बिहिबार, चैत्र १५, २०८०

किसानको आँसु पिउँछन् कम्युनिष्ट सत्तामा पुगेका बेला

काठमाडौं, पुस । नगदे बाली उखु, उखु किसान राजधानी आएर सरकारलाई गुहारीरहेका छन्– ५ वर्षदेखि बेचेको उखुको मूल्य पाइएन । पैसा पाए घर जाने हो, पैसा नपाए यतै मरिदिन्छु ।
भनिन्छ आँसुले पोल्छ । शायद अरुलाई पोल्ला, कम्युनिष्टलाई आँसुले तातोन्यानो आउनेरहेछ । १७ हजारको हत्या हुने जनयुद्ध गरेका कम्युनिष्टहरु सत्तामा छन्, उनीहरुलाई हिजो आँसुले पोलेन, यस्ता निरीह किसानको आँसुले कसरी पोल्थ्यो र ? पोलेन ।
कम्युनिजम के हो ? यसको सबैभन्दा असल माष्टर हुन घनश्याम भुसाल । ओली सरकारले कामै गर्न सकेन, अनैतिक हो यो सरकार । हरेक साँझ विहान माफियालाई भेटेर भ्रष्टाचार गर्छ । मलाई त कम्युनिष्ट भन्न पनि लाज् लाग्छ भन्थे घनश्याम भुसाल । प्रचण्डलाई समेत व्यवहारले नै सिस्नोपानी ठोकेर सबक सिकाउन सक्ने बाठा बुढा प्रधानमन्त्री केपी ओलीका लागि घनश्याम भुसाल दुवातिर्की थिए । उनले कषिमन्त्रीको तुरुप के फालिदिएका थिए– ओलीका पाउमा लम्पसार परेर मन्त्री खानपुगे । बहाली गर्दै भनेका थिए– म किसानका लागि काम गर्छु ।
किसान सडकमा यसरी बिलाप गरिरहेका छन् । धरधरी रोइरहेका छन् । आफूले ऋण गरीगरी उव्जाएको उखु बेचेको मूल्य पाउँ भनिरहेका छन् । पुसको ठिहिराउने चिसो महिना, राजधानीको सडकमै डङ्रङ्ग ज्यान फालेर लडेका छन् । कृषकका लागि काम गर्ने सर्वहाराको व्याख्याता कृषि मन्त्री घनश्याम भुसालको अत्तोपत्तो छैन । महाभारतमा घनश्याम थिए तारण हार । नेपाली सत्ताको महाभारतमा कम्युनिष्ट घनश्याम छन्, जो यस्ता कृषकको रगत पसिना पिउने उद्योगीहरुसँग अँध्यारोमा आन्द्रा जोड्छन् र उज्यालोमा अब कृषि क्रान्ति हुन्छ भन्छन् ।
घनश्याम भुसालको कृषि क्रान्ति भनेको आफ्नो उब्जनीको मूल्य नपाएर सडकमै यसरी रुनु, कराउनु, चिच्याउनु र मर्नु रहेछ । कमरेड घनश्याम भुसालको सर्वहारावाद भनेको किसानको जीवन हरण गर्नुरहेछ ।
उद्योग मन्त्री छन् लेखराज भट्ट । सुदूरपश्चिमका अर्वपति । जनयुद्धकालमा माओवादीलाई जुनबेला पनि नगदको सहयोग गरेकाले माओवादीभित्र उनलाई नगदे नेता पनि भनिन्छ । ती नगदे नेताले संसदीय समितिमा अचम्मको जवाफ दिए– हामी चिनी मालिकलाई खोज्दैछौं ।
चिनीमिल मालिक २ नम्बर प्रदेशका सांसद छन् । अरु चिनीमिल मालिक नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँग दिनका ५ पल्ट वार्तालाप गर्छन् । त्यस्ता उद्यमीलाई सरकारले खोज्दैछौं भन्नु सरासर ढाँट्नु हो । कम्युनिष्टको शासन भनेको ढाँट र छल हो ?
त्यसै पनि केपी ओलीको २ वर्षे शासनकाल हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, अनियमितता, राजनीतिकरणले भरिपूर्ण छ । कालाबादल हो ओली शासनकाल, जुन बादलमा उज्यालोको कुनै संकेत नै छैन । समृद्ध नेपाल सुखी नेपालीको नारा लगाएर अहं र अहंकारमात्र देखायो यो सरकारले । ठाडो शव्दमा भन्ने हो भने गुलियो दलेको विषालु मिठाइ हो यो सकार । जोसँग झण्डै दुई तिहाइको जनमत छ र यही आधारमा अधिनायकत्व चलाइरहेको छ । यही सरकारले प्रेसको मुखमा बुजो लगाउने कानुनसमेत बनाउँदैछ ।
कृषकहरु तीनहप्तादेखि सडकमा यसरी लम्पसार परेर ज्यान फालिरहेका छन् । त्यही बाटो भएर नीतिनिर्माता, न्यायाधीश, सामाजिक अगुवा, मानवाधिकारवादी, वकिल, विदेशी कूटनीतिज्ञहरु आवतजावत गरिरहेका छन् । कसैले तिनलाई अन्याय भयो भनेका छैनन् । के यी सबै अन्यायका समर्थक हुन् ? यस्तो अवस्थामा लोकतान्त्रिक सर्वोच्च अदालतले सरकारलाई सिधै के हो यो भन्न सक्नुपथ्र्यो ? मानवाधिकारवादीले ऐक्यवद्धता जनाउन पुग्नुपथ्र्यो । जनप्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक समाज हुलै बाँधेर किसान किन सडकमै ज्यान फाल्न तैयार छ भनेर बुझ्न र न्यायको आवाज उठाउनु पथ्र्यो ।
नयाँ नेपाल बनाउन तम्सेका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी किसानमारा उद्योगीको विरोधमा र किसान किन अन्यायमा परे भनेर बुझ्न र बोल्न जानुपथ्र्यो । कोही गएनन्, मानौं तराईका यी किसान नेपाली नै होइनन् । अपराधी हुन् । यस्तो विभेदाकारी शासन व्यवस्थाले न्यायपूर्ण समाजको, नेपाली एकताको जगेर्ना गर्न सक्देन । शासन शक्तिका लागि हो, कानुन शक्तिशालीले मनलागी चलाउने पाउने हतियार हो र न्यायका लागि कुनै राजनीतिक दल बोल्दैनन् भने यी नेपालीले के का लागि लोकतन्त्र मान्ने ? लोकतन्त्र जिन्दावाद किन भन्ने ? लोकतन्त्रले लोकको पीडा हेर्दैन भने त्यस्तो लोकतन्त्रको गरिमा र महिमा कि बढाउने ?
संविधान कार्यान्वयनमा छ र गाउँसम्म सिंहदरवार पुगेको झ्याली पिटिदैछ । सिंहदरवार गाउँ पुगेको भए गाउँ किन सिंहदरवार अगाडिको सडकमा यसरी लडिरहेको छ ?
गुलियो चिनीको तीतो यथार्थमात्र होइन यो, यो सिंहदरवारको मृत्यु हो । यो संविधानको मृत्यु हो । यो लोकतन्त्रको मृत्यु हो ।
यी किसानले ऋण लिएर उखु उत्पादन गरे । आफैले लगेर चिनीमिलमा बेचे । बेचेपछि यिनले पाएका भर्पाइ हो । भर्पाइ पैसा होइन । हरेक वर्ष भर्पाइ बढ्दै गयो । उता ऋणको सावा ब्याज पनि बढ्दै गयो । अव त आत्महत्या गर्नुपर्ने स्थितिमा पुगिसकेका छन् किसान । मर्ता क्या नही कर्ता । किसान राजधानी आए र न्याय चाहियो भनेर सडकमा लडेका छन् । लोकतन्त्रले तत्काल लोकको यो पीडा बुझ्नुपथ्र्यो । सरकारले किसानका लागि दिएको अनुदान रकमसमेत चिनीमिल मालिकले खाइदिए । किसानको उत्पादन खायो, सरकारको अनुदान खायो र सरकार अझै पनि त्यस्ता शोषक उद्यमीको पक्षमा उभिएर लोकमाथि यति निर्दयी बन्ने ? योभन्दा लोकतन्त्रको हार अर्को हुनसक्दैन ।
अव त संसदीय समितिले समेत किसानको बक्यौता तत्काल भुक्तानी दिन निर्देशन दिएको छ । उद्योग र कृषिमन्त्री निर्देशन सुन्दैनन् । प्रधानमन्त्री बोल्दैनन् । लोक मरिरहेका छन्, लोकतन्त्र मरिरहेको छ । नेपालमा लोकतन्त्र छ भनेर कसैले भन्छ भने यी किसानको आँसु र पीडा हेरुन् अनि निर्णय गरुन् । –राजन कार्की ( लेखमा उल्लेख गरिएका कुरा लेखकको निजी विचारमा आधारित छ । )

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६