कृषिको कायापलट गर्ने पहिलो आधार : क्रान्तिकारी गह्रा सुधार

कृषिको आधुनिकीकरणको लागि पहिलो र अन्तिम शर्त नै सिधा सिधा लाइनमा खेती गरिनु पर्दछ भन्ने हो । तर त्यसरी सिधा सिधा हुनेगरि लाइनमा वा हार(हारमा विरुवा वा वीउ रोप्नको लागि खेतमा डोरी तानेर कुटोले बीउ खसाल्दैमा आधुनिकिकरण हुंदैन, त्यसरी लाइनमा विरुवा वा विउ रोप्नको लागि मेसिनको प्रयोग गरिंनु पर्दछ। मेसिनको प्रयोग हुनासाथ उत्पादन लागत स्वरुप लाग्ने मानविय श्रम मुल्यमा भारी गिरावट आउने हुन्छ।

मेसिन वीउ वा विरुवा लगाइने अवस्थामा विरुवादेखि विरुवासम्मको दुरी र हारदेखि हार सम्मको दुरी निश्चित मापदण्डका साथ निर्धारण गरिएको हुन्छ। दुरी वमोजीम हिसाव गर्दा प्रति एकाइ क्षेत्रफलमा लाग्ने मल, वीउदेखि लिएर अन्तिम उत्पादन समेतलाइ वाली कटानी भन्दा अगाडि नै आंकलन गर्न सकिन्छ। जसले गर्दा वजार व्यवस्थापनलाइ वाली टिप्नुभन्दा अगाडीनै सुनिश्चित गर्न सकिन्छ। तर हाम्रा खेतवारीहरुमा क्रान्तिकारी गह्रा सुधार नगरिकन, त्यसरी मेसिनवाट खेती गर्न खोज्दा कृषिले अपेक्षित प्रतिफल दिन सक्दैन। फलस्वरुप युवाहरु कृषिवाट पलायन हुन्छन। परम्परागत खेती प्रविधिमा विचलन आउंछ अनि खेतवारीहरु बांझो हुंदै जान्छन। परम्परागत खेतवारीहरुलाइ सुधारै नगरिकन आधुनिक खेतीको अपेक्षा गर्न सकिंदैन।

हाम्रो पहाडका खेतवारीका कान्लाहरु घुमेका छन्, बांगा टींगा छन् र कतिपय अवस्थामा यन्त्र उपकरणहरु सन्चालन गर्नका लागि अत्यन्तै सांघुरा छन। त्यस्ता खेतवारीहरुलाइ यन्त्र मैत्री वनाउनको लागि बांगा टींगा कान्लाहरुलार्इ सिधा सिधा पार्नु पर्दछ। त्यसको लागि चक्लावन्दीमा खेती गर्न तयार भएका जग्गाधनीहरु आपसमा मिलेर आफ्नो खेतवारीको जम्मा क्षेत्रफलमा तलमाथी नहुने गरि प्राविधिकको सहयोगमा हिसाव गरेर कान्लाहरुलार्इ सिधा सिधा पार्न सकिन्छ।

त्यसैगरि होचा होचा कान्लाहरु छन् भने २र३ वटा गह्राहरुलाइ मिलार्इ एउटै वनाउन सकिन्छ। तर त्यसो गर्दा कुनैपनि गह्राको सतहको माटोलार्इ पुरिन दिनुहुंदैन। सतहको माटोलाइ कृषियोग्य वनाउनको लागि वर्षौं वर्ष लागेको हुन्छ। त्यसैले मलिलो माटोलाइ खेर जान नदिनको लागि सतह देखि २० सेमि सम्मको गहिराइको माटोलाइ गह्रा सुधार गर्नुभन्दा अगाडी नै झिकेर अलग गर्न सकिन्छ।

आगामी सयौं वर्ष सम्म पनि खेतीपाती नै गरिनुपर्ने भएकोले गह्रा सुधार गर्दा पहिरो नजाने गरि सकेसम्म कान्लाहरुलाइ वलियो हुने तरिकाले ढुंगै ढुंगाको स्थाइ संरचना तयार गर्नुपर्ने हुन्छ। अन्यथा झारा टार्ने प्रकृतिको काम गरियो भने सुधारको नाममा पहिरोको विनासले झनै ठूलो समस्या निम्तिने सम्भावना रहन्छ। यस अनुसार गह्रा सुधार गर्ने हो भने जग्गाको स्वामित्व अनुसार दामासाहिले हिसाव गरेर लगानी तथा प्रतिफलको वांडफांड गर्न सकिन्छ र त्यो केवल प्राविधिक विषय मात्र वन्दछ।

अहिले मकै लगाउने सिजन शुरु भएको छ। त्यसकारण आधुनिकीकरणको विषयलाइ सजिलो गरि वुझ्नको लागि मकैको उदाहरणलाइ नै लिऔं। ७५ सेमी चौडा हारहरुमा हरेक २५ सेन्टीमिटरमको फरकले यदि मकैको विउलाइ सिड ड्रील मेसिन द्वारा माटोमा खसाल्ने हो भने प्रति रोपनी ३३०० वटा वोटहरु लगाउन सकिन्छ। यसरी लाइनमा मेसीन द्वारा वीउ छरिएको छ भने मकै वोटको गोडाइलार्इ पनि मेसिन वाटै गर्न सकिन्छ। अहिले मकै गोड्ने मेसिनहरु पनि वजारमा सजिलै पाइन थालेका छन।

यदि उम्रिए मध्येका ७५ प्रतिशत वोटमा मात्रै पनि प्रति वोट दुइ घोगा मकै फल्छ भनि मान्ने हो भने प्रति रोपनी ५८०० घोगा मकै फल्ने कुरा यकिन गरि, मकै छरेकै दिन घरमा बसिबसि हिसाव निकालेर व्यापारी संग संपर्क गर्न सकिन्छ। त्यसैगरी हरेक वोटको आवश्यकता अनुसारको खाद्यतत्व, सिंचाइ जस्ता उत्पादन सामाग्रीको समेत खेर नजाने गरि हिसाव गरेरै व्यवस्थापन गर्न सकिन्छ। तर यो सवै गर्नको लागि हाम्रा खेतवारीहरु यन्त्रमैत्री हुनुपर्दछ।

हामिले आज परंपरागत खेतवारीहरुमा यान्त्रीकरण सहितको आधुनिक प्रविधि पुर्याउने जो लक्ष लिएका छौं त्यो गलत छ। त्यसलाइ सफल पार्नको लागि सवैभन्दा पहिले हाम्रा खेतवारीहरुलाइ आधुनिकिकरण मैत्री हुनेगरि तयार गर्नै पर्ने हुन्छ। खेतवारीवाट हलो र गोरुलाइ विस्थापित गर्नको लागि हाते ट्रथाक्टर र पावर टिलरहरु प्रयोग गरिनु पर्दछ भनेर नै हामिले खेतीमा यान्त्रीकरणको अवधारणा ल्याएका हौं। तर आज हामि देशैभरीका पहाडी क्षेत्रमा जहां जहां जान्छौं त्यहांका किसानहरुले यस्ता मेसीनहरु तल्लो कान्ला वाट उपल्लो गह्रामा उकाल्नको लागि जन्मै देखिको वल लगाएर श्रम गरिरहेको देख्ने गरेका छौं। परंपरागत हलोको लागि तयार गरिएका गह्राहरुमा जोत्नको लागि हाम्रा किसानहरुले ले कांधमै आधुनिक ट्याक्टर वोकेर हिंडेको देख्दा जो कोहिको पनि मन कुंडिन्छ।

परंपरालाइ चिर्न र आधुनिकीकरणको फूल फूलाउनको लागि किसानले यसरी कांधमा ट्याक्टर वोकेर हिड्ने दिनको अन्त गरिनु पर्दछ। हाम्रा नितिहरुले यो विषयलाइ सम्वोधन गर्न सकेका छैनन। यन्त्र मैत्री हुनेगरी गह्रा सुधार नगरेसम्म आधुनिकीकरणको सपना देख्न सकिंदैन। परंपरागत वारीमा नयां प्रविधिको ट्याक्टरले जोत्नुपर्दा हाम्रा किसानहरुलाइ झन धेरै सास्ती भइरहेको कुरा हामिले महशुस गर्नै पर्दछ। हाम्रा किसानहरुले गह्रा सुधार गर्नुपर्ने विषयलाइ महशुस गरिसकेका छन।

यदि सरकारले क्रान्तिकारी गह्रा सुधार गर्ने यस्तो कार्यक्रमलाइ किसान माझ लिएर जाने हो भने यस कार्यक्रमले उच्च सफलता प्राप्त गर्न सक्ने देखिन्छ। आधुनिकीकरणको जग वसाउनको लागि कृषि विकास मन्त्रालयले यदि कुनै नयां भिजन ल्याउन चाहन्छ र सांच्चिकै यो देशको मुहार फेर्न चाहन्छ भने पहिलो प्रार्थमिकतामा राखी यहि क्रान्तिकारी गह्रा सुधारको कार्यक्रम वनाएर लागु गर्नु पर्दछ।

चक्लावन्दीमा खेती गराउनको लागी सरकारले हाम्रा फराकीला खेतवारीहरुलाइ आयातकार हुनेगरी प्लटींग गराउन किसानलाइ उत्साहित हुने गरि अनुदान दिइने कुरा आगामी वर्षको वजेट वाटै घोषणा गर्नु पर्दछ। क्रान्तिकारी गह्रा सुधार गरिएको जमिनलाइ अन्य प्रयोजनमा आउन नदिने प्रतिवद्दता लिएर निश्चित मापदण्ड वनाइ, कान्लाहरु सिधा सिधा गर्न लाग्ने मुल्यको कम्तिमा पनि ७५ प्रतिशत अनुदान सहित यो कार्यक्रमलाइ लागु गराउने तर्फ सम्पूर्ण कृषि संयन्त्रहरुको ध्यान जानु पर्दछ।

यसरी गह्रा सुधार गर्दा पहिल्यै देखी सेट भइसकेको माटोलाइ सकेसम्म कम चलाउनु पर्दछ अन्यथा पहिरोको जोखिम अत्याधिक वढेर जान्छ। सुधार गरेको अवस्थामा परंपरागत खेतवारीहरुवाट अपेक्षित प्रतिफल नआउंने हुंदा आजका युवाहरुले कृषिलाइ व्यवसायको रुपमा अंगाल्न सकिरहेका छैनन। वाहिरी श्रम वजारको मुल्यले कृषि श्रमको मुल्यलाइ सजिलै जित्ने वातावरण रहिरहेसम्म थप कृषि विकासको अपेक्षा गर्न सकिंदैन। यदि यथाशिघ्र आक्रामक योजनाहरुका साथ युवाहरुलाइ लक्षित गरि क्रान्तिकारी गह्रा सुधारको कार्यक्रम हरु सहितको यान्त्रीकरणलाइ नभित्र्याउने हो भने वार्षिक रुपमा १२ प्रतिशतले वढीरहेको खेतीयोग्य जमिन वांझिदै जाने क्रम झन झन वढेर जानेछ। हामी झन झन परनिर्भर हुंदै जाने छौं।

सरकारले आगामि वजेट देखि नै सम्वोधन हुने क्रान्तिकारी गह्रा सुधारको कार्यक्रमलाइ ल्याउने हो भने त्यसलाइ सफल पार्दै समृद्ध नेपाल वनाउनको लागि सामाजिक वातावरण तयार गर्न र आवश्यक श्रमदान गर्न हाम्रा युवाहरु हर तरहले तम्तयार हुने नै छन। कृषियोग्य भूमिको प्रयोगमा भईरहेको खण्डीकरण रोक्न, आफ्नो संबिधान आफैं वनाएको विरासतमा टेकेर अहिलेकै सरकारले सन्ततिको भबिष्यका लागि क्रान्तिकारी गह्रा सुधारमा यथाशिघ्र पहल कदमि लिनुपर्दछ। र त्यस्तो पहलकदमिलाइ हर तरहले सहयोग गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका कार्यान्वयन गर्ने निकाय हरु प्रतिवद्ध रहनु पर्दछ।

यन्त्रमैत्री हुने गरि सुधार गर्न सकिने सम्भावना भएका फांटहरुमा सिंचाइ, सडक, विजुली जस्ता आधारभुत सुविधाहरु लगभग पुगिसकेका छन। औद्योगीकरणको मुख्य नेतृत्व गर्ने सम्भावना भएका मकै, आलु, धान र तरकारी जस्ता मुख्य वालीहरुको उत्पादन र उत्पादकत्वमा गुणात्मक रुपले वृद्दि गराउने लक्षका साथ त्यस्तो वालीको सम्भावना भएका काभ्रेको खोपासी, सिन्धुपाल्चोकको वलेफी, पर्वतको ज्ञांदी, वझांगको देवल जस्ता अन्य पहाडी क्षेत्रका मलिला फांटहरुलाइ पहिलो चरणको लक्ष अन्तरगत समेटिनु पर्दछ। गह्रा सुधार गर्नकालागि अलि वढी नै लगानी लाग्ने भिराला क्षेत्रहरुमा चाहिं फलफूल तथा जडिवुटीको उत्पादन तर्फ जान सकिन्छ।

हज़ारौं बर्ष पछि ज़न्मिने हाम्रा सन्ततीहरूले पनि कम्तिमा खान चाहिं पाउनुपर्छ, र त्यस्तो खानेकुरा फलाउन खेतीयोग्य ज़मिन नै चाहिन्छ। हामिले भोगचलन गर्दै आइरहेको ज़मिनलाई ऊनै भबिष्यका सन्ततीहरूको लागि भनेर ूनासोू को रूपमा पुर्खाहरुले हाम्रो हातमा छोडेर गएका छन्। पुर्खाले हामिलाई हस्तान्तरण गरेज़स्तै, हामिले पनि हाम्रा सन्ततीलाई हाम्रा खेतीयोग्य भूमिहरु ज़स्ताको तस्तै तर समयअनुसारको सुधार गरेर झन धेरै उत्पादन हुने स्तरमा पुर्याएर बुझाईदिनु पर्दछ, ता कि तिनका छोराछोरीले पनि हामिले ज़स्तै गरि आरामले खान पाउन्।
केबल पाखुरामा उम्लिएको रगतको भरमा हाम्रा बाज़े(बराज़ुहरूले पहाडहरू सम्याएर बारी र खेतहरू तयार गरेका हुन्।

खेतबारीहरू आबाद गर्नको लागि उनिहरूसंग स्वाभिमानको बलमा उभिएको ूपौरखू वाहेक अरू केहि थिएन। यदि पुर्खाको महान विरासत वोकेको त्यो तातो रगत आज़ पनि हाम्रो पाखुरामा दौडिरहेकै छ भने, हामिले पनि आधुनिक कृषिको लागि हाम्रा खेतबारीहरूमा आजको आवश्यकता अनुसार माथी उल्लेख गरिए वमोजिम यन्त्र अनुकुल हुनेगरि सुधार गर्नै पर्दछ। कृषिको कायापलट गर्ने सपना लिएर अहोरात्र खटिरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको नेतृत्वले यो वुझ्न जरुरी छ कि कृषिको आधुनिकीकरण गर्ने पहिलो र अन्तिम आधार नै यहि हो ।