेको छ ।यसको फैलावट सँगै राष्ट्रले तय गरेका विभिन्न क्षेत्रका दीर्घकालीन लक्षहरुलार्इ एकातिर थाती राखेर तात्कालीन संकट व्यवस्थापन तर्फ सबैको ध्यान केन्द्रीत भएको छ ।यसले कहिलेसम्म र कतिसम्म मानवीय र आर्थिक रुपमा क्षति पुर्याउने हो भनी कसैले पनि आँकलन गर्न नसकिरहेको बेलामा संक्रमणको अवस्था बढ्दै जाने हो भने खाद्यन्न अभाव, खाद्य असुरक्षा तथा भोकमरी चाहिँ निम्त्याउन सक्छ भनेर विज्ञहरुले आँकलन गरिरहेका छन् ।यो अवस्था आएमा अन्य राष्ट्रबाट आयात गरी खाद्यन्नको माग आपूर्ति गर्न पनि चुनौतीपूर्ण रहेको छ किनभने जुनसुकै राष्ट्रले पनि पहिले आफ्नो देश र जनताको माग सम्बोधन गरी बढि भएको परिमाण मात्र निर्यात गर्ने हो ।त्यसैले नेपालमा सबैभन्दा बढी खाद्यन्न निर्यात गर्ने भारत समेत यही भाइरसको संक्रमण तथा फैलावटले गर्दा आफ्नो राष्ट्रको माग सम्बोधन गर्नतर्फ केन्द्रित रहेको छ ।

त्यसैले नेपाल र नेपाली जनताको खाद्यन्नको माग आफ्नै देशको उत्पादन बाट पूर्ति गर्नुपर्ने आजको आवश्यकता रहेको  छ । समग्र कृषि क्षेत्रका लागि यो एउटा चुनौती एबं अवसरको अवस्था हो ।अवसर यसकारण की एकातर्फ सबैले कृषिको महत्व बुझ्नु भएको छ र यसको आवश्यकतालार्इ महशुस गर्नुभएको छ भने अर्कातर्फ ठूलो संख्यामा वैदेशिक भूमिमा रहनुभएका युवाहरु देश फर्कने र गाउँघरमा बस्ने क्रम बढ्नाले श्रमशक्तिको उपलब्धता भर्इ कृषि क्षेत्रले हालको अवस्थाबाट फड्को मार्ने सम्भावना बोकेको छ ।

युवा शक्ति कुनै पनि देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसङ्ख्याको सर्वाधिक सक्रिय¸ उर्जावान र गतिशिल समूह पनि हो । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र  साधन भएकोले यिनको विकास नभै देशको विकास असंभव छ। युवा अवस्थालाई विभिन्न मुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई जनाउँछ ।नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ ।

नेपालको जनगणना २०६८ अनुसार करीब ४०.३५% (करीब १ करोड ७ लाख) जनसंख्या युवा समूहमा पर्दछन् जसको झण्डै ४० प्रतिशत युवाहरु     विभिन्न ११० वटा मुलुकहरुमा रोजगारी, शिक्षा लगायतका कारणले बसोबास गर्दै आएका छन् ।त्यस्तै गरी झण्डै २० प्रतिशत युवाहरु बेरोजगारको अवस्था झेलिरहेका छन् भने बाँकी युवाहरु अर्धबेरोजगार, व्यापार व्यवसाय, कलकारखाना तथा उद्योगमा काम, कृषि कर्म, नोकरी लगायत अन्य पेशामा संलग्न रहेका छन् ।

कोरोना भाइरसको महामारीले सिर्जित मानबीय तथा आर्थिक संकटका कारणले शहर केन्द्रित भएका युवाहरु गाउँ घर फर्केका छन् भने कामको शिलशिलामा भारत गएका युवाहरु पनि ठूलो संख्यामा नेपाल भित्रिरहेका छन् ।त्यस्तै गरी अन्य मुलुकमा रहेका धेरै संख्यका युवाहरुसमेत नेपाल फर्कनका लागि अनुकूल वातावरणको पर्खाइमा रहेका छन् ।यसरी युबाहरू भित्रिसकेपछि नेपालमा कृषि क्षेत्रबाहेक अन्य क्षेत्रले समेट्ने सम्भावना न्यून रहेको छ किनकी पहिलेबाट यहाँ बेरोजगार युबाहरुको संख्या धेरै छ र उहाँहरु अन्य पेशा पाउन नसकेर नै विभिन्न राष्ट्रमा रोजगारीको खोजीमा जानुभएको हो ।युवाहरु कृषि क्षेत्रमा भित्रिँदै गर्दा विभिन्न चुनौती तथा अवसरहरु रहेका छन् ।

कृषि व्यवसाय भनेको दृढ इच्छाशक्ति र धैर्यता आवश्यक पर्ने व्यवसाय भएकाले नियमित रुपमा आम्दानी लिइरहेका युवाहरुमा ब्रेक लागेसँगै इच्छाशक्ति र धैर्यतामा कमी आउन सक्ने सम्भावना पनि रहेको छ ।त्यसैगरी ठूलो संख्यामा कृषि व्यवसाय सुरुवात भएको खण्डमा त्यही परिमाणको कृषि सामग्रीको आपूर्ति तथा व्यवस्थापनको आवश्यकता पर्ने हुनाले यसको व्यवस्थापन पनि थप चुनौतीपूर्ण रहेको छ ।विद्यमान कृषि क्षेत्रको संगठानिक संरचानामार्फत उपलब्ध हुने प्राविधिक सेवाटेवाले सबैलार्इ समेट्न सकिरहेको अवस्था छैन र कृषि व्यवसायीहरु थपिएसँगै उनीहरुको सीप तथा क्षमता अभिबृद्धि गर्न धेरै समय लाग्ने देखिन्छ । यसरी ठूलो संख्यामा युबाहरु कृषि क्षेत्रतर्फ आकर्षित भएको खण्डमा चुनौती भन्दा अवसरहरु बढी रहेका छन् ।पहिलो भनेको श्रम अभावका कारण लामो समयसम्म बाँझिएर रहेका जमिनहरु पुनः प्रयोगमा आउने हुनाले खेती गरिएको जमिनमा बृद्धि भर्इ कृषि क्षेत्रको उत्पादनमा बृद्धि हुन जान्छ ।हाल नेपालमा खेती गरिएको जमिनमध्ये करीब एक तिहाइमात्र व्यवसायिक प्रणालीबाट गरिन्छ भने युवाहरु भित्रिएसँगै परम्परागत खेती प्रणालीलाइ व्यवसायिकतातर्फ रुपान्तरण गर्ने अवसर प्राप्त हुन्छ।कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग तथा सूचना प्रविधिको पहुँचमा बढोत्तरी आर्इ गरिएको लगानीबाट बढी प्रतिफल प्राप्त हुन्छ ।

युवाहरुलार्इ कृषि क्षेत्रमा आकर्षित गरी व्यवस्थापन गर्न सकेमा चुनौती भन्दा बढी अवसर भएकाले सोका लागि कृषि क्षेत्रसँग संबद्ध नीति नियमकर्ता, सरकारी निकाय,गैह्रसरकारी निकाय, संघ/प्रदेश/स्थानीय तह समेतले तपशील अनुसारका क्षेत्रमा आवश्यक प्राथमिकता दिर्इ सोहीअनुसारका कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न आवश्यक रहेको छ ।

  • विदेशबाट फर्किएका युबासँग भएका सीप, ज्ञान र क्षमताको उच्चतम प्रयोगको अवसर प्रदान गर्ने तथा आवश्यक प्राविधिक ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्नमा सहयोग पुर्याउने ।
  • उद्यमशीलता विकास गरी स्वरोजगारतर्फ उन्मुख गराउने ।
  • आवश्यक कृषि सामग्री मूलतःबीउविजन, मलखाद, कृषि औजार तथा कृषि प्रविधिहरु समयमा उपलब्ध गराउने ।
  • कृषि कर्जा सर्बसूलभ र झंझटरहित प्रकृयामार्फत उपलब्ध गराउने ।
  • कृषि बीमालार्इ अनिबार्यता गराउने ।
  • उत्पादित कृषि उपजको बजारको सुनिश्चितता र उचित मूल्यको समायोजन गर्ने ।
  • स्थानीय तहमा रहेको कृषि शाखा तथा प्रादेशिक कृषिका कार्यान्वयनका निकायहरुमा आवश्यक जनशक्ति व्यवस्थापन, प्राविधिक क्षमताको विकास तथा काम गर्ने वातावरणको सिर्जना गर्ने ।
  • एउटा स्थानीय तहमा कम्तीमा एउटा बीउ बैँक, मल वितरण केन्द्र वा कृषि सामग्री आपूर्ति केन्द्र, भण्डार गृह, चिस्यान केन्द्र, कृषि (माटो, बीउबिजन, बालि संरक्षण) प्रयोगशाला, कृषि बजार केन्द्र, नर्सरी तथा स्रोत केन्द्र,कष्टम हाइरिङ् सेन्टर आदिको स्थापना/ संचालन गर्ने।

कृषि उत्पादन सामग्रीको सहज आपूर्ति, लगानीमा साझेदारी तथा बजारको सुनिश्चितता भएमा पक्कै पनि युवाहरु कृषि पेशालार्इ व्यवसायको रुपमा अँगाली खाद्यन्न लगायतका अन्य कृषि उपजको मागलार्इ राष्ट्रभित्रकै उत्पादन बाट सम्बोधन गर्न सकिने अवस्थाको सिर्जना हुन्छ । (लेखिका कृषि ज्ञान केन्द्र गोर्खाकी प्रमुख हुन् )

प्रकाशित मिति: बुधबार, जेष्ठ २८, २०७७