शुक्रबार, बैशाख ७, २०८१

कफी उत्पादन सात प्रतिशत वृद्धि

काठमाडौँ, मङसिर १  गते ।  मुलुकको व्यापार घाटा कम गर्नका लागि अन्तर्राष्ट्रिय बजारमा उच्च माग र रहेको कफी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
१३ औँ राष्ट्रिय कफी दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले पर्याप्त उत्पादन र निर्यातको सम्भावना रहेको कफी खेतीलाई व्यवस्थित एवं विस्तार गर्न सके चुलिँदैगएको व्यापारघाटा न्यूनीकरण गर्न सकिने बताएका हुन् । coffee
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले अहिले देश आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्दछ भन्ने साझा सोचको सङ्घारमा रहेका बेला निर्यातजन्य कृषि उपजका रूपमा विश्व बजारमा एक छुट्टै पहिचान बनाउन सफल कफीले पनि मुलुकको आर्थिक समृद्धिको यात्रामा आफ्नो विशेष र खास प्रकारको स्थान लिने कुरा अन्तर्राष्ट्रिय अनुभवले समेत देखाइसकेको स्पष्ट पार्नुभयो ।
मुलुकमा आयात हुने तथा निर्यात हुने कफीको मात्रा घट्दैगएको हुँदा स्वदेशमा नै खपत बढिरहेको देखिएको भन्दै उहाँले स्वदेशमा नै कफीको खपत बढिरहेको हुँदा आयात निर्यात दुवैमा कमी आएको बताउनुभयो ।
देशमा कफी क्याफे हाउसको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दैगएको उहाँले बताउनुभयो ।  नेपाली कफी भनेर भारतीय कफी बिक्री गर्ने गरेको गुनासो आएको भन्दै उहाँले आयातीत भारतीय कफीलाई सोहि नाममा नै बिक्री गर्न व्यवसायीलाई आग्रह गरेको बताउनुभयो ।
बोर्डका कार्यकारी निर्देशक गौतमले नेपाल खुला बजारको पक्षपाती भएको र सरकारी रेकर्डमा कफी आएको नदेखिएको भन्दै रोक्न नसकिने भन्दै उहाँले डब्लूटीओको सदस्य भएको हुँदा भारतबाट आउने कफी रोक्न नसकिने र भन्सार वृद्धि गर्न सकिने भए पनि आउने कुरा रोक्न नसकिने बताउनुभयो ।
कफी व्यवसायी महासङ्घका अध्यक्ष ढकेश्वर घिमिरेले नेपाली कफीको गुणस्तर उच्च कोटीको रहेको र अन्य कफीभन्दा अधिक मूल्यमा विश्व बजारमा बिक्री भइरहेको बताउनुभयो ।  नेपाली कफी अर्गानिक कफी भएको र यो कफी फिल्टर कफीका रूपमा मात्र प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।
कफी व्यवसायी कृष्ण घिमिरेले विश्व बजारमा नेपाली कफीको माग बढिरहेको भए पनि उत्पादन हुन नसकेको गुनासो गर्नुभयो ।  नेपाली कफीको बजारलाई समस्या नभएको भन्दै अहिले पनि छ हजार टनको माग भए पनि उत्पादन बढाउन नसकिएको उहाँको गुनासो थियो ।
पछिल्ला दिनमा नेपाली कफीको पनि ‘ब्रान्डिङ’ हुन थालेको हुँदा नेपालीले स्वदेशमा नै कफी उपयोग गर्न लागेको भन्दै अहिले विभिन्न १० वटा कम्पनीले नेपाली कफी स्टोरमा ब्रान्डिङ गरेर बिक्री गरिरहेको उहाँले बताउनुभयो ।
बोर्डले यो वर्ष मङ्सिर १ गतेदेखि लागू हुने गरी कच्चा कफीको मूल्य गत वर्षको मूल्यलाई नै कायम गरेको जानकारीसमेत दिएको छ ।  बोर्डकाअनुसार पार्चमेन्ट कफी ग्रेड ए अर्गानिक प्रमाणीकरण भएको कफीको मूल्य ४१५ प्रतिकेजी तोकेको छ ।  त्यस्तै अर्गानिक प्रमाणीकरण नभएको पार्चमेन्ट कफी ग्रेड बीको चार सय रुपियाँ तोकेको छ ।
बोर्डकाअनुसार देशभर कुल ४६६ मेट्रिक टन ग्रीन बीन उत्पादन भएको छ, जुन गत वर्षको तुलनामा सात प्रतिशतले बढी हो ।  त्यस्तै कफीरोपण क्षेत्रफल बिस्तार हुँदै यो वर्ष दुई हजार ६४६ हेक्टर पुगेको छ ।  हाल मुलुकभर ४२ जिल्लामा कफी उत्पादन हुने गरेको छ भने गुल्मी, ललितपुर र सिन्धुपाल्चोक जिल्लामा अर्गानिक उत्पादन हुने गरेको बोर्डले उल्लेख गरेको छ ।
हरेक वर्षको मङ्सिर १ गते राष्ट्रिय कफी दिवस मनाइँदैआइएको छ ।  यस पटक कफी दिवसको नारा ‘आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान !!’ तय गरिएको छ ।  विगतमा नर्सरी वर्ष २०७२, रोपण वर्ष २०७३ मात्रात्मक उपलब्धिका दृष्टिकोणले उत्साहप्रद नै देखिएको बोर्डले जनाएको छ ।  कफी रोपणका सन्दर्भमा अझ बढी प्रचारात्मक र चेतनामूलक पनि भएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४