शनिबार, बैशाख ८, २०८१

अनुदान रकममा भ्रष्टाचार भएको किसानको आरोप

इटहरी, साउन । मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम व्यापक अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् ।
व्यावसायिक च्याउखेती गर्दै आएका किसानले पत्रकार सम्मेलन गरी परियोजनाअन्तर्गत किसानको हितमा आएको रकम गाउँपालिकाले दुरुपयोग गरी किसानप्रति उपेक्षित नीति लिएको आरोप लगाए । किसानको हितका लागि निकासा भएर आएको पैसा खास किसानलाई उपलब्ध नगराइएको र विषयान्तर गरेर रकम दुरुपयोग गरिएको तथ्यसमेत फेला परेको भनी गाउँपालिकाविरुद्ध इटहरीस्थिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लिखित उजुरीसमेत दिने तयारी भइरहेको किसान नेपाल च्याउ उद्योगका सञ्चालक सरोज नेपालले बताए । च्याउखेती किसानका लागि अनुदानका रुपमा आएको रु १६ लाख २० हजारमध्ये केही रकम च्याउखेती किसानलाई झारा टार्ने हिसाबले उपलब्ध गराएर अधिक रकम अन्यत्र लगाइएको पाइएको अर्का किसान इन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।
गाउँपालिकाअन्तर्गत रहेका ४० देखि ५० जना व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले दैनिक रु ६० हजारको च्याउ उत्पादन गरेको र दैनिक रु ४० हजारसम्मका च्याउको बीउसमेत बिक्री गर्दै आएका छन् । व्यावसायिक च्याउ किसानले सार्वजनिक गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका विषयमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीसँग बारम्बार मोबाइलमा सम्पर्क गर्दा हुन सकेन ।

प्रकाशित मिति: आइतवार, साउन ६, २०७५