अलैँची खेतीबाट वार्षिक तीन लाख आम्दानी

May 25 • कृषि उद्यम

तेह्रथुम, जेठ । अलैँची खेती गरेर विहान बेलुका छाक टार्न सकिन्छ भन्ने विश्वास थिएन तेह्रथुुमको फेदाम गाँउपालिका–२ ओयाक्जुङका ६३ वर्षीय डिडल्लीराम ढकालललाई । विसं २०३५ तिर अलैँची खेती गर्ने चलन शुरु हुदै गर्दा गाउँका अन्यले अलैँची खेती थालेपछि लहलहैमा खेती शुरु गरेका ढकालले अहिले बिहानदेखि साँझसम्मको समय अलैँची बगानमा स्याहार गरेर बिताउछन् ।

यतिखेर ढकालको आम्दानीको स्रोतनै अलैँची खेती बनेको छ । अलैँची खेतीबाटै अब आफ्नो परिवारको जीवन चल्छ भन्ने ढकालको बुझाइ रहेको छ । अलैँची खेती गर्दै करीब चार दशक बिताएका उनले अहिले आफूसँग भएको सबै ५० रोपनी जमिनमा अलैँची खेती लगाएका छन् । “अलैँचीबाटै कमाइ गरेँ र सम्भावना पनि देखेँ”, उनै भन्छन् “सबै जमिनमा अलैँची खेती लगाएको छुँ ।” उनले आफूसँग भएका बारीमा समेत अलैँची खेती लगाएका छन् । विसं २०४० सालतिर अलैँची प्रतिमन रु ३०० देखि रु ४०० मा कारोवार हुन्थ्यो । अन्य बालीभन्दा कम जनशक्ति लाग्ने, थोरै चिस्यान जमिन भए राम्रो उत्पादन हुने, धेरै मेहनत गर्नु नपर्नेलगायत कारणले त्यसबेलादेखि क्रमशः अलैँची खेतीमा आकर्षित भएका ढकालले पहिलोपल्ट १० मन अलैँची फलाउँदा प्रतिमन रु २८ हजारका दरले मूल्य पाएका थिए ।

पाँच वर्षयता आफूले अलैँची मात्रैको व्यावसायिक खेती गरेर आम्दानी लिने बाटोमा लागेको ढकाल बताउछन् । “यही खेतीबाट जीवनमा थोरै आर्थिक प्रगति मिल्यो,” उनले भने, “त्यसैले सजिलो र राम्रो सम्भावनासमेत भएको बाटोका रुपमा अलैँचीलाई रोजेको हुँ ।”केही वर्षयता अलैँचीमा देखिएका विभिन्न प्रकारका रोगको संक्रमणले हैरान बनाएको ढकाल बताउछन् । ढकाल अलैँचीका समस्या समाधान गर्दै खेतीमा कुनै निराशा नराखी निरन्तर लागिरहेका छन् । बगानको स्याहार सुस्याहारका लागि उनी आफैँ खट्छन् । ढकालका छोरा र बुहारी पनि अलैँची बगानकै स्याहारमा खटिन्छन् । थप स्याहारका लागि एकजना अस्थायी कामदार राखेका छन् ।

“यसवर्ष अलैँचीबाट रु तीन लाख आम्दानी गरेँ,” ढकालले भने । अलैँची खेतीका कारण परिवार चलाउन कुनै सकस नभएको उनको भनाइ छ । अन्नबाली लगाउने जमिनमा अलैँची खेती लगाएका ढकाल भन्छन्, “पहिले धान फलाउने प्रतिष्पर्धा हुन्थ्यो, अहिले अलैँची कसले धेरै फलाउने भन्ने प्रतिष्पर्धा छ ।” सिंगो गाउँ अलैँची खेतीमा लागेको छ । अलैँचीको खेती प्रविधिबारे रेडियोबाटै थाहा पाएको ढकालले बताए । अलैँची खेतीका समस्या र सम्भावनाबारे थाहा पाएपछि आफूलाई अझै व्यावसायिक रुपमा काम गर्न थप प्रेरणा मिलेको उनी बताउछन् । अलैँची गुणस्तरीय नहुँदा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नसकिएको भन्दै उनले अलैँचीको गुणस्तर कायम राख्न आफू र गाउँका धेरै किसान सक्षम भएको बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »

सूचना विभाग दर्ता नं : २६९/०७३–७४
प्रकाशक : हब ब्रोडकास्टिङ्ग प्रालि, अनामनगर काठमाडौं
सञ्चालक : हिमा पौडेल
सम्पादक : वैकुण्ठ भण्डारी
सर्वाधिकार : हब ब्रोडकास्टिङ्ग प्राालि