शुक्रबार, बैशाख ७, २०८१

सुन्तला उत्पादनमा कमी

स्याङ्जा, २७ पुस । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा ३४ प्रतिशतले कमी आएको छ । गत वर्ष ३३ करोड रुपियाँ बराबरको सुन्तला उत्पादन भएको स्याङ्जामा यस वर्ष २२ करोड रुपियाँ बराबरको मात्र सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले जानाकारी दिए।
एक हजार ८४२ हेक्टर जमिनमा सुन्तला लगाइएकोमा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले जानकारी दिए ।
यहाँ गत वर्ष २० हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
सुन्तलामा फूल फुलेर चिचिला लाग्ने समयमा असिना पर्दा सुन्तला उत्पादनमा कमी भएको वरिष्ठ कृषि विकास अधिकृत दवाडीले बताए ।
कात्तिकबाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकिलो एक सय रुपियाँसम्ममा बिक्री भएको जिल्ला सुन्तला व्यवसायी सङ्घका अध्यक्ष फणिनारायण अर्यालले बताए । उनले यहाँ सुन्तला उत्पादनमा कमी आउँदा धैरै मूल्य भएको बताए ।
यहाँ उत्पादित सुन्तलाको आधा आन्तरिक खपत र आधा बुटवल, पोखरा, नारायणगढ, काठमाडौँमा व्यापार गरिएको हो ।
एघार हजार ४५६ घरधुरी कृषक सुन्तला उत्पादनमा सक्रिय रहे पनि यस वर्ष असिनाका कारण धेरै कृषक मर्कामा परेको अर्यालले बताए । यहाँ दुई हजार नौ सय साना ठूला सुन्तलाका बगैँचा रहेका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस २७, २०७४