शुक्रबार, चैत्र १६, २०८०

उच्च मूल्यका निर्यात योग्य कृषि बस्तुहरु प्रशस्त छ


डा. हरिबहादुर केसी
सचिव
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नं. १

० प्रदेश नंं १ को भूमि व्यवस्था, कृषि तथा सहकारी सचिवका रुपमा आउनु भएको छ । यो प्रदेशमा कृषिको वर्तमान अवस्था कस्तो छ ?
प्रदेश नं. १ समग्रमा भन्नु पर्दा कृषिमा अग्रणी प्रदेश हो । यहाँ तराई, पहाड र उच्च पहाड सवै भएकाले सवै प्रकारका बालीनालीहरु र पशु पंक्षीहरु पाइन्छ । दुग्ध उत्पादन, पोल्ट्री, अलैची,अदुवा, सुपारी, चिया किवी जस्ता बाली बस्तुहरुको व्यवसायिक उत्पादन भईरहेको छ । विगतदेखि नै कृषिका लागि यो क्षेत्रलाई आफूलाई फरक ढंगले विकसित गर्दै पनि गईरहेको स्पष्ट छ । धानबालीका लागि पनि यो क्षेत्रले आफूलाई स्थापित गरेको छ । जुन खाद्यान्नबाली मध्येको प्रमुख बाली भएकाले पनि हो । यो बाली यो क्षेत्रमा अग्रणी अवस्थामा नै छ । यो प्र्रदेशमा कृषिलाई व्यवसायिक र निर्यात गर्ने केही बस्तु र बालीलाई प्राथमकिता दिएर अगाडि बढिरहेको पनि छ । तरकारी र फलफूल उत्पादनमा पनि यो प्रदेशको राम्रो सम्भावना छ । समग्रमा यो प्रदेश कृषि क्षेत्रको राम्रो सम्भावना भएको क्षेत्र हो ।
० संघीयता कार्यान्वयनका लागि प्रदेशमा मन्त्रालयहरुले काम थालनी गरिसकेका छन् भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालयले चाहि के गर्दैछ त ?
संघीयता कार्यान्वयनको शिलसिलामा हालै नयाँ संरचनाको रुपमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश स्तरमा स्थापना भएको छ । शुरुवाती चरण भएका कारण हामीले पनि कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापन र विविध तथ्यांक र विवरण संकलन कार्यहरु गरिरहेका छौं । प्रदेश सकारले हालै १०० दिने कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ । त्यसमा कृषिले व्यवसायिक रुप लिन सकिरहेको छैन, त्यसलाई मध्यनजर गर्दै यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुको व्यवसायिकरण, आधुनिकीकरण कसरी गर्ने भन्ने विषयमा हाम्रो ध्यान केन्द्रीत भएको छ । त्यस्तै गरी कृषिमा आत्मनिर्भरु बन्नु पर्दछ भन्ने अर्को ध्येय हो । आत्मनिर्भरता कसरी हुन सकिन्छ भन्ने तर्फ काम गर्ने प्रतिवद्धता र नीतिगत बुँदाहरु समेटिएका छन् । प्रदेशलाई कृषिमा आत्मनिर्भरता बनाउका लागि गर्ने विविध कार्यहरुलाई कार्यान्वयन कसरी ल्याउने र काम गरेर देखाउने भन्ने योजना बन्दै छ । त्यस्तै बढ्दै गईरहेको जग्गाको खण्डीकरणलाई निरुत्साहित गरी जग्गाको चक्लावन्दी मार्फत कृषि उत्पादन र व्यवसायिकरण तर्फ प्रोत्साहन गर्ने बाटोमा जाने नीति अनुरुप नै कार्यक्रमहरु भईरहेका छन् । समग्रमा उपयुक्त कृषि प्रविधिहरुको प्रयोग गरी कृषि क्षेत्रको यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायिकरण गर्ने दिशामा प्रदेशले योजना बनाउने क्रममा छौं ।
० विगतका कृषि विकास मन्त्रालयले ल्याएका योजना तथा कार्यक्रमहरु कार्यान्वयमा आउन सकेन भन्ने आरोप र चर्चा पनि हुने गरेको थियो अव प्रदेश सरकारले ल्याएका कार्यक्रम पनि त्यस्तै अवस्थामा पुग्ने हो ?
विगतको संरचनामा के भयो भन्ने कुरा भन्दा पनि अव नयाँ संरचनामा मुलुक हिडिसकेको छ । प्रदेश मन्त्रालयहरु भर्खरै स्थापना भईसकेको छ अव कसरी हिड्ने भन्ने तर्फ लाग्नु पर्दछ हामी पनि यस अन्तर्गत कुन कुन कार्यालयहरु, कार्यक्रमहरु रहने भन्ने विषयमा हालसम्म तय नभएका कारण छलफलमा नै जुटिरहेका छौ मन्त्रालय आफै फिल्डसम्म कार्यक्रम लिएर जान सक्ने सम्भावना पनि छैन । तसर्थ यी नीति योजना र कार्यक्रमहरु सञ्चालन र कार्यान्वयनका लागि स्थानीय तहसँग समन्वय गरेर कार्य गर्ने सोचमा छौं । साथसाथै बाली÷बस्तुगत संघहरुको परिचालन गरेर प्रदेशका योजना सञ्चालन गरिने छन् ।
० प्रदेश नं. १ मा निर्यात योग्य बालीहरु पनि प्रशस्त छन् तर निर्यात गर्न सकिरहेको छैन भन्ने गुनासो पनि व्यवसायीहरुले उद्यमीहरु गरिरहेका छन् नि ?
हाम्रो प्रदेशमा उच्च मूल्यका कृषि बस्तुहरु र निर्यात योग्य कृषि बस्तुहरुको उत्पादन प्रशस्त छ । त्यसलाई गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउन सकेनौ भने निर्यात गर्न सकिँदैन । विगतमा निर्यात हुन सकेन भन्ने कुरा होइन । हामीले निर्यात गर्न खोजिएका कृषि उपजहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाएका थियौं कि थिएनौ भन्ने कुरा हो । उत्पादन स्थलबाट सिधै निर्यात गर्न खोज्यौं कि ? उत्पादित बस्तुहरुको प्रशोधन र गुणस्तरीयता तर्फ ध्यान पु¥याएनौ कि त्यस तर्फ हामीले सोच्नु पर्दछ । प्रदेशको पहिचानका रुपमा स्थापित भएका बालीहरको उत्पादन र व्यवसाय प्रवद्र्धनका लागि संघीय निकायहरुको समन्वयमा र बस्तुगत संघहरुको सहकार्यमा योजना र कार्यक्रमहरु ल्याइने छन् । कार्यान्वयन गरिने छन् । खासगरी बजारीकरण र निर्यात प्रवद्र्धनमा सहजीकरणको जरुरत देखिएको छ । त्यस दिशामा कार्य गर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने छौं ।
० त्यसो भए प्रदेश नं. १लाई कृषिमा आत्मनिर्भर बनाउनका लािग यहाँहरुले प्राथमिकताका साथ कार्यक्रम ल्याउनु हुन्छ ?
समग्र प्रदेश खाद्यान्न उत्पादन र उपभोग दूध, मासु उत्पादनमा आत्मनिर्भर नै छ । अदुवा, अलैची, चिया, निर्यात भईरहेको छ । हाल भएको आत्मनिर्भरतालाई कायम राख्नै थप व्यवसायिकताको माध्यमबाट निर्यात प्रवद्र्धन गर्न आगामी कार्यक्रमको लक्ष्य हुने छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: सोमवार, चैत्र १२, २०७४