बुधबार, बैशाख ५, २०८१

किसानले कहिले पाउने न्याय

काठमाडौं, साउन । असत्यको जीत जस्तो देखिएपनि कालान्तरमा सत्यको नै जित हुन्छ । विष मिठो होला तर त्यसले ज्यान लिन्छ लिन्छ त्यसमा दुई मत नै छैन । हो अहिले असत्यको जीत र विष पनि औषधी हुने अवस्थाको महशुस गर्न थालिएको छ जताततै । जहाँ न्याय मरिरहेको देखिन्छ । न्यायको खडेरी लागिरहेको छ । त्यसैले होला, कुनै बेला न्याय नपाए गोर्खा जानु भन्ने उक्ति चलेको ।
अहिले विभिन्न कर्ममा रमाईरहेका आम नेपाली कुनै न कुनै अन्यायमा परिरहेका छन् । तर, न्याय पाउन सकिरहेका छैनन् । न्याय राजनीतिले बास गर्न थालेको छ । अझ त्यसमाथि किसानहरुको कुरा गर्ने हो भने त न्याय कुन चराको नाम हो भन्ने कुरा बुझन् पनि कठिन छ ।
जिन्दगी नै माटोमा सुम्पिने सोच बनाएर कृषि उत्पादनमा होमिएका किसानहरु सँधै अन्यायमा पर्ने गरेका छन् । किसान अन्यायमा अहिले मात्र होइन सयौं वर्षदेखि नै पर्दै आईरहेको छन् । न त किसानहरुले अहिलेसम्म न्याय पाएका छन् नत पाउने संकेत नै देखिएको छ ।
विगतमा परम्परागत कृषि पेशामा संलग्न रहेके जिवीकोपार्जन गर्दै आएका हामी र हाम्रा पुर्खा न्यायको पहुँचमा कहिल्यै पनि पर्न सकेनौं । जुन अहिलेसम्म विद्यमान छ । राजनीतिले गाँजेको हाम्रो समाज किसानहरु अन्याय खेपिनै रहे । न्यायको खोजी गर्र्ने प्रयास नै गरेरनन् । कारण उही ‘बोल्नेको पीठो विक्छ नबोल्नेको चामल पनि विक्दैन’ भन्ने उखान जस्तै ।
समय परिवर्तन भयो, व्यवस्था परिवर्तन भयो, शासन पद्दती पनि परिवर्तन भयो तर किसानलाई परिवर्तन गराउने प्रयास कहिल्यै भएन । त्यसैले होला परम्परागत कृषिलाई विस्थापित गर्दै व्यवसायिक कृषि गर्ने किसान यतिखेर न्याय खोज्दै आफूले उत्पादन गरेको कृषि उपजको सही मूल्य नपाउँदा आन्दोलन हुनु पर्ने वाध्यता छ । कृषि उपज सडकमा पोख्नु र फाल्नु पर्ने अवस्था आएको छ । यसलाई न्यायको खडेरी भन्दा केही फरक पर्ला र ?
यदि वास्तविक रुपमा नै किसानले न्याय पाईदिएको भए मलको अभाव व्यहोर्नु पर्ने थिएन होला, गुणस्तरीय बीउ देउ भन्दै सडकमा आउनु पर्ने थिएन होला अनि मरी मरी गरेको कृषि उत्पादनको मूल्य पाईन भन्दै धर्ना दिनु पनि पर्ने थिएन होला ? तर खै त परिवर्तित राज्य व्यवस्थामा किसानको परितर्वन ? कहिले पाउँछन् किसानले न्याय ? कसले दिन्छ किसानलाई न्याय ? न्यायको पहुँचका किसानलाई कसले पु¥याईदेला ?
किसानको खेतमा खडेरी, उत्पादनमा खडेरी, बजारको खडेरी, उचित मूल्यको खडेरी । अनि उत्पादन गर्ने आत्मामा नै खडेरी लागेपछि त्यसले विद्रोह निम्त्याउने बाहेक के गर्न सक्छ र ? भोकमरी अन्त्य गर्ने नारा वोकेर हिडिरहेको विश्वका उपल्ला बुद्धिजिवीहरुले आधार स्तम्भ किसानका कुरा कहिल्यै उठाउन सकेनन् । अव किसान आफै न्यायको लागि उठ्ने हो कि ?

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५