बुधबार, बैशाख १२, २०८१

अदुवामा गानो कुहिने रोगले किसान चिन्तित

गाईघाट, भाद्र । । नगदेबाली अन्तर्गत किसानले लगाएको अदुवामा गानो कुहिने रोग देखा परेपछि उदयपुरका अदुवा खेती गर्ने किसान चिन्तित भएका छन् । जिल्लाकोे पश्चिम भेगमा पर्ने कटारी नगरपालिका र ताप्ली गाउँपालिका क्षेत्रमा लगाएको अदुवामा गानो कुहिने रोग देखा परेपछि किसानहरू चिन्तित बनेका हुन् ।
अदुवाको गानो बढ्ने समयमा कुहिने रोग देखा परेकोले उनीहरू चिन्तित बनेको कटारी नगरपालिका– ११ का वडा सचिव कुशल राउतले बताए । ‘उदयपुरको सबैभन्दा बढी अदुवा उत्पादन हुने क्षेत्र भनेको कटारी नगरपालिका– ११ हो,’ वडा सचिव राउतले भने ‘अहिले अदुवाको गानै कुहिने रोगले गाउँभरिका अदुवा किसान चिन्तित बनेका छन् ।
बोट हरियो हुँदै गानो कुहिएपछि विस्तारै पहेंलो भएर अदुवा मर्ने गरेको छ । खन्ने बेला भएको अदुवा कुहिएपछि उनीहरू चिन्तित छन् । साउनको अन्तिम साताबाटै गाना कुहिने रोग देखा प¥यो,’ कटारी नगरपालिका– ११ मा व्यावसायिक अदुवाखेती गर्ने किसान होमबहादुर राउतले भने, अदुवाखेती बारीमा नै सकिन लाग्यो, कृषि प्राविधिक बोलाएको छु, देखाउनको लागि । राउतले आफ्नो मात्रै होइन छरछिमेकीको पनि अदुवा कुहिएर बारीमा नै सकिन लागेको बताए ।
उदयपुरको अदुवाखेती हुने सबै नगरपालिका र गाउँपालिका किसानहरू गाना कुहिने रोग देखा परेको बताउँछन् । कटारी नगरपालिकामा पर्ने हर्देनी, मयाखु, लेखानी, सिरिसे, सोरुङलगायत साविकका ४ गाउँविकास समितिमा अदुवाखेती हुने गरेको छ । जसमा सबैभन्दा बढी व्यावसायिक रूपमा हर्देनी मयाखुमा अदुवाखेती हुने गरेको छ ।
यता कटारी नगरपालिकाका कृषि शाखा प्रमुख सतन यादवले हर्देनी, मयाखु, लेखानी, सिरिसे, सोरुङ छबिसेलगायतको ठाउँका किसानले लगाएको अदुवामा गानो कुहिने रोग लागेको भनेर सूचना प्राप्त भएपछि अनुगमनको लागि टोली पठाएको र तत्कालै गानो कुहिने रोगको उपचार हुन नसके पनि रोग नलागेको बिरूवाको रोकथाम गर्न सकिने बताए । यादवले भने, अदुवा रोप्नु अगाडि नै माटो परीक्षण गरेर लगाएको भए यस्तो समस्या आउँदैन थियो तर अहिले उखेल्ने बेलामा कुनै गानो कुहिने रोगको खासै उपचार छैन ।
रोग नलागेको भए वर्षभरको घरायसी खर्च टर्ने आम्दानी गर्ने किसानहरू निरास बनेका छन् । रोेगको प्रकोप देखिएपछि उत्पादन भएको अदुवाले पनि राम्रो भाउ पाउँदैन । ‘रोगको उपचार नभए अदुवाखेती नै मासिएर जाने अवस्थामा पुगेको छ । कटारी नगरपालिका– ११ वडा अध्यक्ष दीपक बुढाथोकीले अदुवाको गाना कुहिने रोग नियन्त्रय गर्न वडा कार्यालय लागि परेको बताए । ‘अदुवामा गाना कुहिने रोग कुनै नौलो भने होइन,’ वडा अध्यक्ष बुढाथोकीले भने ‘कृषि प्राविधिक लिएर जाँच गराउने तयारीमा छु ।
उदयपुरमा एक सय २३ हेक्टर जमिनमा १८ सय मेट्रिकटनभन्दा बढी अदुवा उत्पादन हुँदै आएको कृषि विकास कार्यालय उदयपुरको दाबी छ । कृषि विकास कार्यालय उदयपुरका बाली विकास अधिकृत रामसेवक ठाकुरले किसानले अदुवाको गाना कुहिने रोग देखा परेको सूचना दिएलगत्तै कार्यालयबाट प्राविधिक पठाउने तयारी गरिएको बताए । ।

प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४