अस्वस्थ खसीबोका रोक्न पशु क्वारेन्टिनमा कडाई चार महिनादेखि आयात वन्द

काठमाडौं, श्रावण । विदेशबाट आयात हुने खसीबोकाको अनिवार्य स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्नुपर्ने भएपछि चार महिनादेखि भारतबाट तिनको आयात रोकिएको छ। व्यापारीले क्वारेन्टिनमा स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्न नसकेपछि चैतबाट खसीबोका आयात बन्द भएको हो।
पशु सेवा विभाग अन्तर्गतको क्वारेन्टिन एकाइका वरिष्ठ पशु चिकित्सक डा। मोदनाथ गौतमका अनुसार चैतदेखि क्वारेन्टिन प्रमाणपत्र जारी भएको छैन।
‘मासुमा प्रयोग हुने रोगी पशु आयात नहून् भनेर स्वास्थ्य प्रमाणपत्र माग गरेका हौं,’ गौतमले भने, ‘स्वास्थ्य प्रमाणपत्र पेस गर्न नसकेपछि चैतको पहिलो साताबाट खसीबोका आयात भएको छैन।’
पशु क्वारेन्टिनले कडाइ गरेपछि भारतबाट नेपालमा खसीबोका आयात शून्य छ। पशुसेवा विभागले विदेशबाट आयातित पशु स्वस्थ रहेको प्रमाणपत्र पेस नगरेसम्म आयात अनुमति नदिन गत फागुनमा सीमा क्षेत्रका क्वारेन्टिनलाई निर्देशन दिएको थियो। क्वारेन्टिन ऐन कार्यान्वयनमा ल्याएपछि आयातकर्ताले सम्बन्धित मुलुकबाट आयात हुने पशु स्वस्थ भएको प्रमाण पेस गर्नुपर्छ।
स्वदेशी उत्पादनले पनि बजारको माग धान्ने देखियो स् पशु चिकित्सक मोदनाथ गौतम
भारतबाट मासिक करिब ३० हजार खसीबोका आयात हुन्थ्यो। भारतबाट खसीबोका आयात रोकिएपछि यहाँ बजारमा खसी मासुको मूल्य भने बढेको छ। मासु किलोमै दुई सय रुपैयाँसम्म महँगिएको सम्बद्ध व्यवसायीले बताएका छन्। प्रतिकिलो हजारदेखि एक हजार ५० रुपैयाँमा बिक्री भइरहेको खसीको मासुलाई अहिले ११ सय ५० देखि १२ सय रुपैयाँ पर्छ। क्वारेन्टिनमा कडाइ गरेपछि सीमावर्ती क्षेत्रका व्यवसायीले भने चोरी पैठारी गरी ल्याएको बताइन्छ। विभिन्न नाकाबाट चोरी पैठारी भएर खसीबोका, राँगा आयात भइरहेको संघका पूर्वअध्यक्ष दीपक थापाले बताए। ‘नेपालमा आवश्यकता अनुसार उत्पादन हुँदैन,’ थापाले भने, ‘चोरी पैठारी गरी ल्याइएका खसीबोकामा कालोबजारी भइरहेको छ।’
नेपालमा वार्षिक ४० लाख हाराहारी खसीबोका खपत हुन्छ। भारतबाट वार्षिक चार लाख गोटामात्र आयात हुने गरेको विभागका पशुचिकित्सक गौतम बताउँछन्। ‘अहिलेको अवस्था हेर्दा करिब चार लाख अपुग देखिन्छ,’ गौतमले भने, ‘थोरै उत्पादन बढाउने हो भने विदेशबाट आयात गर्नु पर्दैन।’ काठमाडौं र पोखरामा विदेशबाट आयात भएको खसीबोका प्रयोग गरे पनि अन्य बजारमा स्वदेशी उत्पादनले माग धानेको गौतमले बताए। ‘थोरै उत्पादन वृद्धि गरे मूल्य पनि नियन्त्रण हुन्छ,’ उनले भने।
नेपालका अन्य नाकाको तुलनामा नेपालगन्जको रुपैडिहा, कपिलवस्तुको कृष्णनगर, भैरहवा–सुनौली नाकाबाट धेरै खसीबोका आयात हुन्थ्यो।
वैधानिक बाटोबाट आउन रोकिए पनि अवैधानिक बाटोबाट केही खसीबोका आयात भइरहेको व्यवसायी बताउँछन्। संघका अध्यक्ष भानुभक्त पराजुलीले राजधानीमा खपत हुने खसीबोका करिब ७५ प्रतिशत भारतबाट आयात हुने गरेको बताए। ‘उपत्यकामा खपत हुनेमा ठूलो हिस्सा भारतको छ,’ उनले भने, ‘आयात रोकिएपछि सरकारले स्वदेशमा उत्पादन बढाउनु पर्छ।’ स्वस्थ्य प्रमाणपत्र लिन दिल्ली र कोलकाता जानुपर्ने भएकाले सहज रुपमा ल्याउन नसकेको पराजुलीले बताए। ‘स्वस्थ्य प्रमाणपत्र लिन टाढा जानुपर्ने भएकाले आयात गर्न नसकिएको हो,’ पराजुलीले भने, ‘सरकारले तयारी नगरी नयाँ व्यवस्था लागू ग(यो।’ स्वदेशमा उत्पादन बढाउन नसक्ने र भारतबाट आयात नहुने हो भने उपभोक्ताले महँगो तिनुपर्ने उनको भनाइ छ।
विदेशबाट रोगी, मरेका खसीबोका समेत आयात हुने गरेकाले कडाइ गरेको पशु स्वारेन्टिन काठमाडौंकी पशुचिकित्सक शिखा अधिकारीले बताइन्। ‘अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै स्वस्थ्य प्रमाणपत्र खोजिएको हो,’ उनले भनिन्, ‘उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर यो व्यवस्था गरिएको छ।’
स्वदेशी उत्पादनले नथेगेर विदेशबाट वार्षिक करिब आठ अर्ब रुपैयाँको खसीबोका आयात भइरहेको छ। विगत वर्षको तुलनामा यो वर्ष करिब साढे ७७ करोड रुपैयाँको पशुजन्य वस्तुको उत्पादन बढेको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार दूध, अण्डा, माछा, मासुको उत्पादन बढेपछि यो वर्ष ७७ करोड ७४ लाख ६५ हजार रुपैयाँ मूल्यका पशुवस्तुको आयात प्रतिस्थापन भएको मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए। मन्त्रालयका अनुसार मासु उत्पादन १८।४४ प्रतिशतले बढेर तीन लाख ५३ हजार टन, अण्डा ६।०८ प्रतिशतले बढेर एक करोड ३९ लाख ७५ हजार गोटा र माछा ७।४१ प्रतिशतले वृद्धि भई ८५ हजार मेट्रिक पुगेको छ।
अण्डा र कुखुराको मासुमा मुलुक आत्मनिर्भर छ। हरेक व्यक्तिलाई वार्षिक ४८ अण्डा आवश्यक पर्नेमा अहिले प्रतिवर्ष प्रतिव्यक्ति ५०।७ गोटाका दरले उत्पादन भएको छ। सरकारी तथ्यांक अनुसार कुखुराको मासु २० अर्ब ५२ करोड ८८ लाख रुपैयाँको उत्पादन हुन्छ।