शुक्रबार, चैत्र १६, २०८०

आठ अर्बभन्दा बढीको खाद्यान आयात

विराटनगर, साउन । गत आर्थिक वर्षमा विराटनगर नाकाबाट रु आठ अर्बभन्दा बढीको खाद्यान र दलहन भारतबाट भित्रिएको छ । सो नाकाबाट रु आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्य बराबरको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिकटन खाद्यान आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।rice
सोमध्ये सबैभन्दा बढी रु तीन अर्ब ६६ करोड ३१ लाख ३३ हजार मूल्य बराबरको एक लाख ५२ हजार ६३१ मेट्रिकटन मकै आयात भएको छ भने रु तीन अर्ब १९ करोड ६५ लाख ३३ हजार मूल्य बराबरको ७९ हजार ९१३ मेट्रिकटन विभिन्न जातका चामल आयात भएको छ ।
आयात भएका यी चामल भन्सार कार्यालय भएर भित्रिएका छन् भने सीमावर्ती भारतीय बजारबाट तस्करीको रुपमा भित्रिएको र सर्वसाधारणले खानका लागि ल्याउने गरेको चामलको तथ्यांकमा यसमा समावेश गरिएको छैन् । भारतको जोगबनी बजारमा दिनहुँ किनमेल गर्न पुगेका कतिपयले चामल खरिद गरेर ल्याउने गरेको सहजै देखिन्छ ।
यसका साथै रु एक अर्ब, दुई करोड ७५ लाख ९३ हजार मूल्य बराबरको ४२ हजार ८१६ मेट्रिकटन गहुँ आयात भएको छ भने रु ४८ करोड नौ लाख ५९ हजार मूल्य बराबरको २१ हजार ९१६ मेट्रिकटन धान आयात भएको सो कार्यालयका प्रमुख देवशरण साहले जानकारी दिऐ ।
यसैगरी यो नाकाबाट रु नौ करोड ५१ लाख १५ हजार मूल्य बराबरको तीन हजार ९६३ मेट्रिकटन कोदो आयात भएको छ भने रु ९० लाख २९ हजार मूल्य बराबरको २६६ मेट्रिकटन जौ आयात भएको हो ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७४