शुक्रबार, चैत्र १६, २०८०

सहकारी सञ्चालनमा पारदर्शिता र सूचनाको हक

– दिलिप शर्मा 0

हामी बिभिन्न संघ÷संस्थामा आवद्ध छौं । कहिँ न कहिँ तलवी कर्मचारी वा समाजसेवाका हिसावले संलग्न वा आवद्ध भएका हामीले आफु संलग्न भएका निकायमा काम गर्ने तौर तरीका र शैली पनि फरक फरक हुन्छन किनभने हामीले हिजोका दिनमा जे सिक्यौं हामीले गर्दै जाने व्यवहार पनि त्यै नै हो । प्रविधिका बढ्दो विकास र पहुँचका कारण हामीलाई नियाली रहने धेरै पक्षहरुसँगको सामना हामीले गर्नैपर्छ । एक्काइसौं शताब्दिमा हामीले गर्ने कार्यशैली तथा व्यवहारहरु कसै न कसैले नियाली रहेका हुन्छन् । झन आजकल त बिभिन्न खालका सामाजिक संजालसँग पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी जोडिएका हुन्छौं ।
सहकारीका क्षेत्रमा कार्य गर्दै जाँदा हामीले जिम्मेवारी लिएका सहकारी संस्थाहरुमा कार्य सम्पादन कति पारदर्शी छन् ? भन्ने बिषय महत्वपूर्ण छ । सहकारीकर्मीहरुका बीचमा छलफल तथा बहस चलाई धेरै थोरै हामी सबैले पारदर्शिता सम्वन्धि अनिबार्य जान्नुपर्ने भइसकेको छ । सहकारी संस्थासँग आवद्धता भएका शेयर सदस्यहरुले संस्थामा कार्य सम्पादन भएका र हुदै गरेका बिषयहरुमा जानकारी पाउने कसरी ? के के बिषयमा जानकारी गराउने ? भन्ने बिषय पनि आम शेयर सदस्यहरुको चासोको बिषय बन्दै गएको छ भने यो बिषय पनि निकै पेचिलो समेत बन्दै गएको छ । सहकारी संस्थामा भएका बिभिन्न समिति तथा उप समितिमा भएका निर्णय प्रकृया के ? कसरी ? र कुन ? बिषयहरु उठान गरिएका छन् वा उक्त बिषय सबै शेयर सदस्यहरुको हितमा छन् वा छैनन ? भन्ने बिषय सबैको चासो बनेको हुन्छ । सबै भन्दा महत्वको बिषय भनेको सहकारी संस्थामा आर्थिक कारोवारसँगको बिषय प्रत्यक्ष संलग्न हुने भएकोले उक्त क्षेत्रमा के कति र कसरी कार्यहरु भइरहेका छन भन्ने बिषय पनि त्यत्तिकै महत्वका साथ हेरिएका हुन्छन् । नेतृत्व तहले संस्था सञ्चालनका सन्दर्भमा गरेका वा भएका निर्णय तथा कार्यशैली प्रति कति मात्रामा जवाफदेहि छन् भन्ने बिषय पनि यसैसँग जोडिन आउँछन् । त्यसैले सहकारी संस्थामा पारदर्शिताका बिषयमा बहस चलाउनु पर्ने अवस्था सिर्जना भएको छ । बिषेश गरी सहकारी संस्थामा कुन कुन बिषयमा पारदर्शिता कायम गर्नु उपर्यूक्त हुन्छ भन्ने बारेमा समिक्षा गर्न अपरिहार्य हुन्छ ।
निर्णय प्रकृयामा पारदर्शिता
विकसित राष्ट्रहरुमा कुनैपनि संघ÷संस्थाहरुमा कुनैपनि निर्णयहरु भएको सन्दर्भमा उक्त निर्णयहरुलाई संस्थाका आधिकारिक वेभसाईट वा सूचना पार्टीमा तुरुन्तै सार्वजनिक गर्ने परिपाटि धेरै पहिला देखि नै सुरु भएका पाईन्छन् । यस्ता क्रियाकलापहरु नेपालमै पनि केहि संस्थाहरुमा सुरुवात समेत भइसकेको छ । पारदर्शिता भनेको संस्थामा भएका निर्णयहरुलाई नेतृत्वकर्ताहरुले आवद्ध सरोकारवाला तथा संस्था हितका लागि बिभिन्न समय सन्दर्भमा भएका लिखित दस्तावेजहरुलाई जस्ताको तस्तै सार्वजनिक गर्दै शेयर सदस्यहरुको हितमा जानकारी गराउनु भन्ने नै हो जसका कारण सम्बद्ध निकाय तथा सरोकारवालाहरु संस्थाका हरेक क्रियाकलापहरुका बारेमा तुरुन्तै सचेत तथा सजग हुने मौका पाउँदछन् । हुन त धेरैजसो सहकारी संस्थामा संस्थाको सञ्चालक तथा बिभिन्न उप समितिहरुको बैठकमा निर्णय गर्दा ब्यक्ति हावी भई नाता गोता तथा बिभिन्न खालका सम्वन्धहरुको पक्षमा निर्णय हुने गरेका भेटिन्छन । यस्ता निर्णयले सबै शेयर सदस्यहरुको हितलाई फाइदा भने पक्कै पुग्दैन र अपारदर्शिता कायम भई सम्पूर्ण शेयर सदस्यहरुलाई नजिक र टाढा पुर्याउने गर्दछ र संस्था धरासयि हुने गर्दछन् । बैठक चलिरहेको अवस्थामा संस्थामा संलग्न वा उपस्थित अन्य पदाधिकारी वा सदस्यहरुलाई बोल्न रोक लगाई मनमा उब्जेका संस्थाका सवालहरुलाई छलफलमा सहभागिता नै गर्न नदिई एकल निर्णय गरिएको पाईन्छ । यस्तो भएमा संस्था प्रति विस्वास गुम्न गई एकतामा ह्रास आउन सक्छ र ब्यक्तिगत रुपमा हावी भएको संस्थाको रुपमा परिचित हुन जान्छ । सबैले बोल्न पाउने अधिकारबाट बन्चित गर्दै नेतृत्व हावी भएको सहकारी संस्था वास्तवमै लोतान्त्रिक हुन सक्दैन । त्यसैले सहकारी संस्थामा जे जति निर्णयहरु भएका हुन्छन् त्यी सबै निर्णयहरुलाई जे जस्तो अवस्थामा निर्णय भएका छन् सबैलाई कम्तिमा पनि सहकारी संस्थाका सूचना पाटीमा मात्र भएपनि टाँस गरी पारदर्शिता कायम गर्ने परिपाटिको विकास गर्नुपर्दछ । यसो गरेमा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण उप समिति तथा बिभिन्न उप समितिहरु र शेयर सदस्यहरु बीच नङ र मासु जस्तै सम्वन्ध विकास भई दीगो रुपमा संस्था सञ्चालन हुने कुरामा दुईमत छैन ।
आर्थिक पारदर्शिता कसरी कायम गर्ने ?
सहकारी संस्थामा सबैको चासो भरोसाको पक्ष भनेको नै आर्थिक पक्ष हो । किनभने सहकारीमा प्रत्येक दिन बचत, ऋण लगानी तथा असूली जस्ता क्रियाकलापहरु भइरहेका हुन्छन् । यस्ता क्रियाकलापहरुमा सबैको चासो समेत बढेको हुन्छ । संस्थामा आवद्ध कर्मचारी, शेयर सदस्य, सञ्चालक समिति तथा सरोकारवाला निकायहरुसँग भए गरेका आर्थिक परिचालन के कसरी भईरहेका छन् भन्ने बिषय महत्वका साथ हेरिने कारण पनि यसलाई बढी महत्व दिईएको हो । संस्थामा स्थापित नीति, विधि, ऐन, कानून तथा कार्यविधि अनुसार निर्णय तहमा रहेका निकायहरुले कुन विधि तथा प्रकृया अपनाएर कार्य गर्दै छन भन्ने बिषयमा सबैको चासो रहेको हुन्छ । यस्तै खालका बढी महत्व हुने कारण नेतृत्वकर्ताहरु निकै सचेत हुनुको विकल्प छैन । सहकारी संस्थाले बर्षमा एक पटक बार्षिक साधारण सभामा शेयर सदस्यहरुलाई उपस्थित गराएर लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएका बिषयहरुलाई सार्वजनिककिरण गरिरहँदा त्यहाँ उपस्थित शेयर सदस्यहरु मध्ये कति जनाले उक्त प्राविधिक बिषय बुझ्न र जानकारी हासिल गर्न सक्दछन भन्ने बिषय आफैमा जटिल कुरा हो । त्यसैले आफ्ना सहकारीका क्रियाकलापहरुका बिषयामा बिभिन्न समयमा क्षेत्रगत रुपमा रहेका शेयर सदस्यहरुलाई आर्थिक कारोवारको जानकारी गराउने र संस्थाको पारदर्शिता कायम गर्दै स्वयं जिम्मेवारी र जवाफदेहि रहने भूमिका नेतृत्वकर्ताहरुको हुन आउँदछ ।
शेयर सदस्यहरुले आफुले जम्मा गरेको पैसा वा आर्थिक कारोवारहरुको अवस्थाका बारेमा छर्लंग रुपमा जस्ताको तस्तै जानकारी चाहन्छन । संस्थामा कसरी कारोवार हुदैछ र जम्मा गरेको पैसाको नाफा तथा घाटा के कसरी भयो भन्ने कुरा बेला बेलामा जानकारी पाउनु उनीहरुको अधिकार पनि हो । त्यसैले जसले सहकारी संस्थाको नेतृत्व गरिरहेको हुन्छ उसले सबै कारोवारहरुका बारेमा जानकारी गराउनु दायित्व पनि हो । शेयर सदस्य मात्र नभै सहकारी संस्था सामाजिक रुपमा स्थापित संस्था भएकाले सामाजिक चासो पनि त्यत्तिकै हुन्छ । समाजमा रहेका जो कसैले पनि संस्थाका कारेवारका बिषयमा सूचनाको अधिकारको प्रयोग गर्दै सहकारी संस्थाको अवस्थाको बारेमा अभिलेख माग गरेको खण्डमा उपलब्ध गराउनुपर्ने हुँदा संस्थामा भएका सबै प्रकारका क्रियाकलापहरुलाई खोज्दा सजिलै भेटिने गरी सुरक्षित स्थानमा राखि सुरक्षित गर्न सक्नुपर्दछ । त्यसैले सहकारी संस्थाहरुले पछि आउन सक्ने समस्याहरुलाई ध्यानमा राखि पारदर्शिता कायम गर्नका लागि निर्णय प्रकृया, छलफल तथा आर्थिक कारोवार जस्ता बिषयमा कम्तिमा आफ्ना शेयर सदस्यहरुले पाउने सूचनाका अधिकारका बिषयमा समेत ख्याल गर्दै पारदर्शिता कायम गर्ने बाटो तिर लाग्दा सिंगो सहकारी आन्दोलनको मर्म र अभियान सफल हुन जान्छ ।  (शर्मा जिल्ला सहकारी संघ काभ्रेका सचिव हुन् )

प्रकाशित मिति: शनिबार, चैत्र १०, २०७४