शुक्रबार, चैत्र १६, २०८०

उखुको मूल्य निर्धारण गर्न बसेको बैठक बिना निष्कर्ष टुङ्गियो

काठमाडौं  १६ मंसिर । उखुको मूल्य निर्धारणका लागि बसेको उखु उत्पादक किसान र चिनी उत्पादक कम्पनीहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । शुक्रवार बसेको बैठकमा ठोस निर्णय हुन नसकेपछि किसानहरू चिन्तित बनेका छन् । दिनप्रतिदिन बढ्दो उत्पादन लागत अनुसार मूल्य वृद्धि गर्नुपर्ने मिलगेट उखु उत्पादक सङ्घका अध्यक्ष बेद बहादुर बुढाथोकीले बताए । विगतको तुलनामा किसानको खेतीमा लागत बढ्दै जानु र उद्योगीले चिनीको मूल्यमा वृद्धि गर्दै लगेकाले उखुको मूल्य पनि वृद्धि हुनुपर्ने भन्दै बुढाथोकीले किसानको लागतलाई उचित सम्बोधन गर्दै उद्योगपतिहरूले उखु कृषकलाई खेतिप्रति आकर्षित गर्नुपर्ने बताए ।

“किसानको लागतमूल्य, खेतको जोताई, रासायनिक मल, कटान, ढुवानीलगायतका सम्पूर्ण खर्च दोब्बर भइसकेको अवस्थामा उद्योगपतिहरूले उचित मूल्य दिन आनाकानी गर्न हुँदैन”, बुढाथोकीले भने ।

बैठकमा कार्तिक महीनादेखि फागुन महीनासम्म सम्पूर्ण उखु क्रसिङ गरिसक्नुपर्ने प्रस्ताव गरिएको छ । फागुन महीनापछि उखु क्रसिङ गर्दा उखुको रस सुकेर तौल कम हुँदै जाने, गर्मीले गर्दा कामदार नपाउने, आगलागी हुनेलगायतका समस्या देखिने भएकाले उद्योगहरू समयमा नै सञ्चालन हुनुपर्ने बुढाथोकीको भनाई छ ।

चिनी उत्पादक कम्पनीहरू भने चिनीको अन्तरराष्ट्रिय मूल्यमा गिरावट आएकाले किसानले माग गरेको मूल्य कुनै पनि हालतमा दिन नसकिने बताउदै आएका छन् । अर्को वार्ता मङ्सिर २७ गते पुनः बस्ने भएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४