achut-dhakal

उत्पादनबृद्धि देखि आधुनिकीकरणसम्मको उदेश्य छ

Dec 19 • अन्तरवार्ता

achut-dhakal
अच्युत ढकाल
परियोजना निर्देशक
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

० प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको काम कहाँ पुग्यो ?
यो आयोजना भर्खर भर्खरै शुरु भएकाले जोन र सुपर जोनहरुमा कर्मचारीहरु खटाउने काम सम्पन्न भएको छ । कतिपय जिल्लामा कर्मचारीहरु पुगेर आफ्नो काम थालनी पनि गरिसक्नु भएको छ । अव यसले चाडै नै गति लिन्छ मैले जानकारी पाएसम्म धेरै ठाउंहरुमा कार्यालय स्थापना भईसकेको छन् केही ठाउंमा वाँकी छन् । कार्यालय स्थापना भईसकेपछि आफ्नो कार्ययोजना अनुरुप नै परियोजना अगाडि बढ्छ ।
० श्रावणको पहिलो हप्ताबाटै शुरु गर्न भनिएपछि एउटा चौमासिक सकिसकेपछि कार्यालय स्थापान हुंदैछ किन ?
सवैभन्दा पहिलो परियोजनाको कार्यक्रम स्वीकृत हुनका लागि नै केही समय लाग्यो । नयाँ आयोजना भएकाले यो कसरी जान्छ भन्ने कुरा जानकारी गराउनु पर्ने भएकाले पनि समय लम्वियो । अर्को कुरा जनशक्तिका लागि पनि हामीलाई केही समय लागेकै हो । त्यसपछि हामीले पाउने अख्तियारी पनि मंसिरको पहिलो साता वितिसकेपछि मात्र आएको हुनाले पनि ढिला भएकै हो ।
० कृषि क्षेत्रमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निकै चर्चा छ नि चर्चाले बढी भएर काम बढ्न सक्ला र ?
मैले भन्नु पर्दा यो अत्यन्तै राम्रो र विशिष्टिकृत रुपमा ल्याइएको कार्यक्रम हो । यो विशेष महत्व बोकेको कार्यक्रम पनि भएको नाताले चर्चा हुनु स्वाभाविक पनि हो । अर्को कुरा नेपाल सरकारको आफ्नै लगानीमा स्वदेशी सोचले ल्याएका कारण पनि बढी चर्चा भएको छ । यसले कृषिको विशिष्टिकरण गर्ने कुरालाई महत्व दिएको छ । संगसंगै आधुनिकीकरणका कुराहरु, उद्योगसंग कृषिलाई जोड्नु पर्दछ भन्ने किसिमले आएको हुनाले यो पूर्ण प्याकेज पनि हो । यसले गर्दा थोरै समयमा नयां स्वरुप कृषि क्षेत्रको परिवर्तनका लागि दिन्छ । यसले १८ वटा बाली र बस्तुको मूल्यश्रृखलालाई हेर्ने भनेर आएको छ । त्यसैले यो विशेष किसिमकै परियोजना हो ।
० कृषि विकास मन्त्रालय मातहतमा रहेका अन्य आयोजना र यो आयोजनामा फरक के ?
जुन बस्तु र बालीको विकासका लागि विशिष्टिकृत कुरा यो आयोजनाले गरेको छ त्यो अन्य आयोजनाले गरेका छैनन् । जस्तै झापाकाका लागि धानलाई मात्र महत्व दिएका छौं । यसले धान उत्पादन बृद्धि गर्ने मात्र होइन ‘आलीदेखि थालीसम्म’ भनेजस्तै उत्पादनदेखि बजारीकरणसम्मका लागि सवै अवयवहरुले समेटेको छ । त्यसले गर्दा पनि यो आयोजन अरु आयोजनाभन्दा पृथक छ । र यसले ठाउं विशेष र हावापानी विशेषलाई जोड दिएर आयोजना आएको छ । एउटै बालीमा जोड दिएर आएको हुनाले त्यससंग सम्वन्धित विज्ञहरु नै आयोजना क्षेत्रमा हुने भएकाले किसानहरुका समस्या पनि समाधान हुन्छ । अर्को कुरा अरु आयोजनाले पहिले नै अनुदानका कुरा गरेको छ भने यसले प्रतिफलका आधारमा अनुदान पाउने व्यवस्था गरेको छ । यो आयोजना आवश्यकतामा आधारित भएर जाने भएकाले पनि अरु आयोजनासंग धेरै फरकहरु छन् । अरु आयोजना विदेशी लगानी र विदेशी व्यक्तिहरु समेत बसेर बनाएको देखिन्छ भने यो आयोजना स्वदेशी लगानी र स्वदेशी नै व्यक्तिहरुले बनाएको आयोजना हो ।
० सिङे मन्त्रालयले किसानसंग प्रत्यक्ष सरोकार राख्ने सेवा केन्द्रमा नै दक्ष प्राविधिक पु¥याउन नसकिरहेको अवस्थामा यो आयोजनाले सांच्चै विज्ञहरु व्यवस्थापन गर्न सक्ला ?
यहाले उठाउनु भएको कुरा जायज छन् । त्यही भएर नै गतबर्षदेखि कृषि क्षेत्रको विकासका लागि प्राविधिक जनशक्तिको अभावपूर्ति गर्नका लागि एक गाउं एक प्राविधिकको सोच आएको हो । गत बर्ष ५ सय कृषि प्राविधिकहरु भर्ना गरिएको छ । यो बर्ष थप एक हजार भर्ना गर्ने क्रममा छ । यी आयोजनाहरुमा पनि ती प्राविधिकहरुलाई समेट्ने लक्ष्य लिइएको छ । तर शंका कहांनेर हो भने आयोजनाले जिल्लाका प्राविधिकहरु काजमा लैजादा जिल्लाको काममा अवरोध पर्ने हो कि भन्ने हो त्यो हुंदैन । यो आयोजनाको सोच पनि प्राविधिक सेवाको पहुंच अझ बृद्धि गर्नेभएकाले समस्या नहोला ।
० यो आयोजनाले जोन सुपर जोन तोकेर वेग्लै कार्यालय खडा गरेर बस्नु भनेको जिल्ला कृषि विकास कार्यालयहरुका लागि समानान्तर संगठन जस्तो भयो भन्ने आरोप छ नि ?
यो आयोजना जिल्ला कृषि विकास कार्यालयका लागि समानान्तर संस्था हुंदै होइन । यहांले पनि हेर्नु भो भने थाहा हुन्छ । यो एउटा बस्तु वा बालीलाई लक्षित गरी आएको फोकस कार्यक्रम हो । यसले कुनै बालीलाई मात्र फोकस गर्दछ । उदाहरणका लागि कुनै जिल्लामा अदुवा, बेसारको जोन बनाएको छ भने त्यहां विगतदेखि नै जिल्ला कृषि विकास कार्यालयको पहुंच त्यो क्षेत्रमा नगएको पनि हुन सक्छ नि ? हो त्यस्ता कुराहरुलाई यो आयोजनाले समेट्छ । उत्पादन बृद्धि गर्नेदेखि आधुनिकीकरण, यान्त्रिकीकरण प्रयोग गर्नेसम्मका कुरा छन् । त्यसले समानान्तर संस्था होइन भन्ने हो ।
० तर जिल्ला कृषि विकास कार्यालयको प्रमुख र एउटा निश्चित जोन वा सुपर जोनको परियोजना प्रमुखको पदीय हैसियत एउटै भएकाले प्रतिष्पर्धी जस्तो भयो भन्ने त छ नि ?
तपाईले भनेको कुरामा के फरक छ भने जिल्ला कृषि विकास कार्यालयले जिल्लाका सवै बस्तु, बाली हेर्दछ । तर यो आयोजनाले सवै कुरालाई हेर्दैन । निश्चित क्षेत्रमा निश्चित बालीलाई मात्र हेर्ने काम गर्दछ । यसको अभिष्ट नै फरक छ । यसको अभिष्ट भनेको त्यो ठाउंको अवयवहरुलाई अगाडि बढाउने सोचेको छ । धेरैले थाहा नपाएको पनि हुन सक्छ । पकेट र व्लक जिल्ला कृषि विकास कार्यालयले नै हेर्ने हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आयोजनाले हेर्ने जोन र सुपर जोनलाई दिएको बजेट र जिल्ला कृषि विकास कार्यालयलाई पकेट र व्लकका लागि छुट्याएको बजेट उस्तै उस्तै छ ।
० त्यसो भए यो परियोजना स्वायत्त रुपमा काम गर्न सक्ने भयो, जिल्ला कृषि विकास कार्यालयसंग समन्वय नहुन पनि सक्छ ?
यो एउटा परियोजना हो । हरेक परियोजनाहरुको निश्चित समयअवधि तोकिएको हुन्छ । यसकोपनि १० बर्ष अवधि छ । अहिले हामीले सञ्चालन गरेका जोन तथा सुपर जोन स्थायी हुने होइन । आगामी तीन बर्षपछि हामीले अर्को जोन वा सुपर जोन बनाएर जान सक्ने अवधारणा रहन्छ । किन भने तीन बर्षसम्म सो ठाउंमा हामीले सेवा टेवा उपलब्ध गरिसकेपछि त्यो आफै दिगो बन्छ भन्ने हो । यद्यपी जिल्ला कृषि विकास कार्यालयमा जसरी फरक फरक शाखाहरु छन् । यो पनि त्यस्तै विशेष बालीहरुलाई मात्र महत्व दिएर आएको हुंदा आधुनिकीकरणदेखि बजारीकरणसम्मका कुराको जिम्मेवारी लिन्छ । यो परियोजनाले लक्ष्य लिए बमोजिम उद्योगसंग सम्वन्धित भए उद्योग मन्त्रालय मार्फत नै जाने, ठूला तथा मझौला सिंचाईका लागि सिंचाई मन्त्रालय कै माध्यमबाट बजेट समेत जाने भएकाले मन्त्रालय वीचको अन्तरसम्वन्ध पनि यो परियोजनासंग छ ।
० अन्त्यमा के भन्नु हुन्छ ?
यो परियोजना एउट बेग्लै किसिमको अभिष्ट वोकेर आएको परियोजना हो । यो किसानहरुको बाली विशिष्टिकरणलाई पनि अगाडि बढाउने, यान्त्रिीकरणलाई पनि अगाडि बढाउने र सरोकारवाला निकायहरुलाई पनि संगै लिएर जानु पर्दछ भन्ने हिसावले सञ्चालन भएको परियोजना भएकाले पकेट, व्लक, जोन एवं सुपर जोनमा काम गरिरहनु भएका किसानहरुको भूमिका ठूलो र महत्वपूर्ण भएकाले आयोजनाबाट पाउने सेवा सुविधा लिनका लागि सरिक हुन आग्रह गर्दछु । -वैकुण्ठ भण्डारी

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »