किसानमाराहरुले कहिल्यै किसानका समस्या सम्वोधन गर्ने छैनन

काठमाडौं, पुस । उखु किसानको समस्या अहिले काठमाडौंमा छताछुल्ल भएको छ । राज्य हाँक्ने कृषिका ठेकेदारहरुले यो समस्या कहिल्यै पनि समस्या ठानेनन् । हिजो उखु उत्पादन स्थलमा देखिएको किसानको पीडा आज पाँच तारे होटलमा बसेर किसानका नीति बनाउनेहरुको आँगन माईतीघर मण्डलामा देखिएको छ ।

किसानहरुले आफ्नो पसिनाको मूल्य मागिरहँदा सडकमा भिग मागे जस्तो गर्नु पर्ने वाध्यता आयो । सरकार कोही भोकै पर्दैन कोही भाकै मर्दैन भन्ने नाराका साथ सडक पेटीमा बस्नेहरुलाई संरक्षण गरिरहेका छ । तर असिना, पानी, हुरी बतास नभनी खेतका गरा गरामा सुगन्धित पसिना बगाएर आफ्नो जिवीकोपार्जन गरिरहेका किसानहरु भोकै सडकमा सुत्नु पर्ने वाध्यता आएको छ ।

हो, यो समस्या अहिलेको होइन लामो सयमदेखिको हो । हरेक वर्ष यस्तै समस्याले विरोल्दै आईरहेको छ किसानहरुलाई । ऋणमा डुवेर उत्पादन गरेको उखुको मूल्य कहिल्यै समयमा पाउँदैनन । सरकारका नाईकेहरुलाई निर्वाचनमा मात्र किसानका भोट चाहिन्छ र किसानका नाराहरु गुञ्जाउने गर्दछन् । त्यसपछि साहुहरुले किसान मारेर दिएको कमिशनमा मुख मिठ्याउँदै तारे होटलमा वैठक बस्ने गर्दछन् ।

होला केही संख्यामा रहेका किसानहरु माईती घर मण्डलामा चिच्चाईरहेका छन् । उखुको भुक्तानी जुटाईदेउ सरकार भन्दै । तर भोली त्यही केही संख्यामाथि थप किसानहरु सडकमा ओर्लिनु पर्ने वाध्यता आउन सक्छ ।

कुनै बेला रामेशहरुले गाउँ गाउँमा पुगेर गीत गाएका थिए, ‘हातल औजार हुनेहरु औजार लिएर उठ’ । राजनीतिक परिवर्तनका लागि हिजो तिनै कुटो कोदालो बोकेर सडकमा उत्रिएका किसानहरु रामेशले गाएका गीत गाउँदै औजार लिएर सडक आउने पर्ने अवस्था श्रृजना भएको छ । ढुक्क भए हुन्छ किसानमाराहरुले किसानका हक हितका लागि बोल्ने छैनन् । हिलाम्यै भएर खेतमा कुटो कोदालो गर्ने किसानहरु भन्दा किसानको पसिना लुट्नेहरुसँग नीति निर्माण गर्ने राजनीतिहरु त्यही उखुको गन्हाउने रस पिएर बसिरहेका छन् ।

खै कहाँ छ किसानहरुका हकहितका लागि बोलिदिने राजनीतिक दलसँग आवद्ध किसान संगठन ? कहाँ गयो जागिर खाईरहेका किसान आयोगका पदाधिकारीहरु ? किसान त सडकमा सुतिरहेको छ , खेतमा माटोसँग खेलिरहेका छन् उत्पादन गरिरहेका छन् अनि तिनै भतुवाहरुको गासका लागि मिठो अन्न उब्जाईरहेका छन् ।
हो अहिले उखु किसानहरु विगतमा भन्दा पनि गहिरो चोट वोकेर काठमाडौं आएका छन् ।

तर त्यही किसानहरुको नाम भजाउने व्यक्तिहरु सत्तामा चिल्लो गाडी चढेर माईतीघर मण्डला कै बाटो सडकमा भोको र रित्तो पेट बजाएर न्याय मागिरहेको किसानको पीडादायी अनुहार हेरेर पुल्चोकको क्वाटरतिर दौडिरहेको छ । धिक्कार छ, किसानको दुहाई दिँदै लुट मच्चाउँदै हिड्ने किसान मारा भतुवाहरुलाई । किसानले माग राखे साहुहरुसँग आफ्नो भुक्तानी माग गरे भनेर सिंहदरबार भित्रको चौघेरामा वैठक बसेर हावा निर्णय गर्नेहरुलाई ।

गतवर्ष पनि यस्तै पीडा थियो उखु किसानहरुलाई । किसानका पक्षमा बोल्न नसक्ने कृषि मन्त्रालय खारेज गर भन्ने हृदय नभएका हृदयश त्रिपाठी अहिले मन्त्री छन् तर तिनले किसानका पक्षमा बोल्नेवाला छैनन । उनलाई मन्त्रालय चाहिएको थियो मन्त्री बन्नु परेको थियो । उखु किसानको नाम लिएर भएपनि । उनले त एकै वर्षमा मन्त्री पाए । तर बर्षोदेखि उखु किसानहरुले उखुको पैसा पाएका छैनन ।

क्याविनेट मन्त्री हृदयश त्रिपाठी, कृषि मन्त्री घनश्याम भूसाल, उद्योग मन्त्री मातृका यादवले चिनी मिलका साहुहरुलाई २ घण्टाभित्र समातेर थुन्न सक्छन । तर उनीहरु त्यसो गदैनन् । किनकी किसानसँग केही छैन मिलका साहुसँग सवै थोक छ । किसानले पाच वर्ष एकचोटी भोट दिन्छ तर साहुले दिनदिनै केही न केही दिईरहन्छ । त्यसैले त भनेको किसानमाराहरुले कहिल्यै किसानका समस्या समाधान गर्ने छैनन ।