उच्च जोखिम युक्त खाद्य बस्तुमा दूध, तेल र पानी


सञ्जिवकुमार कर्ण, महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

० खाद्य स्वच्छताको चर्चा चलिरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले के गरिरहेको छ ?
अहिले बर्षायाम भएकाले बढी पानी र दूध लगायतका खाद्य बस्तुहरु बढी विग्रन र बाहिरी संक्रमण हुने बढी सम्भावना हुन्छ । यसका लागि हामीले खाद्य स्वच्छता अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिरहेका छौं । त्यसमा पनि विशेष गरी हामीले दूध र पानीलाई प्राथमिकता दिएर अनुगमन गर्ने, नमूना संकलन गर्ने र त्यसको परीक्षण गर्ने र सोही अनुरुप कार्वाहीको प्रक्रियामा ल्याउने काम गरिरहेका छौं ।

० तर यहाँहरुले अनुगमन तीव्रता दिएको भएपनि मिसावटका कुराहरु त सार्वजनिक भईरहेका छन् नि ?
हो । हामीले अनुगमनलाई तीव्रता पारेका कारणले नै यी कुराहरु बाहिर सार्वजनिक हुन थालेका हुन् । अहिले विशेष गरी दूध र पानीको कुरा आईरहेको छ । स्वच्छ दूध उत्पादन निर्देशिका हामीले बनाईसकेका छौं । त्यो स्वीकृत हुन वाँकी छ । त्यो निर्देशिका बमोजिम जुन जुन निकायहरु किसानदेखि उपभोक्ता तहसम्म (दूध उत्पादन गर्ने किसान, संकलन केन्द्र, चिलिङ्ग सेण्टर, ढुवानी सेवा र पसल पसलमा विक्री गर्ने विक्रेतासम्मले केके गर्नु पर्ने हो भन्ने कुरा स्पष्ट निर्देशिकमा उल्लेख भएको छ । निर्देशिकामा उल्लेख भएको कुराहरु सवै सरोकारवालाहरुले पालना गर्दै जानु पर्दछ ।
० तर तपाईहरु कानून बनाउँनु हुन्छ, अनुगमन गर्नु हुन्छ । तर कार्यान्वयन गर्नु हुन्न भन्ने आरोप लागेको छ त ?
कार्यान्वयनको कुरा गर्ने हो भने गत आर्थिक वर्षमा हामीले दोषी ठहरिएका दुई सय ३४ वटा खाद्य व्यवसायीहरुलाई खाद्य ऐन प्रतिकूल काम गरेको भनेर कार्वाही गरेका छौं मुद्दा पनि दायर गरेका छौं । अनुगमन गरेर मुद्दा दर्ता गरेर सुधार भएन । २०२३ सालमा खाद्य ऐन आयो २०२७ सालमा खाद्य नियमावली आयो । यसमा काम नगरिएको होइन तर सँधै निम्न गुणस्तर भएका मिसावट भएका खाद्यबस्तु बजारमा प्रशस्त छ । त्यसकारण दीर्घकालिन रुपमा यसको समस्या समाधान गर्नका लागि असल उत्पादन अभ्यास र आचार संहिता सहित जिम्मेवारी वोध गराईदिनु पर्दछ । जवसम्म जिम्मेवारी वोध हुँदैन तवसम्म यो सुधार हुँदैन । त्यसकारण उद्योगीदेखि विक्रेतासम्मलाई जिम्मेवारी वोध गराउनु पर्दछ । के हो उहाँहरुको जिम्मेवारी त्यो भन्नु पर्ने भयो ।
० तपाई कर्मचारीहरुकै मिलमतोमा गुणतस्रहीन खाद्य बस्तु बजारमा आउँछ भन्ने चर्चा त विगतमा पनि चलेकै हो ?
मिलेमतोमा भन्ने कुरा मलाई जानकारीमा छैन । कतिपय कुरा अफवाह पनि हुन सक्लान् । त्यस्तो भईदिएको भए हामी दुई सय ३४ वटा उद्योगलाई मुद्दा नै हाल्दैनथ्यौं । त्यत्रा उद्योगीहरुलाई मुद्दा दर्ता गराएर आएका छौं तैपनि मिलेमतो ग¥यो भन्नु गलत नै हुने छ ।
० त्यसो भए समस्या कहाँ छ त ?
समस्या भनेको हामीले गुणस्तरहीन खाद्य बस्तु उत्पादन गर्ने उद्योगीहरुलाई गर्ने दण्ड नै हो । कानूनले गर्ने दण्ड जरीवाना अत्यन्तै न्यून छ । त्यसकारण जरीवाना तिर्ने र निस्किहाल्ने काम भएको छ । थोरै जरीवाना तिर्ने र ठूलो गलत काम गर्ने काम भईरहेको छ । त्यसैले हामीले खाद्य ऐनमा नै जरीवानाको हद बढाउने र उसले गर्ने जिम्मेवारी वोध गरेभने त्यसपछि के गर्ने भन्नु कुरा पनि ल्याएका छौं । अर्को जसले उत्पादन गरेर बजारमा विक्री वितरणका लागि पठाउँछ उसले गुणस्तरको सुनिश्चितता गर्नु पर्दछ भनेर हामी अहिले अगाडि बढेका छौं ।
० तपाईले दूधको गुणस्तरको कुरा गर्नु भो, साना डेरी पसलदेखि ठूला उद्योगसम्मलाई पनि अनुगमन गर्ने काम भएको देखिँदैन नि ?
होइन ठूला डेरीमा अनुगमन हुने गरेको थियो तर साना डेरी पसलहरुलाई अनुगमन गर्ने नगरिएको हो । तर अव निर्देशिकाले साना डेरीलाई पनि अनुगमन गर्ने, उसले कस्तो चीज बेच्ने कस्तो नबेच्ने भन्ने कुरा पनि उल्लेख गरिएको छ ।
० पटक पटक जिम्मेवारी वोधको विषय उठाउनु भएको छ, तर नेपालमा जिम्मेवारी वोध गरिदिएको भए यस्तो हुन्थ्यो र ?
हिजो के भो भन्दा पनि अव जिम्मेवारी बोध गरेन भने कस्तो कार्वाही हुने सम्मका कुरा अव निर्देशिकामा नै उल्लेख हुने छ । जिम्मेवारीका बारेमा हामी जानकारी गराउँदछौं र पूरा गरेन भने कार्वाही गर्न हामी अगाडि बढ्छौं त्यति गरेपछि सुधार हुन्छ भन्नेमा हामी ढुक्क छौं ।
० अनुगमन निकै नै गर्नु भो कुन कुन खाद्य बस्तु बढी गुणस्तरहीन पाउनु भएको छ त ?
विगतको अवस्थालाई हेरेर हामीले जोखिमयुक्त खाद्य वस्तुका रुपमा वर्गीकरण गरेका छौं । उच्च जोखिम, मध्य जोखिम र न्यून जोखिम भनेर तीन श्रेणीमा विभाजन गरेका छौं । त्यसमा सवैभन्दा बढी जोखिम देखिएको पानी र दुधमा हो । हामीले सँधै खानु पर्ने बस्तुमा नै बढी जोखिम देखिएको छ । पानीका लागि निर्देशिका स्वीकृत भईसकेको छ भने दूधलागि स्वीकृत हुन वाँकी छ । निर्देशिका स्वीकृत भईसकेपछि कार्यान्वयका पक्षमा हामी कडाईका साथ कार्वाही गर्दछौं । निर्देशिका पालना नगर्ने उद्योगहरु वन्द गर्नेसम्मको कार्वाही गर्दछौं । खाद्य ऐनमा उल्लेख भए अनुरुप मद्दा दायर गर्ने काम पनि हामी गर्दछौं ।
० दूध र पानी जस्तै दैनिक प्रयोग हुने तेल पनि गुणस्तरहीन छ भन्ने कुरा सुनिन्छ नि ?
हामीले दैनिक खाने तले पनि उच्च जोखिममा छ । पानी त्यस्तै पिउछौं, अर्को दूधमा पनि त्यत्तिकै जोखिम देखिएको छ भने तेलमा पनि अत्यधिक मिसावट देखिएको छ । यसलाई न्यूनिकरण गर्नका लागि पनि हामीले असल उत्पादन अभ्यासका लागि निर्देशिका बनाउँछौं । र त्यसलाई नियन्त्रण गर्दछौं । जनताले दैनिक उपभोग गर्ने तेलको गुणस्तरताका लागि हामीले निगरानी गरिरहेका छौं । उद्योगीहरुलाई केही अवधिपनि दिन्छौं । त्यो अवधि भित्र सवैले सुधार गरेको हुनु पर्दछ । सुधार गरेन भने कि उद्योग बन्द हुन्छ कार्वाही पनि भोग्छन् ।
० उद्योग नै वन्द गर्ने कार्वाही गर्न सक्नु हुन्छ त ?
सकिन्छ अहिले पनि हामीले २२ वटा पानी उद्योगहरु गुणस्तरही पानी उत्पादन गरेको भन्दै वन्द नै गरिदिएका छौं । त्यसकारण अन्य खाद्य उद्योगहरु जसले निर्देशिका पालना नगरी गुणस्तरहीन खाद्य बस्तुहरु उत्पादन गर्ने र बजारमा पठाउँछन् त्यस्तालाई हामी वन्द नै गराउनेसम्मको काम गर्न सक्छौं । -वैकुण्ठ भण्डारी