आज असार १५ राष्ट्रिय धान दिवस, देखिएन किसानका पक्षमा

काठमाडौं, असार । ऋतुहरुको महिनालाई सिमाङकन गर्दा ग्रिष्म ऋतुमै छौँ हामी त्यही ऋतु भित्रका विशेष दिन आन अर्थात असार १५ धान दिवस । धान दिवसले विशेष अर्थ पनि राख्ने गरेको छ । कारण नेपालको प्रमुख खाद्यान्न बाली हो धान । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा मुलुकलाई आत्मानिर्भर बनाउने लक्ष्य सहित विभिन्न योजनाहरु विगतका वर्षहरुदेखि नै ल्याएको छ । तर त्यसले कति काम ग¥यो वा गरेन फरक कुरा हो । यद्यपी विगत १६ वर्षदेखि आजको दिन असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आईरहेको छ । तर यो वर्षको धान दिवस पनि किसानका पक्षमा देखिएन । धान रोप्ने चटारोमा रहेका किसानहरु मल अभावले छट्पट्दिै खेतका गरामा पुग्न वाध्य भएका छन् ।
जे होस् ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनिकरण ’ मूल नाराका साथ सरकारी तवरबाट आज सोह्रौ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७६ मूल समारोह समितिले बर्दियाको राजापुरमा मनाउन लागेको । जसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बर्दिया पुगेका छन् । भने प्रदेशस्तरबाट पनि बेग्लाबेग्लै रुपमा धान दिवस मनाउन लागिरहेका छन् ।
असार १५ र यथार्थ
असार महिना यो विशेषत किसानहरुकालाई विशेष महत्व राख्ने महिना, किसानको महिना । अझै किसानहरुले त आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिन्छन् । बोलिचालीको भाषामा सामान्य किसानले असार महिनालाई नै वर्षा काल मान्छन् । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा बर्षा ऋतुको प्रवेश हुन्छ । तर मनसुनले यो वर्ष सहज अवस्था ल्याउने देखिएको छैन ।
‘मानो रोपेर मुरी उब्जाउने’ महिना असार किसानको परिश्रमको थलो खेत । अहिले गाउँ घर डाँडा पाखा सबैतिर रोपाईकै चटारो छ । हातमा धानको विउँ । खेतका गराहरुमा घुँडासम्म डुब्ने हिलो । त्यसैमा माटोले लतिपति भएका रोपार, हातमा कोदालो, काँधमा हलो अनी एक जोर गोरुको पछिपछि लम्कीदै गरेको किसान । खेतमा हह माले हह काले गर्दै १ जोर गोरु कुदाई रहेको अर्को थान किसान । यस्तै यस्तै दृश्यले ढपक्क ढाकिएका छन् बेसी अनि फाँटहरु । सायद यही समयको मनमोहक दृश्यहरुलाई मनदेखि बहकाउदै, किसानका हरेक परिश्रमको धरातललाई सुन्दर शब्दमा समेट्नु भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले किसानको रहर कविता,‘ सानो छ खेत, सानो छ बारी, सानै छ जवान, नगरी काम, पुग्दैन खान, साँझ र विहान’ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यिनै शब्दहरुले पनि किसानको स्वच्छ छविलाई प्रष्ट्याएको छ । आफु नखाएर अरुलाई खुवाउने गुण बोकेको किसान दिनभर लखतरान भएर पसिना चुहाई रहन्छ खेतमा । उ परिश्रम गर्छ खेतमै, रमाउ छ खेतमै, दुख विर्साउछ खेतमै । उसको कर्म, मर्म र धर्म नै खेत बनिदिन्छ ।
कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।
धान खेती नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३ हजार ५० मिटरको उचाइँसम्म हँदै आएको छ । नेपालको मनाङ्ग र मुस्ताङ्ग बाहेकका सवै जिल्लामा धान खेती हुँदै आएको कृषि विभागले जनाएको छ । विभागका अनुसार नेपालमा मौसमको आधारमा चैते धान, बर्षे धान, भदैया धान, घैया धान, र बोरो धान(हिउँदे) को रुपमा धान खेती हुँदै आएको छ ।
तर धानको उत्पादन घट्दै गएको सरकारी तथ्यांक छ । सिमित व्यक्तिका हातमा धेरै जमिन हुनु, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत हुनु, आकासे खेतीमा निर्भर पद्धति, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा प्रभाव परिरहेको छ । त्यसमा पनि खेती योग्य जमिन बाँझै छोडी युवा विदेशिनुले पनि यसमा ठुलो भुमिका खेलेको छ ।
किसानलाई प्रयोग गरी परिवर्तनका ठुला ठुला विगुल फुकियो विगतमा अनि क्रान्तिका धेरै अभ्यास भए यहाँ तर जे जे हुन् सबै हाम्रो अनि देशको भविष्यका नाममा भएका थिए । जहाँ जसरी जे भएतापनि आखिर हाम्रो जिवन बनाउने अनि देश बनाउने हामीले हो । वास्तवमै मार्गले जिवन अनि देशलाई होईन देश र जिवनले नयाँ मार्ग बनाउनु पर्छ । तर किसानहरुले मलको अभावका कारण तड्पिरहनु परेको छ । गुणस्तरीय बीउ अभावका कारण भौतारिनु परेको छ । अनि आफ्नो बाँझो खेतमा उब्जनी गर्छु भन्दा पनि सिँचाइँ अभावका कारण बाँझो खेतमा टोलाएर बस्नु पर्ने किसानहरुका वाध्यता छ ।
त्यही वाध्यतमा रहेका किसानहरुलाई सरकारी मन्त्रीहरु खेत बाँझो राखेमा यति र उती जरिवान तिराउँने धम्की दिईरहेका छन् । तर तिनै मन्त्रीहरुले किसानका लागि मल, बीउ र सिँचाई सुविधा दिन सकिरहेका छैनन । तर पनि हामी धान दिवस मनाउँदै छौ, हरेक वर्ष यस्ता दिवस मनाउँदै जाऊ । उत्पादकत्व बृद्धि भनेको यस्तै हो बार्षिक २५ अर्व भन्दा बढी चामल विदेशबाट आयात गरौं यसमै गर्व गरौं ।